७ वैशाख २०८१ शुक्रबार
विचार

एमाले–माओवादी एकताको अलमल

गत असोजमा चुनावी गठबन्धन बनाएका दिनदेखि चर्चामा रहेको नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण भ्यागुत्ताको धार्नी नपुगेझैँ जहाँको त्यहीँ अड्किएको छ। पार्टी एकीकरणको घोषणाका लागि यसबीचमा कम्तीमा पनि आधा दर्जनपटक तिथिमिति तोकिएर पनि ती दिनमा कुनै उपलब्धि हासिल हुन नसकेर सबैनिष्फल भइसकेका छन्। नेकपा एमाले र माओवादी केन्द्रका प्रमुखहरूलेआपसी सल्लाहमा दुवै दलका नेता÷कार्यकर्तामध्ये छानीछानी टाठाबाठाठानिएका व्यक्तिलाई राखेर बनाएको पार्टी एकीकरण कार्यविधि निर्माण कार्यदलले भोक निद्रा नभनी पार्टी एकीकरणका कार्यविधिगत आधार तय गरेर प्रतिवेदन बुझाएको पनि निकै समय भएको छ। एकीकरणको टुङ्गो लगाउन त्यस कार्यदलको प्रतिवेदनले सुझाएका ती कार्यविधिगत आधार कति सहयोगी भएका छन् वा तिनबाट नै समस्या उत्पन्न भएको छ भन्ने कुराचाहिँ पार्टी एकता समन्वय समितिमा रहेका कुनै पनि नेताले सार्वजनिक नगरेकाले फगत अनुमानकै विषय छन्। आधिकारिकरूपमा कुनै पनि कुरो बाहिर नआएकाले कार्यदलको प्रतिवेदनले तय गरेका आधारमध्ये कुन कुन दुवैलाई स्वीकार्य छन् र कुन कुनमा सहमत हुन कुन पक्षलाई असहज भएको छ भन्ने पनि थाहा हुन सकेको छैन।

कार्यदलको समानान्तर दुवै घटकका शीर्षस्थ नेता केपी र पिके (प्रधानमन्त्री एवम् एमाले अध्यक्ष खड्गप्रसाद र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल) ले पनि पार्टी एकीकरणलाई तात्विक निष्कर्षसम्म लैजान वैयक्तिक स्तरमा पनि प्रयत्न गर्दै आएका छन्। यी दुवै नेता आफ्नो प्रयासमा एउटा बृहत् कम्युनिस्ट पार्टी अस्तित्वमा आएको महान् उपलब्धि हासिल गरेर नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा नाम दर्ता गराउन उत्साहित भएको देखाउन खोज्दैछन्। बितेका केही हप्तामा केपी–पिकेको त्यस राष्ट्रिय जोडीले दुईजना मात्र एकान्तमा बसेर, दुइटै कम्युनिस्ट दललाई एक ढिक्का बनाउन ‘वान् टु वान्’ वार्ता पनि तीन–चारपटक नै गरिसकेका छन्। तर किन हो थाहा छैन, पार्टी एकीकरणको बाटोमा तेर्सिएको तगारो जो छ त्यसलाई यी दुवै वाम बाहुबलीहरूले न्वारनदेखिको बल लगाउँदा पनि टसमस गराउन सकेका छैनन् । जति/जतिसमय घर्किँदै जाँदो छ, देशमा एउटा बलियो वामपन्थी दल बन्ने प्रक्रियाको भ्रूण पतन हुने सम्भावना ह्वात्तै बढेको जस्तो देखिएको छ। क्षुद्र स्वार्थका लागि गाँड कोराकोर गरेर सानासाना निर्बल गुटहरूमा विभाजित हुँदै आएका वामपन्थीहरू के खाएर एक ठाउँमा मिलेर बस्थे भन्दै होच्याउनेहरू फेरि एकपल्ट सही साबित हुन लागेका छन्।

अहिले गरिब प्रतिपक्षका रूपमा खुम्चन पुगेको नेपाली कांग्रेस समर्थकहरूको एउटा ठूलै समूह पनि एउटा सुदृढ कम्युनिस्ट पार्टी बन्नसक्ने यो अवसर ओली र दाहालको जोडीले कुनै पनि हालतमा खेर जान दिनुहुँदैन भन्दैछ। पराजित मानसिकताले ग्रस्त त्यो समूह केपी–पिकेबीच कस्सिएको लगनगाँठो फुस्कियो भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपल्ट प्रधानमन्त्री हुन प्रयत्नरत हुनेछन् भनेर डराएको छ।

एउटा दह्रो कम्युनिस्ट पार्टी अभ्युदयका लागि इतिहासमै सबैभन्दा उपयुक्त परिस्थिति बनेको समयमा एमाले–माओवादी केन्द्र एकीकरण प्रक्रिया किन सहज ढंगमा टुङ्गिन सकिरहेको छैन भन्ने कुराको खुलासा भने कतैबाट पनि भइरहेको छैन। कतै न कतै त यसमा फुकाउन कठिन गाँठो अवश्य पनि परेको छ र त्यसले समग्र प्रक्रियामा भाँजो हालेको छ भन्ने कुरा बुझ्न सकिन्छ। राम्रो कुराचाहिँ के छ भने यस एकता प्रस्तावको सकारात्मक पक्ष पनि त्यत्तिकै बलियो छ। एकीकृत हुन लागेका दुवै दलका नेतादेखि कार्यकर्तासम्म यसकोप्रवल सम्भावना र यसले पार्ने सकारात्मक प्रभावप्रति धेरै नै उत्साहित छन्। वैचारिकरूपले सधैँ नैदेब्रेतिर ढल्किँदै आएका नेपालको तथाकथित वामपन्थी प्रबुद्ध वर्ग एमाले–माओवादी केन्द्रको सम्भावित एकीकरणबाट सबैभन्दा खुसी भएको छ। वामपन्थी त छँदैछन्, अहिले गरिब प्रतिपक्षका रूपमा खुम्चन पुगेको नेपाली कांग्रेस समर्थकहरूको एउटा ठूलै समूह पनि एउटा सुदृढ कम्युनिस्ट पार्टी बन्नसक्ने यो अवसर ओली र दाहालको जोडीले कुनै पनि हालतमा खेर जान दिनुहुँदैन भन्दैछ। पराजित मानसिकताले ग्रस्त त्यो समूह केपी–पिकेबीच कस्सिएको लगनगाँठो फुस्कियो भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपल्ट प्रधानमन्त्री हुन प्रयत्नरत हुनेछन् भनेर डराएको छ। आफ्नो पार्टी सभापति सत्तामा जान प्रयत्नरत हुन्छ कि भनेर त्रस्त रहने कार्यकर्तालाई कुनरूपमा हेर्नुपर्ने हो,खुटयाउन नसकेर यो लेखक भने निकै ठूलो बिलखबन्दमा परेको छ।

प्रथम दृष्टिमा केपी र पिके दुवैजना आफ्ना दुई पार्टीको एकीकरणलाई सार्थक टुङ्गोमा पु-याएरै छाड्न कृतसंकल्प जस्तोदेखिए पनि ती दुई वामपन्थी नेताले आआफ्ना पार्टीलाई साँच्चै नै आपसमा विलय गराउन चाहेका हुन् कि दुवैजनाका कुनै गोप्य अभीष्ट र योजना छन्भन्ने प्रश्नचाहिँ अनुत्तरित नै छ। केपी र पिके दुवै खुलस्त मनले आआफ्ना पार्टीलाई पानी र दूध मिलाएझैँं आपसमा विलय गराउन चाहन्छन् कि यिनका मनको कुरो अर्कै छ त्यो पनि थाहा छैन। जे भए पनि, मन वा बेमन, जसरी नै गरिरहेको किन नहोस् ती दुई नेताले पार्टी एकीकरणका लागि गरिरहेको यो कष्टसाध्य अभ्यासका सिलसिलामा केही व्यावहारिक र केही मानसिक अप्ठ्याराहरूको सामना गर्नु परिरहेको छ भन्ने कुरामा विवाद हुन सक्दैन। ती अप्ठ्यारामध्येकेहीउनीहरूले राखेका गोप्य र निहित उद्देश्यसँग सम्बन्धित छन् भने केहीचाहिँ दुवै संगठनका फरक पृष्ठभूमि, सैद्धान्तिक वैभिन्य र निकट विगतसम्मको कटु वैमनष्यसँग जोडिएका छन्। मूलरूपमा चाहिँ समस्याको चुरो दुई पार्टीको आकार र शक्तिमा भएको ठूलो असमानता नै हो जसले पार्टी एकीकरणलाई यतिका दिन बितिसक्दा पनि टुङ्गोमा पुग्न दिइरहेको छैन। सत्तासीन गठबन्धनका नेता केपी र पिकेले एक अर्काको महत्वाकांक्षालाई दुवैको अहम् आहत नहुने गरी थुम्थुम्याइ राखिरहनुपर्ने पनि छ।

