७ वैशाख २०८१ शुक्रबार
समाज

अरुण नदीमा पक्की पुल नहुँदा समस्या

सडकले जोडीएको झोलुङगे पुल। तस्बिरः मेघराज तामाङ/नागरिक

हेलुवाबेसी – संखुवासभाबाट बग्ने सबैभन्दा ठूलो अरुण नदीमा पक्की पुल नहुँदा सर्वसाधरणले सास्ती भोग्दै आएका छन्। संखुवासभाको हेलुवाबेसी र भोजपुरको बम्लिङटारको सिमानाबाट बग्ने अरुणमा पक्की पुल नहुँदा समस्या भएको हो। उक्त स्थानमा झोलुङगे पुलको सहायतामा मानिसहरू आवत जावत गर्छन्।

तर सदरमुकाम खाँदबारीबाट ढुवानी गरिएका सामान तार्न र भोजपुरबाट ल्याइएका सामानहरू भरिया र खच्चडको सहायतामा तार्नुको विकल्प छैन। ढुवानी गरिएका सामान पुल वारीपारी गर्न भरियाहरूलाई महंगो मूल्य चुकाउनु त परेको छ नै मनपरी भाडाले ढाड सेकेको बुम्लिङटारका होटल व्यवसायी तारा थापा बताउँछिन्। उनी भन्छिन्, पक्की पुल हुने हो भने आँगनमा सामान आइपुग्ने थियो तर पुल तार्न मात्र खाँदबारी देखि हेलुवाबेसीसम्मको डबल भाडा तिर्नुपर्ने बाध्यता छ। उनले थपिन त्यो पनि कहिले काँही भरिया नपाइने र खच्चड समेत नपाउँदा बाटैमा सामान अलपत्र पर्ने गरेको छ।

झोलुङगे पुलको वारी पारी सडक समेत जोडिएको छ। खाँदबारीबाट हेलुवाबेशीसम्म नियमित गाडी सञ्चालनमा छ भने बुम्लिङटार भोजपुरमा पनि गाडी सञ्चालनमा छ। तर पक्की पुल नहुँदा खाँदबारीबाट भोजपुर हिँडेका यात्रुहरू पुल तरेर बुम्लिङटारबाट अर्को गाडीको यात्रा गर्न बाध्य छन्। कहिँलेकाही हेलुवाबेशी पुगेका यात्रु बुम्लिङटारमा गाडी नपाउँदा अलपत्र पर्छन भने कहिले भोजपुरबाट आएकाहरू हेलुवाबेशीमा गाडी नहुँदा अलपत्र पर्छन्। त्यसो त संखुवासभा कै सिलिचोङ गाउँपालिकाका सर्वसाधरणहरू पनि साही पुलबाट हिड्नु पर्छ।

अरुण पारिका गाविस भनेर चिनिने साविक बाला, शिसुवा, ताम्कु, माङ्तेवा र याफुका सर्वसाधरणहरू सडक सञ्जालले जोडीए पनि पक्की पुल नहुँदा समस्या उस्तै नै छ। अध्ययनको क्रममा खाँदबारी बस्दै आएका शिसुवाका कल्पना राई घर जाँदा हेलुवाबेशीमा अलपत्र परेको बताउँछन्। खाँदबारीबाट ४ सय भाडा तिरेर हेलुवाबेशी त पुगिन्छ तर बुम्लिङटारमा गाडी नपाउँदा हेलुवाबेशीमा नै बस्नुपर्ने राईले बताए।

सर्वसाधरणहरूको समस्यालाई ध्यानमा राखी नदीमा पक्की पुल निर्माणको योजना समेत ल्याइएको छैन। पुल बनाउने कुरामा योजना नै नहुँदा अस्थायी विकल्पको रुपमा फेरी सञ्चालनमा ल्याउने प्रक्रिया भइरहेको साल्पा शिलिछो गाउँपालिका १ का वडाध्यक्ष गणेश बुढाथोकीले बताए। उनले भने फेरी ल्याउने प्रक्रिया सुरु भएकाले चाँडै समस्याको समाधान हुनेछ। फेरी सञ्चालनका लागि आफ्नो वडा र खाँदबारी नगरपालिका ११ का वडा अध्यक्षबीच छलफल भएको उनले बताए।

प्रकाशित: १४ वैशाख २०७५ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App