४ वैशाख २०८१ मंगलबार
समाज

बदलिँदै काठमाडौं

काठमाडौं – दशकअघि काठमाडौं भन्नाले सिंहरदबार, धरहरा र नारायणहिटी, वसन्तपुर, बौद्धनाथ, स्वयम्भूनाथ र चक्रपथ आसपासका क्षेत्रलाई बुझिन्थ्यो । जब २०६० सालतिर देशमा द्वन्द्व चरम उत्र्कषमा पुग्यो, सुरक्षित ठाउँ खोज्दै काठमाडौं आउनेको संख्या बढ्न थाल्यो।

यसपछि फैलिन थालेको काठमाडौं घरहरुको जंगल जस्तो बनेको छ । उपत्यकाका तीनवटै जिल्ला यतिबेला बस्तीले भरिएका छन् । निश्चित ठाउँलाई मात्रै काठमाडौं मान्नेका लागि यो बीचमा काठमाडौं बदलिसकेको छ । १० वर्षको अन्तरालमा राजधानी काठमाडौं आउनेहरु यसले रुप फेरेको अनुभूति गर्न थालेका छन्।

‘यो १० वर्षमा काठमाडौंमा धेरै परिवर्तन भए,’ उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी भन्छन्, ‘१० वर्षअघि काठमाडौं आएकाहरु अहिले आए भने यसलाई नयाँ रुपमा पाउँछन् ।’ उनका अनुसार १० वर्ष अघिसम्म यहाँका घर पुरानो शैलीका थिए । सडक अत्यन्तै साँघुरा ! अहिले यी सबैमा नयाँपन आएका छन् । सडक चौडा बनेका छन् । पुराना शैलीका भवन आधुनिक ढंगमा बनेर सहरको शोभा बढाएका छन्।

१० वर्षको अन्तरालमा काठमाडौं जसरी फेरिएको छ, आलोचना पनि उसैगरी भइरहेको छ । ‘मास्कमाण्डु, धुलोमाण्डु’ जस्ता अपमानजनक नाम पनि यसले पाएको छ । पुरानो ढर्राको राजधानीलाई नमूना बनाउने क्रममा यस्ता नाम पाएको तिवारी बताउँछन् । ‘जसरी अहिले धुलो, हिलो भयो भनेर आलोचना गरिन्छ, यो सबै केही राम्रो पाउन खेपेको समस्या हो,’ उनले भने, ‘विकासको क्रममा समस्या खेपे पनि निश्चित समयपछि राम्रो हुनेछ ।’ उनका अनुसार काठमाडौं प्राकृतिक रुपमै पनि अत्यन्त सुन्दर छ । अहिले त्यही सुन्दर सहरमा सौन्दर्य थपेर झन् सुन्दर बनाउने काम भइरहेको छ।

काठमाडौंका सडक मात्र नभएर, फुटपाथ, पार्क, नदीनालासमेत फेरिएर सुन्दर र आकर्षक देखिने क्रममा छन् । १० वर्षअघि सडकमा न पैदलयात्रीलाई हिँड्ने ठाउँ हुन्थ्यो, न गाडी कुदाउने चौडा सडक नै । हरियाली पार्क पनि थिएनन् । ‘मर्निङ वाक’ गर्ने ठाउँको कल्पनै नगरिए पनि क्रमिक रुपमा यी पूर्वाधार तयार हुने क्रममा रहेको तिवारी बताउँछन् ।
तीनकुने–माइतीघर–कोटेश्वर सडक अहिले फराकिलो मात्रै छैन, हरियाली र रंगरोगन गरिएको छ । यो जस्तै साना–ठूला गरेर हालसम्म उपत्यकाभित्र चार सय किलोमिटरभन्दा बढी सडक विस्तार भइरहेका छन् । विस्तारित सडकको ठाउँठाउँमा हरियाली, वृक्षरोपण र सोलार बत्ती जडान गरेर आकर्षक बनाइएको छ ।

ट्राफिक लाइट भइरहेका छन् । लत्रेका तार, अव्यवस्थित पोल, होडिङ बोर्डको कुरुपता पनि क्रमिक रुपमा सुधिादो छ । खाली जाग्गा उपयोग गर्दै पार्क बन्न थालेका छन् । यसको एउटा उदाहरण नक्सालको ‘नन्दीकेशर बगैंचा’ हो । अन्य ठाउँमा पनि यस्ता पार्क सुरु भएका छन् । भइरहेका रत्नपार्क, शंखपार्क लगायतलाई व्यवस्थित बनाउने काम भएका छन् । यसबाट पनि राजधानीमा सौन्दर्य थप्न केही हदसम्म टेवा पुगेको अनुमान गरिन्छ । मूलपानीमा क्रिकेट मैदान निर्माण अन्तिम चरणमा छ । राजधानीलाई चम्काउन यो अर्को पूर्वाधार हुन सक्छ ।राजधानीका भएका यी विकासले पनि काठमाडौंमा केही भएन, विकासले गति लिएन भनेर आलोचना गर्नेलाई आशावादी बनाउन सक्ने अनुमान गरिन्छ।

तिवारीका अनुसार बितेका १० वर्षमा धेरै काम राजधानीमा भएका छन् । जसले काठमाडौंको रुप फेरेको छ । तर, राजधानी काठमाडौंलाई चम्काउन अझ धेरै काम गर्न बाँकी रहेको तिवारी बताउँछन्।काठमाडौंमा पछिल्लो समय भएको नमूना विकासको रुपमा कलंकीको अन्डर पासलाई लिन सकिन्छ । अबको केही महिनामै कलंकीको भूमिगत सडक सञ्चालनमा आउँदैछ । योसँगै कोटेश्वर–कलंकी सडक आठ लेनको बनेको छ । २७ किलोमिटर लामो चक्रपथको बाँकी खण्ड पनि आठ लेनकै बनाउन सम्झौता भइसकेको छ । चक्रपथको विस्तार चिनियाँ सरकार सहयोगमा भइरहेको हो।

सडक फराकिलो बनेको कुरा गर्दा तितो यथार्थको रुपमा साँखु–चाबहिल, कंलकी–थानकोट सडकलाई लिनुपर्छ । यी सडक पनि विस्तारको क्रममा छन् । तर, सकिनुपर्ने समय बितिसक्दा पनि काम अलपत्र छ । जसले काठमाडौंबासीले धुलो, हिलोको सास्ती खेप्न बाध्य पारेको छ । प्राधिकरण भने यी सडकलाई समस्याको रुपमा लिँदैन । काम गर्दै जाने क्रममा ढिला भएको दाबी गर्छ ।नदी आसपास पनि सडक खुल्ने क्रम जारी छ । वागमतिमा करिडोरको रुपमा दुवैतिर सडक खुलेको छ । धोबीखोलामा पनि सडक खुलेको छ । बाँकी रहेका उपत्यकाका खोलामा पनि करिडोरका रुपमा नदी किनाराको दुवैतिर सडक खुलिरहेका छन्।

सफाइ अभियानका कारण दुर्गन्धित वागमतिले पुनर्जीवन पाएको छ । यति बेला वागमति सङ्लो नभए पनि धेरै सफा छ । वागमतिसँगै विष्णुमति, धोबीखोला, मनहरा लगायत नदी सफा गर्न अभियान नै थालिएको छ । ढल र फोहोरले पुरिएका नदी धेरै हदसम्म सफा देखिन्छन् । कतिपय नदी किनारमा त चिल्ला सडक करिडोर र बगैंचा देखिन्छन्।

नदीको पानी पूर्ण रुपमा सफा हुन नसके पनि सफा हुने आस भने पक्कै गर्न सकिन्छ । लामो प्रतीक्षापछि मेलम्चीको पानी राजधानी भित्रिने अन्तिम चरणमा छ । मेलम्चीको पानी भित्रिएसँगै राजधानीको काकाकुल समस्या त हट्छ नै । योसँगै राजधानी पनि सफाचट बन्ने आशा गर्न सकिन्छ।

पछिल्लो १० वर्षे उपलब्धिको रुपमा काठमाडौंमा हिडँडुल गर्दा साना सवारीमा कोचिएर हिँड्नुपर्ने बाध्यतामा केही कमी भएको विषयलाई लिन सकिन्छ । साझा यातायात होस् वा निजी क्षेत्रका अन्य यातायात कम्पनीले ठूला बस सडकमा गुडाउन थालेका छन् । यात्रुले पहिलेको जस्तो सकस कमै मात्र भोगेका छन् । २० वर्षे सवारी त उपत्यकाबाट मात्रै नभएर देशबाटै हटाइसकिएको छ । असन, हनुमानढोका, ठमेल लगायत भित्री सहरी क्षेत्रलाई सवारी निषेधित बनाइएको छ । ती बाटोमा ढुंगा बिछ्याएर सुन्दर बनाइएको छ । जसले गर्दा सम्पदा क्षेत्रको महत्व त बढेको छ नै, पर्यटकसमेत आकर्षित हुने अपेक्षा गर्न सकिन्छ।

तर, पूर्वाधारविद् सूर्यराज आचार्य भने १० वर्षको अन्तरालमा काठमाडौंमा भएको विकासबारे फरक तर्क राख्छन् । ‘यो १० वर्षमा जनतासँग रेमिट्यान्सको पैसा धेरैको हातमा आयो, सोही अनुसार जनताले पूर्वाधार विकासको पनि अपेक्षा गरेका थिए,’ उनले भने, ‘त्यसको तुलनामा सरकारबाट निकै कम पूर्वाधारका काम भए ।’ उनका अनुसार सरकार हात बाँधेर बस्यो भन्न खोजिएका होइन । तर, जसरी सरकारले विकासको गतिलाई तीव्र रुप दिनुपथ्र्यो, त्यसरी दिन सकेन । नागरिक स्तरबाट बनेका भवन तथा घरको तलमाथि जान राखिएको लिफ्टलाई समग्र काठमाडौंको विकास मान्न नहुने तर्क आचार्यको छ।

‘१० वर्षको अवधि हेर्दा सहरी विकास पूर्वाधारको अवस्था खर्चिएको देख्छु,’ उनले भने, ‘यसको प्रमुख कारण जनतासँग पैसा भएर अपेक्षा बढ्नु र सरकार गरिब हुनु नै हो ।’ रेमिट्यान्सले धानेको अर्थतन्त्र र अस्थिर राजनीतिको कारणले राजधानी जस्तो सहर काठमाडौंले रुप फेर्न नपाएको अनुमान आचार्यको छ।

संघीय संरचनापछि पनि काठमाडौं केन्द्रीय राजधानी छ । अबको दिनमा जनता प्रशासनिक कामकै लागि देशभरबाट राजधानी धाउन नपरे पनि केन्द्रीय राजधानी भने सबैको नजरमा पर्छ । त्यसैले त संघीय संरचनामा पनि क्षमताभन्दा बढी जनसंख्याको चाप राजधानीमा घटेको छैन । सुविधा र अवसरको मात्र नभएर राजनीतिको केन्द्रबिन्दु मानेर राजधानीको बसोबास झनै् बढ्दै गएको छ।

जनआन्दोलनपछि जसरी काठमाडौंमा घरजग्गा व्यवसाय चम्कियो । त्यो क्रम अझै रोकिएको छैन । त्यसको दाँजोमा जसरी काठमाडौं फेरिनुपथ्र्यो, त्यो भने नभएको दाबी सहरी विकास मन्त्रालयका पूर्वसचिव एवं सहरीकरण विज्ञ किशोर थापाको छ । ‘१० वर्षे अवधिमा राजधानीमा जसरी बस्ती विकास भयो, त्यसको तुलनामा विकासको गति पछाडि छ,’ उनले भने, ‘एकतिर मापदण्ड अनुसारका संरचना बन्न सकेका छैनन्, अर्कोतिर नयाँ संरचना थपिन सकेका छैनन।’

अहिले काठमाडौंमा भइरहेको विकास ‘हुँदै नहुनुभन्दा केही हुनु ठिक’ जस्तो भएको उनको तर्क छ । तर पनि जति विकास भएका छन्, त्यसलाई सकारात्मक पाटोकै रुपमा लिनुपर्ने उनी बताउँछन् । सडक फराकिलो बनाएर होस् वा सौर्य बत्ती जडान गरेर, विकासको गति देखाउन खोजिएको छ ।

राजधानीलाई राजधानी जस्तो सहर बनाउन भने अझै धेरै गर्न बाँकी रहेको थापा बताउँछन् । ‘१० वर्षमा राजधानीमा केही काम भएको देखिन्छ,’ उनले भने, ‘राजधानीमा अझै धेरै काम गर्न बाँकी रहेको छ ।’ आगमी १० वर्षमा काठमाडौंलाई देशभरका नागरिकको गर्वलायक राजधानी बनाउन सरकार जुर्मुराउनु पर्ने धारणा उनको छ।
 

प्रकाशित: १४ वैशाख २०७५ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App