एकीकृत हुन खोजिरहेका पार्टीका नेताहरूले माथि उल्लेख गरिएका सैद्धान्तिक र प्राविधिक अप्ठ्याराहरू सुल्झाउने प्रयत्न कसरी गरिरहेका छन्, एकीकरणको प्रक्रिया कसरी, कहाँ पुगेको छ र यो गहन राजनीतिक प्रस्तावना तात्विक परिणतिमा कसरी पुग्दैछ भन्ने जस्ता कुरामाथि लागेको रहस्यको जलप अझै हटेको छैन। अहिलेलाई यी सब कुरामा ध्यान केन्द्रित गर्ने र एकीकृत कम्युनिस्ट पार्टी बनाउने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने अभिभारा केही समय पहिलेका कट्टर दुश्मन र अहिले एउटै बटुकोबाट झिकेर सत्ताको तर मारिरहेका ती दुई नेता केपी र पिकेको काँधमा छ। यो लेखक र यो जस्ता लाखौँ नेपालीको चिन्ता र सरोकारको विषय त यो एकीकरणको अन्तर्यमा कुन कुन मुद्दा छन् र तिनको राष्ट्रिय राजनीतिमा सकारात्मक वा नकारात्मक कस्तो प्रभाव पर्न सक्छ भन्नेमात्र हो। एमाले र माओवादी केन्द्रबीच हुन आटेको एकता यथार्थमा परिणत भयो भने त्यसले नीति र सिद्धान्तका आधारमा राजनीतिक दलहरूको ध्रुवीकरण हुने प्रक्रियाले गति लिन थाल्छ। त्यसले प्रतिस्पर्धात्मक लोकतान्त्रिक राजनीतिक प्रणालीको स्थायित्व र विकासमाथि निश्चितरूपमा सकारात्मक र दीर्घकालीन प्रभाव पनि पार्नेछ। यसरी हेर्दा एमाले–माओवादी केन्द्र एकीकरणलाई एउटा स्वागतयोग्य राजनीतिक कदमका रूपमा लिन सकिन्छ।

यस प्रकरणमा खेद र चिन्ताको विषयचाहिँ के भएको छ भने दुनियाँलाई देखाउनका लागि एउटै एकीकृत कम्युनिस्ट पार्टी बनाउने अजेन्डा लिएर मोलमोलाइ गरिरहेका यी दुवै नेता नित्तान्त निजी स्वार्थप्रेरित सर्तहरूको बल्छी हालेर पार्टी एकीकरणलाई असम्भव नै नभए पनि कठिन बनाइरहेका छन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई उनको पार्टीले संसद्मा सबैभन्दा बढी स्थान ल्याएको कुराको ठूलो दम्भ छ। उनी त्यसैका आधारमा माओवादी केन्द्रलाई एकीकृत पार्टीको पदस्थापनमा खुम्च्याउन खोजिरहेका छन्। अर्कातिर माओवादी केन्द्र प्रमुख पुष्पकमल दाहाललाई कति छिटो प्रधानमन्त्री हुन सकिन्छ त्यसैको चिन्ता छ। उनी त्यसैले, पार्टी एकीकरणको मुख्य सर्त आफूले पाउनुपर्ने पद र शक्तिलाई मात्र बनाइरहेका छन्। विगत ५ महिनामा यी दुई नेताले पार्टी एकीकरणका सन्दर्भमा व्यक्त गरेको भनिएको चासो र चिन्ताको संकीर्णपरिधिलाई हेरेर दाबीका साथ भन्न सकिन्छ– यी दुवैलाई एउटा बलियो र एकताबद्ध कम्युनिस्ट पार्टी बनाउनमा पटक्कै अभिरुचि छैन। यी दुई नेता त हाम्रा गाउँघरमा प्रचलित ‘घिउ बेचुवा र तरबार बेचुवा’ को कथालाई राष्ट्रिय मञ्चबाट भाका मिलाएर दुनियाँलाई सुनाउन खोजिरहेका छन् झैंँ बुझिन्छ। यस मामिलालाई लिएर प्रधानमन्त्री ओली अलि बढी नै अलमलिएको जस्तो पनि देखिएका छन्। उनले संसद्मा धेरै स्थान भएको आफ्नो दलका नेता/कार्यकर्ता र कम स्थान भएको माओवादी केन्द्रका नेता/कार्यकर्ताबीच लाभका पद बाँडफाँट गर्दा पर्नसक्ने समस्याको समाधान ‘जुत्ता सानो भए कुर्कुच्चा ताछेर फिट गराउने’फर्मुलालाई बनाएरमाओवादी केन्द्रसँग एकता भएपछि आफ्नो जायज भाग हरिन सक्ने डरले टाक्सिएका हजारौँ एमालेजनका मनमा गहिरो असुरक्षाको पहिरो चलाइदिएका छन्।

प्रकाशित: १४ वैशाख २०७५ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App