कथा

सपना

शुक्रबार, १४ बैशाख २०७५, १६ : ३४ शोभा ज्ञवाली  | @GyawaliShova

वीरगञ्जबाट काठमाडौं आउनु थियो । त्यो बेला हेटौँडा, भीमफेदी हुँदै बल्खु आउने बाटो अहिलेजस्तो सहज थिएन, न त जानु नै । गाडी ठूलो थियो, ससाना बाधा मेरो गाडीका लागि ठूलो थिएन । त्यसमाथि एडभेन्चर गर्ने रहर पनि पलाएको थियो । त्यसैले काठमाडौँ, बल्खु हुँदै म कच्ची बाटो हेटौँडा जान तम्सिएकी थिएँ । 

एकादुई लोकल बस चल्थे, बसमा भीडभाड हुन्थ्यो र यस्ता गाडीमा आउने यात्रुलाई आरु, बखडा, मकै र अन्य मौसमी तरकारी बेचेर बसेको मैले उसलाई देखेकी थिएँ । यही बाटो वीरगञ्ज जाँदै गर्दा भीमफेदी आइपुग्नुअघि नै घना जंगलको एउटा फराकिलो फाँटमा ऊ आफ्ना सामग्री लिएर बसेकी थिई । उसको हाउभाउ, सक्रियता, बोलीवचनले मलाई आकर्षित गरेको थियो । मैले उसलाई सोधेकी थिएँ, ‘तिमी स्कुल नगएर किन यहाँ सामग्री बेचेकी ?’ उसले भनेकी थिई, ‘मिस, भविष्यमा धनी हुनका लागि बेच्नु परेन ?’

उसको यस किसिमको फटाक् उत्तरले मलाई आकर्षित ग-यो । मैले उसको नाउँ सोधेँ, र सोधेँ ‘कसरी धनी हुन्छ्यौ त ? कति पैसा भयो भने धनी हुन्छ्यौ त ? यति सानो उमेरमा किन तिमीलाई धनी हुनु प-यो ?’

‘यही सामान बेचेर धनी हुन्छु, मिस,’ आफ्नो नाउँ बताउँदै कालीले फराकिलो उज्यालो निधारमा हावाले अस्तव्यस्त पारेको कपाल मिलाउँदै भनेकी थिई, ‘एक हजार जम्मा पारेँ भने म धनी भइहाल्छु नि ! अनि त म त्यो पैसाले साना पाठा र कुखुरा पाल्छु, तिनले तिनका बच्चा बनाउँछन्, ती भेला पार्छु र अझ धनी हुन्छु ।’

‘एक हजारले धनी बन्ने’ उसको सपना सुन्दा मलाई इसपको कथा सम्झना आइरहेको थियो, जसमा एउटी युवतीले यस्तै कुराको कल्पना गर्दागर्दै भएको दूधको ट्यामीसहित पछारिँदा सबै सपना चकनाचुर भएको थियो तापनि म उसको कुरा मग्न भएर सुनिरहेकी थिएँ । सोधेँ, ‘काली, तिमीलाई किन धनी हुनुप-यो ? किन कमाउनु प-यो ? तिम्रो त पढ्ने पो बेला हो त !’

त्यसपछि उसले जे भनी, त्यसले मलाई गम्भीर बनायो । ‘मिस, मेरी आमा घरमा बिरामी हुनुहुन्छ,’ अब उसको अनुहार पनि गम्भीर हुन थाल्यो, ‘उहाँ बिरामी भएर घरैमा बस्नु भएको छ । उहाँलाई काठमाडौँमा उपचार गर्नुपर्छ भनेर हेल्थपोस्टको आन्टीले भन्नुभएको छ तर त्यहाँ लैजाने पैसा छैन । अब यसरी नै धेरै पैसा जम्मा गरेर आमालाई उपचार गराउँछु । बचेको पैसाले गाउँमा हस्पिटल खोल्छु । यहाँका मान्छेले काठमाडौँ गइरहनु नपरोस् । म स्कुल बनाउँछु, पढ्न टाढा–टाढा जानु नपरोस् ।’

मलाई लाग्यो, केटी निकै बाठी छ । ‘कहाँनेर छ घर ?’ मैले सोधेँ । उसले भीमफेदी बाहिरको एउटा कुनोतिर हात ते-स्याई । मैले परैबाट एउटा झुपडी हो कि झैँ देखेँ ।

‘तिमीलाई पढ्न मन छ ? मैले पढाइदिएँ भने मसित जान्छ्यौ त ?’ मनको खुल्दुली तत्कालै व्यक्त गरिहालेँ ।
‘पढ्न पाए त...’ उसले वाक्य पूरा गरिन तर आँखामा एक किसिमको विस्मात देखिन्थ्यो ।

‘तिम्रो बुबा के गर्नुहुन्छ ? आमालाई उपचार गराउनु हुन्न ?’ मैले जिज्ञासापूर्वक सोधेँ ।

‘बुबा रक्सी खाएर सधैँ घर झगडा गर्नुहुन्छ...,’ यसपछि उसको गला अवरुद्ध भयो । सायद मैले पनि उसको कुरा बुझेँ ।
‘उसो भए मसँग हिँड, म तिमीलाई पढ्न सहयोग गर्छु,’ मैले प्रस्ताव राखेँ ।

उसले भनी, ‘भोलि यही ठाउँमा आउनु मिस्, म मेरी आमालाई सोधेर आउँछु ।’

वीरगञ्जबाट फर्केर आउँदा त्यही ठाउँमा काली भेटिएली कि नभेटिएली जस्तो लागेको थियो । मैले यस्ता कैयौँ मानिस देखेकी छु, जोसँग जिजीविषा नै छैन । केहीको छ तर त्यसमा निरन्तर लागिपर्दैनन् । कतै त्यो उत्साह यतै खोल्साखोल्सी र उकालीओराली गर्दागर्दै सकिने त होइन ! तर भोलिपल्ट ऊ आमासहित त्यही ठाउँमा फेला परी । मैले कालीकी आमालाई भनेँ, ‘उसलाई यो ठाउँमा नराख्नुस्, उसलाई पढ्न दिनुस्, उसको सपना पूरा गर्ने बाटो खोल्दिनुस् । मसँगै जान दिनुस् । यही टाठोपन रहिरह्यो भने उसले धेरैथोक गर्न सक्छे ।’

गहभरि आँशु पार्दै उजेलीकी आमाले मलाई जिम्मा लगाएकी थिइन् ।

०००

त्यसपछि काली कसरी एउटी परिपक्व, दृढनिश्चयी र सपना पछ्याउने युवती बनी भन्ने मेरै आँखाले पछ्याइरहेको छ । आज मलाई सपना देख्नु, सपना पछ्याउनु र निरन्तर त्यसैमा लागिपर्नु कति महत्वको कुरा हो भन्ने बुझेकी छु । अथवा भनौँ, मेरै आँखाअगाडि त्यो पूरा भएको देखेकी छु । आज ऊ जहाँ उभिएकी छ, जहाँ आइपुगेकी छ, उसमा सपना थिएन भने यहाँसम्म पक्कै आइपुग्ने थिइन ।

ऊ कति फुच्ची छ तर उसले नै मलाई सिकाइदिई, धीरता, लगनशील, विश्वास, सकारात्मक सोच अनि समयको उचित सदुपयोगले मान्छे आखिर के बन्दोरहेनछ !

०००

मानिस आफू बन्नुमा जति खुसी हुन्छ, त्योभन्दा दोब्बर र अद्भूत खुसी र शान्ति अरुलाई बनाउँदा पाउँछ । मानिसहरु आफ्ना सन्तान हुर्केको, बढेको र केही बनेको देख्दा किन खुसी हुन्छन् ? किनभने उनीहरुले उनीहरुलाई केही बनाउन आफ्नो योगदान भएको देख्छन् । त्यसैले उनीहरुलाई अद्भूत खुसी र असिम शान्ति फेला पार्छन् । मलाई पनि त्यसबेला लाग्यो– म उजेलीको सपना पूरा गर्न सहयोग गर्न सकूँली ? उसलाई स्वतन्त्र रुपमा उड्न र सपना पूरा गर्न म भरपूर सहयोग गर्छु ।

सपना बिनाको जीवन सार्थक हुँदैन । सपना जीवनको लक्ष्य हो । म जे गर्न सक्तिनँ, अरुमार्फत् त्यो गराउँदा मैले मेरो लक्ष्य पूरा गर्न सक्छु । 

उसले पढ्न पाई, मैले एउटा सानो साथी पाएँ । स्कुलमा भर्ती गराउँदा मैले उसको नाउँ कालीबाट अभिलाषा नाम राखिदिएँ । हुन पनि ऊ अभिलाषाहरूको पुञ्ज नै थिई । सक्रिय, चञ्चल र नयाँ–नयाँ इच्छाको बबल (फोका) उठाइरहने वाचाल किशोरी थिई ऊ । नयाँ स्कुल, नयाँ ड्रेसमा ऊ यति रमाई, कैयौँ दिनसम्म उसले घरै उज्यालो पारिदिई । स्कुलमा पनि ऊ पढाई र खेलकुदमा अब्बल भएकीले सबैकी प्यारी बनी । 

मैले एउटा औँलो मात्र समाउन दिएकी थिएँ तर उसले त यसपछि अनेकौँ काम आफैँ गर्न थाली । मैले दिएको खाजा खर्च जोगाउँथी र मैलाई राख्न दिन्थी । साना विद्यार्थी पढाउँथी र पैसा हात पार्नासाथ मैलाई राखिदिनू भन्थी । उसको हातमा जुन दिन एक हजार जम्मा भएको थियो, अति खुसी भएकी थिई । मैले उसलाई जिस्क्याउँदै भनेकी थिएँ, ‘आज तँ संसारका धनीमध्येकी भइस् ।’ खुद्राखाद्रीको त्यो एक हजारले पनि आफ्ना सपना पूरा नहुने थाहा पाएपछि केही दिन ऊ गम्भीर भई र पुनः आफ्नो उत्साह दोब्बर बनाउन थाली । 

०००

अभिलाषाले आफ्नो गाउँमा अस्पताल बनाउने, स्कुल खोल्ने सपना पूरा हुन समय लाग्यो, वर्षौं लाग्यो तर उसले त्यो पूरा गरी । सपनामा शक्ति हुन्छ भन्ने थाहा थियो तर मैले आफैँले अनुभूत पनि गरेँ । हरेक पटक जब ऊ खुसी हुँदै मेरो छेउ आउँछे र भन्छे ‘हामीले गरेरै छाड्यौँ !’ मलाई आश्चर्य लाग्छ । यसमा मेरो योगदान उसको सपनामाथि विश्वास गर्नु मात्रमा थियो, बाँकी काम त उसैले गरेकी हो तर पनि ऊ मलाई छाड्न चाहन्न । ऊ भन्छे, ‘हजूर नभइदिएको भए, मैले कहाँ यत्ति गर्न सक्थेँ र !’ 

मलाई त यत्ति लाग्छ, जुन दिन उसले सपना देखी, त्यही दिन त्यो पूरा भएको थियो । भौतिक रुपमा त अहिले मात्र त्यो भवन बन्यो भयो । जुन दिन उसले मलाई अस्पतालको विस्तृत खाका सुनाएकी थिई, त्यै दिन मैले त्यो अस्पताल बनेको देखेकी थिएँ, भवन त यतिबेला मात्र उभिएको हो । स्कुल त त्यतिबेलै निर्माण भइसकेको थियो, उसको सपना र विश्वासले, भौतिक सामग्री त यतिबेला मात्र थपिएको हो ।

मेरा लागि सबैभन्दा ठूलो सन्तोष नै ऊ जन्मिएको गाउँ, दुःखकष्ट सहेको ठाउँमा अस्पताल र विद्यालय उद्घाटनको प्रमुख व्यक्तिका रुपमा उभिनुमा थियो । त्यो खुसी चिरकालसम्म स्थायी रहन्छ, जुन कुराले अरुको आँखामा हर्ष देखियोस् । कहिलेकाहीँ यी सम्पूर्ण घटनाको नायिका ऊ कि म हुँ भन्ने लाग्छ र तत्काल मनमा उब्जन्छ, ‘म त कर्ता मात्र हुँ, परिणाम त ऊ हो ।’ aakriti72@gmail.com








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad