नागरिक वार्षिकाेत्सव २०७५ विशेष

संघीय राजधानी जोडिएको समृद्ध प्रदेश

शुक्रबार, १४ बैशाख २०७५, १४ : १२ रमेश खतिवडा

देशको संघीय राजधानी जोडिएकाले प्रदेश ३ को सम्भावना अनि विकासबारे चासो र बहस सिहंदरबारदेखि गाउँबस्तीसम्म सुनिन्छ। स्रोत र साधनका हिसाबले अरु प्रदेशभन्दा बलियो र धनी रहेको यो प्रदेश ३ को जलशक्ति, पर्यटन, कृषि र पशुपालन नै सम्भावनाका प्रमुख आधार हुन्।

मुलुकको संघीय राजधानी काठमाडौंसँगै प्रमुख व्यापारिक सहर ललितपुर, भक्तपुर, हेटौंडा, बनेपा, चितवन, नारायणघाट यही प्रदेशमा पर्छन्। ठूल्ठूला विद्युत् आयोजनादेखि मुलुकका प्रमुख औद्योगिक क्षेत्रहरु यही प्रदेशमा छन्। चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका प्रमुख दुई नाका यहीँ पर्छन्। काठमाडौं, भक्तपुर, काभ्रे, दोलखा, रसुवा, चितवन जस्ता जिल्लामा स्वदेशी तथा विदेशी पर्यटक तान्न सक्ने अपार प्राकृतिक तथा धार्मिक सम्पदा छन्।

प्रदेश ३ का कतिपय जिल्लाको प्रमुख पेसा कुखुरापालनका साथै यहाँ उत्पादन हुने दूध र किसानले फलाएका तरकारी बालीले केन्द्रीय राजधानी र देशका प्रमुख सहरलाई पाल्ने हैसियत राख्छ। देशको केन्द्रीय विश्वविद्यालयसहित प्रतिष्ठा आर्जन गरेका ठूला विश्वविद्यालय यही प्रदेशमा पर्छन्। दर्जनौंको संख्यामा मेडिकल कलेजका साथै देशकै सुविधासम्पन्न अस्पताल यही प्रदेशमा पर्छन्। खनिज पदार्थ सबैभन्दा बढी यही छन्।

‘स्रोत र साधनमा सबैभन्दा धनी प्रदेश हो यो,’ धादिङबाट प्रतिनिधित्व गर्ने एमालेका प्रदेश सभा सांसद राजेन्द्र पाण्डेले भने, ‘स्रोत र साधन उपयोग गर्ने राम्रा योजनासहित काम गर्न सक्यौं भने सिंगो देशलाई पाल्ने क्षमता यो प्रदेशले राख्न सक्छ।’ त्यसका लागि नेतृत्वको क्षमता र कार्यशैलीमा भर पर्ने पाण्डे बताउँछन्।

ऊर्जा शक्तिमा ‘अब्बल’
१३ जिल्ला रहेको प्रदेश ३ मा मात्र केही वर्षभित्रै करिब १३ सय मेगावाट बिजुली उत्पादन हुने सम्बद्ध अधिकारी बताउँछन्। हाल प्रदेशका दोलखा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, रसुवा र धादिङमा रहेका २३ वटा साना तथा ठूला आयोजनाले तीन सय २८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा दिइरहेका छन्।

‘हाम्रो प्रदेशमा निर्माण भइसकेका र निर्माण चरणमा रहेका गरी अहिले ५६ वटा विद्युत् आयोजना चालु अवस्थामा छन्,’ नुवाकोटका प्रदेश सभा सांसद बद्री मैनाली भन्छन्, ‘ती आयोजना तोकिएकै समयमा सम्पन्न भए अबको दुई–तीन वर्षभित्रै १६ सय मेगावाट विद्युत् प्रदेश ३ बाट उत्पादन भइसक्छ।’ यी बाहेक अध्ययन भइसकेका र लगानी जुटाउने चरणमा रहेका पाँच सय मेगावाट माथिका आयोजना थुप्रै छन्।

