८ वैशाख २०८१ शनिबार
समाज

विशेषज्ञ सहितको स्वास्थ्य शिविरमा स्थानीयको भीड

डाँडागाउँमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा आएका सर्वसाधारण। तस्बिरः दमन राई/नागरिक

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको निशुल्क बृहत स्वास्थ्य शिविरमा सर्वसाधारणको बाक्लो भीड लागेको छ। गाउँमै विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ ओख्रेमा बिहीबारदेखि सुरु गरिएको तीन दिने स्वास्थ्य शिविरमा सर्वसाधारण र बिरामीको भीड लागेको हो।

शिविरमा गाउँपालिका भित्रका याम्खा, डाँडागाउँ, छोरम्बु, बतासे, स.छितापोखरी, छितापोखरी र टेम्माका सर्वसाधारण बिरामी स्वास्थ्य जाँच एवं उपचारका लागि शिविर स्थलमा आएका छन्। विशेष चिकित्सकबाट स्त्री रोग, बाल रोग, हाडजोर्नी, नशा, नाक, कान, घाँटी, आँखा, दाँत र पेट सम्बन्धी रोगको उपचार व्यवस्था मिलाइएपछि घण्टौं हिँडेर सर्वसाधारण शिविरस्थल आइरहेका छन्। शिविर उद्घाटन भएको बिहानदेखि साँझसम्म सेवाग्राहीले भरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए। स्वास्थ्य शिविरमा कतिपय बिरामी नै ल्याइएका छन् भने अधिकांश स्थानीय स्वास्थ्य जाँचका लागि आएको पाइएको छ।

शिविरका लागि बीर अस्पताल, टिचिङ अस्पताल र कान्ती बाल अस्पतालका १५ जना डाक्टर सहितको टोलीलाई हेलीकप्टरबाट ओख्रेमा ल्याइएको छ। गाउँमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा पाउँदा स्थानीय लाभान्वित भएका छन्। महेन्द्रोद्धय माविको प्रांगणमा आयोजना गरिएको शिविरका लागि कान्ती बाल अस्पतालका डाइरेक्टर गणेश राई, टिचिङ अस्पतालका सर्जन डिपार्टमेन्टका प्रमुख प्रशन्न कंशाकार लगायत डाँडागाउँ आएका छन्।

आर्थिक, भौगोलिक लगायतका अप्ठ्याराका कारण अस्पतालसम्म पुग्न नसकेका सर्वसाधारणलाई लक्ष्यीत गरेर बृहत स्वास्थ्य शिविर आयोजना गरिएको गाउँपालिका प्रमुख राईले बताए। ‘अस्पताल जान मन भएका तर खर्च नहुँदा अस्पताल पुग्न नसकिरहेका जनताको सुविधाका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको हो,’ गाउँपालिका प्रमुख राईले भने, ‘तथ्यांक लिन भ्याएका छैनौं। शिविरमा सेवाग्राहीको भीड घटेको छैन।’

स्वास्थ्य शिविरकै अवसरमा जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका, मालपोत, नापी कार्यालयले पनि सेवा प्रवाह गरिरहेको छ। प्रशासनले नागरिकता, महिला तथा बालबालिकाको कार्यालयले अपांगताको परिचयपत्र, मालपोतले लालपुर्जा वितरण लगायतका सेवा सेवा प्रवाह गरिरहेको छ।

प्रकाशित: १४ वैशाख २०७५ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App