coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘समृद्ध बागलुङ’ बनाउने संकल्प

बागलुङ -  संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बागलुङलाई समृद्ध बनाउने संकल्प गरेका छन्।

जिल्ला समन्वय समितिले बिहीबार गरेको जिल्लाको विकाससम्बन्धी बहसमा त्यस्तो साझा अठोट लिइएको हो । बजेट, कार्यक्रम ल्याउनेदेखि नीति बनाउने तहमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनप्रतिनिधिबाट आएको छ। जिल्लाबाट संघ र प्रदेशसभामा मात्रै १५ जना जनप्रतिनिधि छन् ।

स्थानीय तहलाई सशक्त तुल्याउँदै प्रदेश र संघमा जिल्लाका मुद्दा सम्बोधनमा कुनै कमी आउन नदिने बताइएको छ। जिल्लाको क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले पूर्वाधार विकासमा जोड दिने बताए।

चालू अवस्थाका आयोजना समयमै पूरा गर्ने र नयाँ योजना पार्नेतिर पहल अगाडि बढाइएको उनको भनाइ छ। “बागलुङको समृद्धि हाम्रो एकमात्र लक्ष्य हो”, उनले भने, “जिल्लाको विकासमा हामी सासंदहरुको सामूहिक पहल अघि बढेको छ।”

प्रतिनिधिसभाका अर्का सदस्य सूर्य पाठकले प्रदेश र स्थानीय तहमै बढी अधिकार आएकाले संघको भूमिका बढी समन्वयात्मक हुने बताए। “प्रदेश र स्थानीय तहतिरै बढी अधिकार आएको छ”, उनले भने, “हामीले त्यही भूमिका बढाउनुपर्छ।”जिल्लाको समग्र विकासको खाका र कार्ययोजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले जिल्लाको मागलाई सशक्त रुपमा केन्द्रमा उठाउने प्रतिबद्धता व्यक्त गरे।

प्रदेशसभा सदस्य कोपिला बोहोराले जिल्लाको विकासका लागि दृढ भएर लाग्ने बताए । “कुन उपायले हुन्छ, जिल्लाको विकासमा लागी पर्नेछु”, उनले भने।संघ र प्रदेशसभाका सदस्यहरुले पूर्वाधार विकासमा बढी जोड दिएका थिए। सडक, विद्युत्, खानेपानी, सिँचाइलगायतका पूर्वाधार विकासका क्षेत्रमा लगानी बढाउनुपर्ने आवाज उठेको छ।

स्थानीय तहका प्रमुख, उपप्रमुखले पनि पूर्वाधार विकासमै जोड दिएका थिए। अन्तरजिल्ला र प्रदेशसमेत जोड्ने सडक केन्द्रीय आयोजनामा समेट्नुपर्ने उनीहरुको माग छ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरले विकासको खाका बनाउँदा सम्भावना र आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताए । उनले एकीकृत विकासको अवधारणाबाट कृषि, पर्यटन, जलविद्युत् र अन्य पूर्वाधार विकासका क्षेत्रमा काम गर्नुपर्ने सुझाव राखे।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्यमा पनि जिल्ला पछाडि परेको उल्लेख गरे।बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले विकासमा सबै पक्षले एक नीति अपनाउनुपर्ने विचार राखे । उनले सबै दलका चुनावी घोषणापत्रलाई एकीकृत गरी विकासमा जुट्नुपर्ने बताए।

जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले विकासका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे। उनले विकासका सम्भावना पहिल्याएर केन्द्रदेखि स्थानीय तहको बजेट, कार्यक्रमलाई केन्द्रित गर्नुपर्ने बताए।

समितिले केन्द्र र प्रदेशमा माग गर्नुपर्ने विकास आयोजना किटानसमेत गरेको छ । सडक, विद्युत्, पुल, पर्यटन, शिक्षा, कृषि, खानेपानी, स्वास्थ्य, सिँचाइ, उद्योग, व्यापार क्षेत्रलाई जोड दिइएको छ।रासस

 

प्रकाशित: १४ वैशाख २०७५ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App