स्वदेशी लगानीको सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना दोलखाको लामाबगरमा निर्माण हुँदैछ। आगामी पुसभित्र आयोजनाले बिजुली बाली सक्ने लक्ष्य लिएको छ । यहाँ माथिल्लो तामाकोसीसहित दर्जनभन्दा बढी विद्युत् आयोजना निर्माण भइरहेका छन् । आधा दर्जनभन्दा बढी निर्माणको अन्तिम चरणमा पुगिसकेका छन्। तीन वर्षभित्र ती आयोजनाले पाँच सय ७३ मेगावाट बिजुली उत्पादन गरिसक्छन्। सुरुमा आठ सय ८० मेगावाट क्षमता अध्ययन भएको तामाकोसी तेस्रोका लागि लगानी जुटाएर निर्माण गर्न सके यो क्षेत्रमा कायापलट हुनेछ।

त्यस्तै रसुवामा १२ वटा विद्युत् आयोजना बन्दैछन् । पाँच वर्षभित्र ती आयोजनाबाट पाँच सय ७८ मेगावाट बिजुली उत्पादन हुँदैछ। सिन्धुपाल्चोकमा पनि नौवटा आयोजना निर्माण हुँदैछन्। चार वर्षभित्र ती आयोजनाबाट तीन सय मेगावाट बिजुली थपिँदैछ। सिन्धुपाल्चोकबाट मात्र राष्ट्रिय प्रसारणमा आधा दर्जन विद्युत् आयोजनाले करिब ७० मेगावाट बिजुली दिइरहेका छन्। ३५ मेगावाटको भोटेकोसी जलविद्युत् आयोजना भूकम्प आएयता बन्द छ। उक्त आयोजनाले सिन्धुपाल्चोक जस्ता पाँचवटा जिल्ला झिलिमिली पार्ने हैसियत राख्छ। भूकम्प र भोटेकोसीको बाढीले बन्द भएको यो आयोजना मर्मत भइरहेको छ।

जुगल हिमाल मुहान भएर बग्ने ब्रम्हायणी नदी क्षेत्रमा जलविद्युत् निकाल्नका लागि लगानीकर्ता आकर्षित भएका छन् । सिन्धुपाल्चोकमा हरेक ४० देखि ५० मिटरको दूरीमा एउटै खोलालाई तल्लो, माथिल्लो, झन माथिल्लो, मध्य जस्ता नाम दिएर विद्युत् उत्पादन अनुमति लिइएको छ। ब्रम्हायणी नदीलाई सुरुङबाट इन्द्रावतीमा झारेर जलाशययुक्त बहुउद्देशीय जलविद्युत् आयोजना बनाउनका लागि व्यवसायी अध्ययन गरिरहेका छन्।

धादिङ र गोरखाको सिमानामा १२ सय मेगावाटको बूढी गण्डकी जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउनेसहितको तयारी हुँदैछ। यो आयोजना बनाउन सकेमा ऊर्जाशक्तिको विकासमा अर्को कायापलट हुनेछ। धादिङका सांसद पाण्डेका अनुसार बूढीगण्डकीको बाँध बाध्दा ४२ किलोमिटरको ताल बन्नेछ। त्यस्तै त्यस वरिपरि एक सय २० किमिको रिङरोड समेत हुनेछ।

रामेछापको खिम्ती खोला र लिखु खोलामा ६ वटा विद्युत् आयोजना निर्माणका क्रममा छन्। तीन वर्षभित्र ती आयोजनाबाट तीन सय ७४ मेगावाट बिजुली उत्पादन हुँदैछन्।

नुवाकोटको तादीखोलामा पाँचवटा र गोसाइकुण्ड हुँदै बगेर आउने त्रिशुली नदीमा तीनवटा विद्युत् आयोजना छन्। जिल्लाका प्रदेश सभा सांसद बद्री मैनालीका अनुसार नुवाकोटले मात्र केही वर्षभित्रै एक सय तीन मेगावाट बिजुली उत्पादन गर्नेछ।

मकवानपुरमा कुलेखानी तेस्रो र बागमती नदीबाट गरी ३४ मेगावाट बिजुली उत्पादनका लागि आयोजना निर्माण कार्य भइरहेको छ । ललितपुरमा दुईवटा साना आयोजनाबाट ६ मेगावाट बिजुली उत्पादन हुँदैछ।

धार्मिक पर्यटनको ‘हव’
काठमाडौं उपत्यका पुरानो सांस्कृतिक सहर हो। कला संस्कृतिले भरिपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत यो सहरका थुप्रै मठमन्दिर र स्थल हेर्न घुम्न वार्षिक हजारौको संख्यामा पर्यटक आउने गरेको तथ्यांक पर्यटन बोर्डसँग छ। हिन्दुको आराध्यदेव पशुपतिनाथ दर्शन गर्न लाखौंको संख्यामा भारतीय पर्यटक नेपाल भित्रिन्छन्। बौद्ध धर्मावलम्बीको प्रमुख स्थल स्वयम्भु र बौद्धमा विश्वभरका बौद्ध धर्मावलम्बी आउँछन्। ‘लुम्बिनी घुम्ने उद्देश्यले आएकाहरु स्वयम्भु र बौद्ध घुमेरै जान्छन्,’ पाण्डे भन्छन्। पाण्डेका अनुसार धार्मिक पर्यटनलाई राजधानी ओर्लिने बित्तिकै आकर्षित गर्ने प्रमुख सम्पदा भएका कारण राजधानी घुम्नै लामो समय बिताएर मात्र पर्यटक बाहिरिन्छन्।

हनुमानढोका, दरबार स्क्वायर, भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, चाँगु नारायण मन्दिर उपत्यकाका धार्मिक पर्यटनका केन्द्र हुन्। त्यस्तै स्वदेशी पर्यटकका लागि भीमेश्वर, कालिञ्चोक भगवती, त्रिपुरा सुन्दरी, गोसाइकुण्ड, जट्टापोखरी, देवघाटलगायत तिर्थस्थल प्रख्यात छन्।

रसुवाको लाङटाङ, दोलखाको रोल्वालिङ, सिन्धुपाल्चोकको जुगललगायत हिमशृंखला मुनिका उपत्यका हेर्न लाखौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटक पुग्छन्। गौरीशंकर, पाविल, गणेश र जुगल जस्ता हिमाल यहीँ छन्। धादिङको रुबी भ्यालीबाट हिमाल हेर्न बर्सेनि हजारौं पर्यटक आउँछन्।

विश्वसम्पदा क्षेत्रमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जमा ठूलो संख्यामा पर्यटक भित्रिन्छन्। निकुञ्जका अनुसार अघिल्लो वर्ष स्वदेशी र विदेशी गरेर एक लाख ३९ हजार पर्यटक घुम्न आएका थिए। तीमध्ये ८७ हजार त विदेशी मात्र थिए।

कृषि र पशुपालनको राजधानी
तत्कालीन जिविस महासंघका पूर्वअध्यक्ष समेत रहेका काभ्रेका नेता कृष्ण सापकोटाका अनुसार प्रदेश ३ कृषिमा पनि उत्तिकै काबिल छ। ‘देशको राजधानीसहित प्रमुख सहरलाई यहीँका केही जिल्लाले फलाएको तरकारीले पालिरहेको छ,’ उनले भने।

सापकोटाका अनुसार काभ्रे, धादिङ, र चितवनबाट अर्बौंको तरकारी राजधानीसहित देशका ठूला सहरमा निर्यात हुन्छ । धादिङको पृथ्वी राजमार्ग आसपासका बस्ती तरकारी खेतीले भरिएका हुन्छन्। सिद्धले गाउँपालिकाको नलाङथला, कुम्पुर, धुनीबेसी नगरपालिकाको नौबिसे, जीवनपुर, थाक्रे गाउँपालिकाको केबलपुर, थाक्रे, तसर्पु गोगनपानी र गजुरीका जांगरिला किसानले फलाएको तरकारी काठमाडौं, पोखरा, नारायणघाट, वीरगन्जलगायत ठूला सहरमा निर्यात हुन्छ। काभ्रेको पाँचखाल, भक्तपुर, चितवन, सिन्धुलीसहितका जिल्लामा रहेका उर्वर भूमिमा खेतीको राम्रो सम्भावना छ। प्रदेश ३ लाई  खाद्यान्न उत्पादनका हिसाबले पनि महŒवपूर्ण क्षेत्रका रुपमा विकास गर्न सकिने सापकोटाको तर्क छ।

चितवन कुखुरा तथा अण्डा उत्पादनको राजधानी मानिन्छ। नेपालभरीलाई नै पुग्ने कुखुरा चितवनले उत्पादन गरेर सिंगो देशलाई मासु निर्यात गर्न सक्ने जानकार बताउँछन्। यी बाहेक धादिङ, मकवानपुर, काभ्रे, काठमाडौंले समेत मासु उत्पादनमा सिंगै देशलाई पाल्न सक्छ। चितवन र धादिङ माछापालनका लागि समेत प्रख्यात छन्।

उद्योग कलकारखानाको सहर
सरकारी तहबाट सुरु गरिएका ठूला उद्योग पनि यही प्रदेशमा छन्। राजधानी आसपास र धादिङ, काभ्रे, चितवन र मकवानपुरमा निजी उद्योग प्रशस्त छन्। बालाजु औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र, हैटौंडा, भक्तपुर औद्योगिक क्षेत्र यहीँ छ। मकवानपुर र चितवनमा नयाँ औद्योगिक क्षेत्र विस्तार हुँदैछ । जिल्लैपिच्छे खानी तथा खनिज पदार्थ धेरै स्थानमा छ।

उद्योग वाणिज्य महासंघका प्रदेश समिति अध्यक्ष दिनेश श्रेष्ठ प्रदेश ३ मा आर्थिक विकासको राम्रो सम्भावना भएपनि स्रोत र साधन उपयोग गरेर आर्थिक उपार्जन गर्ने स्पष्ट नीति नभएका कारण लगानीले खासै गति लिन नसकेको सुनाउँछन्।

‘अन्य प्रदेशका तुलनामा यहाँ लगानीको राम्रो सम्भावना छ,’ उनी भन्छन् ‘तर अहिलेसम्म भएका उद्योगको संरक्षण गर्न सरकारको ध्यान जाँदैन।’ श्रेष्ठ यसलाई बालाजु औद्योगिक क्षेत्रसँग जोडेर उदाहरण दिन्छन्। ‘बालाजु औद्योगिक क्षेत्रबाट ठूला उद्योगलाई विस्थापन गरेर वर्कसपलाई भाडामा दिइएको कुराबाट नै हाम्रो सरकारी संयन्त्र उद्योगधन्दाको विकासमा कति सचेत छ भन्ने पुष्टी हुन्छ।’

श्रेष्ठका अनुसार प्रदेश ३ का धेरैजसो जिल्लामा खनिज पदार्थ छ । हेटौंडामा युरेनियम खानी छ। धादिङको जोगिमारादेखि नौबीसे साथै मकवानपुर र चितवनका पहाडमा चुनढुंगा खानी छ। तीनको व्यवस्थापन गरेर चलाउन सके सिमेन्ट उद्योगका लागि कसैको भर पर्न नपर्ने श्रेष्ठ बताउँछन्। रामेछापको ठोसेमा राणाकालदेखिकै फलाम खानी छ। दोलखाको मार्बुमा तामा खानी छ।

जुनारका लागि प्रख्यात सिन्धुलीमा अहिलेसम्म जुनार चिस्यान केन्द्र छैन। ‘यहाँ फलेको जुनार चिस्यान केन्द्रकै लागि भारत पठाइन्छ,’ श्रेष्ठ भन्छन्, ‘अनि अफ सिजनमा त्यही जुनार नेपाल ल्याएर महंगोमा हामी आफै खान्छौं’।

त्रिदेशीय छोटो सडक
प्रदेश ३ को रसुवा, सिन्धुपाल्चोक र दोलखामा तीनवटा नाका तिब्बतसँग जोडिएको छ। लामाबगर नाका खुलाउन सरकारले बर्सेनि बजेट विनियोजन गरेर काम गरिरहे पनि पूर्ण बजेट अभावका कारण नाका खोल्ने काम सुस्त गतिमा छ।

भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउन पहल गरिएको छैन। रसुवाको केरुङ नाका सञ्चालनमै छ। नेपाली सेनाले गल्छीदेखि केरुङसम्मको सडक निर्माण सम्पन्न गरिसकेको छ। अब उक्त सडक कालोपत्रे गरे केरुङसम्मको आउजाउ सहज हुनुका साथै चीनबाट भारतीय सिमानासम्म सडक सञ्जाल जोड्ने सबैभन्दा छोटो त्रिदेशीय सडक हुनेछ।

तयारी सडक सञ्जाल उतिकै छन्। धादिङका सांसद पाण्डे यातायातको सञ्जालले अरु प्रदेशको तुलनामा प्रदेश ३ सुगम रहेको बताउँछन्।

अहिले रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट फास्ट ट्र्याक हुँदै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ जोडेपछि यो क्षेत्रले सडक र यातायात सञ्जालमा अझ बढी फड्को मार्नेछ। यस्तै सिगात्सेसम्म आइपुगेको चिनियाँ रेल केरुङ हुँदै काठमाडौंबाट पोखरा र लुम्बिनी जोडिने चर्चा छ।

शिक्षा र स्वास्थ्यको ठूलो केन्द्र
संघीय राजधानी जोडिएका कारण प्रदेश ३ देशकै प्रमुख शैक्षिक केन्द्र बन्न सक्छ । त्रिभुवन विश्वविद्यालय यही प्रदेशमा छ। ऊर्जावान जनशक्ति उत्पादन गर्ने कारण विश्वभर नै यो विश्वविद्यालय प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा दरिन्छ। अर्को प्रतिष्ठित शैक्षिक संस्था काठमाडौं विश्वविद्यालय पनि यही प्रदेशको धुलिखेलमा छ। कृषि तथा वन विज्ञान सम्बन्धी अध्ययन गर्ने कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनमा छ।

निजी तथा सरकारी तहका अरु थुप्रै नाम कहलिएका कलेज तथा शैक्षिक संस्था काठमाडौं, भक्तपुर, ललितपुर, धुलिखेल, चितवन, हेटौंडालगायत क्षेत्रमा छन्।

देशका त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ), विर, गंगालाल जस्ता देशका ठूला र सुविधासम्पन्न दर्जनौं अस्पताल काठमाडौंमा छन्। राजधानी र चितवनमा डाक्टर उत्पादन गर्ने मेडिकल कलेज पनि छन्।

प्रदेशमा तराई, हिमाली, उच्च पहाडी र पहाडी गरी १३ जिल्ला रहेका छन्। दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर गरी १३ जिल्ला रहेको प्रदेश २० हजार तीन सय वर्गकिलोमिटर क्षेत्र ओगटेको छ । प्रदेश भरी ५५ लाख जनसंख्या छ । यसको प्रदेश मुकाम हेटौंडा हो।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad