४ वैशाख २०८१ मंगलबार
समाज

साहित्य फक्रिएको दशक

 काठमाडौ – पछिल्लो दशकले नेपाली साहित्यमा एक किसिमको क्रान्ति नै ल्यायो । यस अवधिमा लेखक मात्रै उदाएनन्, तीनका लेख–रचनालाई सहजै बजारसम्म ल्याइदिने निजी प्रकाशन गृह खुले।

लेखकलाई माया, खबरदारी र सचेत गराउने पाठक जन्मिए । पाठकले नै विगतका लेखकले गरेको अन्यायलाई कोट्याइदिए, सम्झाइदिए अनि लेखकले सदियौंदेखि गर्दै आएका कमी कमजोरी औंल्याउने र विकृति रोक्ने प्रयास गरे । निजी स्तरबाट खुलेका प्रकाशनगृहले लेखक र साहित्यलाई उकास्न सहयोग गरे । प्रकाशनगृह खुल्न थालेपछि साहित्य क्षेत्र झनै सरल बन्यो । निजी प्रकाशनको माध्यमबाट लेखक बन्नेहरु पनि धेरै आए । त्योभन्दा पहिले सरकारी प्रकाशनगृह साझा प्रकाशन थियो ।

२०६५ सालपछिको चर्को राजनीतिले यसलाई डुबाइदियो । पुस्तक जन्माउने प्रकाशन संस्थाले पार्टीका पर्चा, पम्प्लेट र दस्तावेज प्रकाशन गर्न थाल्यो । बुद्धिजीवी वर्गले चलाउँदै आएको प्रकाशन संस्थामा पार्टीका भरौटे छिरे । जसले गर्दा सरकारी प्रकाशन संस्था चुर्लुम्म भयो।  ०६५ सालपछि सरकारी प्रकाशनगृहमा राजनीतिक हस्तक्षेप बढ्न थालेपछि खुलेका निजी प्रकाशनगृहले बजार तताउन थाले ।

फाइनप्रिन्ट, मञ्जिल, सांग्रिला, बुकहिल, स्वदेशी जस्ता नामले खुलेका निजी प्रकाशनगृहले साहित्यलाई फराकिलो बनाउन सहयोग गरे । अझ भन्ने हो भने पछिल्लो दशकमा ‘ननफिक्सन राइटिङ’मा त तुफानै आयो । अहिलेसम्म आइपुग्दा धेरै निजी प्रकाशनगृह फक्रिएका छन् । ती संस्थाले लेखकलाई तिखारेका छन् । समाजलाई बदल्न उत्पे्ररणा जगाएका छन् । व्यावसायिक ढंगले भए पनि पाठक र लेखकको चाहना मेटाएका छन् । साहित्यमा स्तर र सरलता थप्न सहयोग गरेका छन्।लेखक बुद्धिसागरको विचारमा ०६२÷६३ यता नेपाली साहित्यमा सरलीकरण भित्रियो । त्योभन्दा पहिलेका लेखकहरु ‘रिडरसिप’लाई ध्यान दिँदैनथे।

उनीहरुका सिर्जना ‘हाई लेभल’का हुन्थे । साहित्य शिक्षित व्यक्तिले मात्रै बुझ्न सक्थे । जस्को निम्ति पुस्तक लेखिएको हो, त्यो समुदायले बुझ्दैनथ्यो । समुदायका मानिसहरु आफ्नाबारेमा लेखकले उठाएको आवाज सुन्दैनथे । सञ्चारको भाषामा भन्ने होे भने त्यतिबेलाका पुस्तकमा ‘वान वे कम्युनिकेसन’ (एकतर्फी सञ्चार) मात्रै चल्थ्यो । किनकि अशिक्षित वर्गको बाहुल्य भएको समुदायबाट कुनै ‘फिडब्याक’ (प्रतिक्रिया) आउँदैनथ्यो।

‘फिडब्याक’ नआउने भएपछि लेखकले आफूलाई सुधार्न पाउँदैनथे । अर्को कुरा, धेरै विषय समेटिएकाले पुस्तकहरु गोलमाल हुन्थे । समुदायका पीडा एउटै उपन्यास, कथा, निबन्ध वा आख्यानमा समेटिएका हुन्थे । कुनै वर्ग समुदायकेन्द्रित पुस्तक कमै मात्रै आउँथे । सामाजिक तथा सांस्कृतिक रुग्णताविरुद्ध पाठकलाई उद्वेलित गराउन सक्ने गरी किताब लेखिन्थे।पछिल्लो दशकमा त्यस्तो खाले परम्परा तोडियो । हरेक समुदायबाट लेखक जन्मिए । उनीहरु आफ्ना समुदायका कथा, व्यथा लेखनको माध्यमबाट बाहिर ल्याउन र वकालत गर्न सक्ने भए । पर परेको समाजलाई एक कदम भए पनि माथि उठाउन सक्ने भए।

रैथाने लेखकको एकाधिकार खोस्न सक्ने भए । यसलाई पनि नेपाली साहित्यमा ठूलो उपलब्धि मान्न सकिन्छ । यसकारण पनि नेपाली लेखनशैली अझ ‘स्पेसिफिक’ भयो । लेखक बुद्धिसागर भन्छन्, ‘त्यतिबेला सबै विषय एउटै पुस्तकमा खाँदिएकोले पनि पाठकलाई लेखाइ जटिल लाग्थ्यो । तर, अहिलेको साहित्य त्यस्तो छैन । बजारमा जे बिक्छ त्यही लेख्न थालिएको छ । यो नेपाली साहित्यमा देखिएको परिवर्तन मात्रै होइन, विदेशी साहित्यमा पनि यस्तै छ।’

उनका अनुसार अहिले नेपाली साहित्यमा विज्ञान प्रविधिको र विदेशी साहित्यको शैली यत्रतत्र प्रयोग भएको पाइन्छ । जसका कारण लेखकहरु आफैं पनि बदलिएका छन् । उनीहरु आफ्नो समुदायलाई अरु देशका समुदायसँग दाज्न थालेका छन् । आफूले लेखेको पुस्तक संसारका जुनसुकै कुनाबाट पनि पढ्न सक्ने भएपछि उनीहरु थप सजग भएका छन् । सकेसम्म लेखनको क्रममा आइपर्ने सबै खाले भ्रम चिरेर लेख्ने हैसियत राख्छन्।

‘परिवर्तनसँगै लेखकहरु व्यावसायिक भए । उनीहरु बजारको मागलाई हेर्छन्,’ बुद्धिसागर भन्छन्, ‘आफूलाई जतिसुकै छुने विषय भए पनि बजारमा चल्दैन भने त्यस्तो किताब नलेख्ने स्थितिमा पुगेका छन् अहिलेका लेखक।’लेखकका अनुसार नेपाली साहित्य क्षेत्रमा ०६२-६३ यता स्वतन्त्रता आयो । फलस्वरुप साहित्य जगतमा उदाउने पुस्ताको संख्या बढ्न थाल्यो । साहित्यमा हाम्फाल्ने नयाँ पुस्ताको संख्या बढे पनि लेखनशैलीमा धैर्य भने देखिएन ।

जसले गर्दा कमजोर पुस्तक पनि प्रकाशन भइरहेको टिप्पणी पाठक र कतिपय लेखकको छ । यस्तै टिप्पणी गर्छिन्, लेखक शारदा शर्मा । उनी पछिल्लो दशकलाई साहित्य क्षेत्रमा छलाङ मार्ने दशकका रुपमा लिन्छिन् । उनले भनिन्, ‘भन्नैपर्दा पछिल्लो दशकमा नेपाली साहित्य जगतमा बाढी आएको छ । लेखकहरु धेरै जन्मिएका छन् । नयाँ सर्जक आउने क्रम पनि उत्तिकै छ ।’ उनका अनुसार ०६२-६३ यता नेपाली साहित्य क्षेत्र उन्नत (एडभान्स) बनेको छ । बजारमा एकाधिकार जमाएर बसेका रैथाने लेखकलाई चुनौती थपिएको छ । धेरै लेखक भएकोले लेखन क्षेत्रमा प्रतिस्पर्धा बढेको छ।

पुस्तक नबिक्ला कि भन्ने डरमा धेरैजसोले सावधानी अपनाउन थालेका छन् । यसले नेपाली साहित्य क्षेत्रलाई सुधार पनि गरेको छ । साघुँरोसाहित्य क्षेत्रलाई फराकिलो पनि बनाएको छ । नयाँनयाँ लेखक जन्मिएर साहित्य क्षेत्र फैलिएको मान्न सकिन्छ।‘देशमा संक्रमणकाल अन्त्य भएसँगै साहित्य क्षेत्रमा बाढी आयो,’ लेखक शर्माले थपिन्, ‘बाढी आएको बेला धेरैथोरै विकृति भित्रनुलाई नराम्रो मान्न सकिन्न तर, पहिलेभन्दा अहिले नेपाली साहित्य धेरै जुर्मुराएको छ ।’ पछिल्लो दशकमा भित्रिएका पुस्तकले नेपाली साहित्य जगतलाई नै सरलीकृत गरेको उनको भनाइ छ।  

०६२-६३ यता समकालीन नेपाली साहित्यमा धेरै किसिमका नूतन र पुरातन चिन्तन भेटिए । लेखकपिच्छे फरक–फरक धारणा बाहिर आए । बीच–बीचमा भीषण संघर्ष पनि चलिरह्यो । संक्रमणकालले साहित्यिक र सांस्कृतिक क्षेत्रमा पनि दरिलो प्रभाव पार्‍यो । त्यतिबेला लेखिएका पुस्तकले साहित्यिक–सांस्कृतिक सत्तालाई पनि हल्लाए । २० वर्षअघिको साहित्य हेर्दा लेखकहरुमा दर्शन, विचार, अर्थ–व्यवस्था, जीवनशैली, पद्धति, वातावरण, परम्परा जस्ता विषय धेरै पाइन्छ । यद्यपि संक्रमणकालअघिका पुस्तक अहिले पनि उत्तिकै कालजयी मानिन्छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा, भूपी शेरचन, विश्वेश्वर कोइराला, बालकृष्ण समजस्ता लेखक नेपाली साहित्यका जग मानिन्छन् । यी कवि, लेखकले त्यति बेलाको नेपाली समाजलाई परिवर्तनको संघारमा ल्याएका थिए । फरक यतिमात्रै हो– त्यतिबेला समाजमा अशिक्षितको बाहुल्यता थियो । साहित्य सीमित व्यक्ति र समुदायले रुचाउँथे । अहिले त्यस्तो खाले चलन हराएको छ । समाज विकास र आधुनिकतासँगै नेपाली साहित्य क्षेत्रमा नयाँ–नयाँ कवि र लेखक जन्मिए, जसले नेपाली साहित्यको फाँट फराकिलो र अग्लो बनाए।

पछिल्लो समय पूर्णकालीन लेखकका रुपमा चिनिने अमर न्यौपाने संक्रमणकाल यता उपन्यासको क्षेत्रमा पल्पसा क्याफे र प्रकाशनको क्षेत्रमा धेरै प्रकाशन संस्था आएपछि साहित्य क्षेत्रमा धेरै अदलबदल देखिएको बताउँछन् । उनी भन्छन्, ‘पहिले–पहिले पत्रपत्रिकामा मदिराका विज्ञापन छापिन्थे, अहिले पुस्तकका विज्ञापन छापिन थालेका छन् । यो सुखद पक्ष हो ।’ उनका अनुसार एक दशकअघि लिटेचर फेस्टिबल सुरु भयो ।

जसका कारण लेखकहरु पुस्तकबारे समाजलाई भन्न सक्ने भए । साहित्यमा रूचि भएका युवा साहित्यिक कार्यक्रममा तानिन थाले । कक्षाकोठाको छानोमा बस्ने विद्यार्थी बाहिरी आकाशमा आएर खुल्न सक्ने भए । साहित्यमा रुचि भएकाहरुको एकखाले ‘सर्कल’ सिर्जना भयो, जसले साहित्य र समाजलाई एकैसाथ अघि बढाउन सहयोग गरे । ‘विदेशतिर हेर्ने हो भने प्रत्येक घरमा दुई–तीनवटा पुस्तक र सानै भए पनि एउटा लाइब्रेरी हुन्छ । हाम्रोमा अरु देशमा जस्तो पठन संस्कृति अझै विकास भएको छैन,’ लेखक न्यौपाने भन्छन्, ‘तर पहिलेभन्दा अहिले साहित्य क्षेत्रमा नयाँनयाँ लेखक उदाउने क्रम बढेको छ, यसलाई सकारात्मक मान्नुपर्छ।’

कवि सीमा आभाषको विचार अन्य लेखकको भन्दा भिन्न छ । उनले ०६२-६३ यता नेपाली साहित्यमा अधिकारका कुरा उठान गर्न थालिएको बताइन् । उनको विचारमा त्योभन्दा पहिलेको साहित्यमा अन्याय हुन्थ्यो । कतिपय लेखकले पीडामाथि नुनचुक छर्ने काम गर्थे । आफूले लेखेर अरुलाई असर गर्छ भनेर सोच्दैनथे । त्यतिबेला कसैले पनि साहित्यलाई सशक्त दस्तावेज तयार पार्न सकेका थिएनन् ।

पाठकलाई अन्यायको जालोमा फसाएका हुन्थे । समाजमा अशिक्षितको बाहुल्य भएकोले पनि उनीहरुले आफ्नोविरुद्ध लेखिएका कुरामा विरोध जनाउन सक्दैनथे । ‘०६२-६३ सालअघि आँसु, पीडा र दुःख बेचेर साहित्य लेखियो,’ उनले भनिन्, ‘त्यतिबेलाको साहित्यमा महिला र गरिब समुदाय सिकार भएका छन् ।’ उनले पछिल्लो समाज शिक्षित भएकाले अब लेखकले धेरै सोचर मात्रै साहित्य लेख्नुपर्ने बताइन् । ‘अहिले साहित्यकारले झुटा र कुनै समुदायलाई खलल पार्ने विषय उठान गर्न पाउँदैन,’ उनले भनिन्, ‘त्यसैले पनि नेपाली साहित्य विश्वसनीय बन्दै गएको छ।’

पछिल्लो दशकका युवा आवाज र शृंगारिक साहित्यमा कलम चलाउँदै आएका सुबिन भट्टराई पनि पछिल्लो दशकमा नेपाली साहित्यले फड्को मार्न सफल भएको सुनाउँछन् । भन्छन्, ‘०६२-६३ यता नेपाली साहित्यमा मात्रै होइन पाठक, कृति, लेखक र प्रकाशन सबैतिर क्रान्ति नै आयो ।’ उनको विचारमा नेपाली साहित्य अंगे्रजी साहित्यको रस भरिन थालेको छ । यहाँका धेरैजसो लेखकमा अंग्रेजी साहित्यको भाव भेटिन्छ।

‘नेपाली साहित्यको इतिहास खोज्न कुनै किंवदन्तीमा जानु पर्दैन । नेपाली साहित्यको इतिहास त्यति लामो पनि छैन, जति हामीले अरु देशको साहित्यलाई हेर्छौं,’ उनले भने, ‘समकालीन वा सोभन्दा पहिलेको साहित्य बुझ्न महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भूपी शेरचन, बिपी कोइराला, भानुभक्त, कालिदास, पारिजात लगायतलाई पढे पुग्छ ।’ उनका अनुसार पछिल्लो समय नेपाली साहित्यको देखिएको आकर्षण प्रजातन्त्र र त्यसपछि बनेका कानुनलाई मान्न सकिन्छ।

जबजब समाजमा शिक्षित समूह थपिँदै गए तबतब साघुँरो र सीमित व्यक्तिमा अडिएको नेपाली साहित्य फराकिलो बन्यो । रुचि र लेखन क्षमता भएका स्रष्टाहरु नेपाली साहित्यले बटुल्न थाल्यो । तिनै स्रष्टाबाट साहित्य झाङ्गिन थाल्यो । अहिले पनि साहित्यमा नयाँ–नयाँ स्रष्ट्रा उदाउने क्रम जारी छ । ‘२०४६ सालपछिको साहित्य र ०६२÷६३ पछिको साहित्यमा बेग्लाबेग्लै परिवर्तन भएको छ,’ लेखक भट्टराईले भने, ‘२०४६ सालपछि अलि बढी क्रान्तिकारी भावमा साहित्य सिर्जना भए । ०६२÷६३ यता साहित्यमा सबै कुरा समायोजन हुन थाल्यो।’

उनको विचारमा नेपाली साहित्यमा पाश्चात्य समालोचनाका पुस्तक बढी छन् । पछिल्लो समय विश्व साहित्यका उत्कृष्ट कृतिको अनुवाद हुने क्रम पनि बढेको छ । यसको छनक नेपाली साहित्यमा अति कम देखिएको लेखक बताउँछन् । त्यस्ता कृतिको अनुवाद गरे विश्वले के लेखिरहेको छ भन्ने पनि थाहा थाहा हुने उनले बताए।दस वर्षको नन–फिक्सन क्रान्ति र समग्र साहित्य क्षेत्रमा क्रान्ति ल्याउनको लागि निजी तवरबाट खोलिएका प्रकाशनगृहले पनि ठूलो भूमिका खेले । फाइनप्रिन्ट प्रकाशनका सिइओ निरज भारीले ०६२÷६३ यता राम्रो लेख्ने लेखक पनि फाइदामा रहेको सुनाए ।

यो अवधिको साहित्यले दूर–दराजका मानिसको कथा–ब्यथा बोल्न सफल भएको उनको भनाइ छ । ‘पछिल्लो दशकमा जमेका लेखक बुद्धिसागर, अमर न्यौपाने, रामलाल जोशी, राजन मुकारुङ, नारायण वाग्ले, महेशविक्रम शाह, सुबिन भट्टराई, शारदा शर्मा, पुष्कर शाह, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रुकमाङ्गद कटवाल, नवराज पराजुली लगायत धेरै लेखक उदाए,’ उनले भने, ‘यी लेखकले सबै समुदायको प्रतिनिधित्व गरेका छन्, त्यसैले पनि यो दशक आसलाग्दो मानियो ।’ उनका अनुसार यो दशकमा बायोग्राफी, अटोबायोग्राफी र नन–फिक्सनमा लेखिएका पुस्तक धेरै आए।

बुकहिल प्रकाशनका भुपेन्द्र खड्काले गएको एक दशकमा पाठकको मन जित्ने र आसलाग्दा लेखक उदाएको सुनाए । ‘यो दशकमा लेखक र पाठकको हुल आयो, त्यससँगै निजी प्रकाशकहरु पनि आए,’ उनले चने, ‘जसले नेपाली साहित्यलाई धेरै माथि पुर्‍याए।

’ उनका अनुसार समाजमा शिक्षित वर्ग बढ्नु, इमेल, इन्टरनेटको विकास हुनु, निजी प्रकाशन संस्था खुल्नु, विभिन्न समुदायबाट लेखन क्षेत्रमा प्रतिनिधित्व गर्ने जस्ता क्रियाकलापले साहित्यलाई उकास्न मद्दत गर्‍यो । ‘यो दशकलाई पाठकको दशकका रुपमा पनि लिइन्छ,’ खड्काले भने, ‘लेखकले पनि युवालाई सम्बोधन गरे, त्यसैले पनि लेखन क्षेत्रमा युवा जमात बढ्यो ।’

 

प्रकाशित: १४ वैशाख २०७५ ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App