७ वैशाख २०८१ शुक्रबार
समाज

पढ्न जान थालेपछि सुन्तली जस्तै ठूलो मान्छे बन्छौ

बर्दिवास - ‘गे काजल, जल्दी तयार भक चल, आई तोरा स्कूलके जिम्मा लग्बैछी’ काजल, चाँडै तयार होउ, आज तिमीलाई स्कूलको जिम्मा लगाउँछु।

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ मनरवाको मुसहर जातिको बसोबास बाहुल्यताको दलित बस्तीकी फूलपति सदा बिहीबार छोरी काजलसँग भन्दै थिए–, “आब पढ जेबे नई, त तहुँसब सुन्तली सन् बड्का आद्मी बन्बे’ अब पढ्न जान थालेपछि तिमीहरु पनि सुन्तली हास्यकलाकार कुञ्जना घिमिरे जस्तै ठूलो मान्छे बन्छौ।

झण्डै १५० घर मुसहर रहेका मनरवामा बिहीबार फूलपतिमात्र नभएर नैनी, अमेरिका, शिवरङियाँ र पारोवतिसहितका त्यस बस्तीका अरु आमा पनि आफ्ना सन्तानलाई चाँडै स्कूल पुर्‍याएर नाम लेखाएपछि छोराछोरी ठूलो मान्छे बन्ने सपना सँगाल्दै नानीहरुलाई तयार पार्न ब्यस्त देखिन्थे।

सधैँजसो उज्यालो हुनासाथ छोराछोरीका हातमा खुर्पी, कोदालो दिएर मुसा बस्ने दुला खोज्न पठाउने आमा नानीलाई स्कूल जाने तयारीमा लगाएको देखिँदा मुसहर बस्तीमा नयाँ कुरा देखिएको छिमेकी बस्तीका सर्वसाधारण टिप्पणी गरिरहेका देखिन्थे।

“मान्छु हजुर, नानी पढेपछि ठूलो मान्छे हुन्छ” नेपालीमै कुरा गर्न जान्ने भइसकेकी चार छोराछोरीकी आमा शिवरङियाले बिहीबार आफ्नै आँगनमा पुगेका सञ्चारकर्मीसँग भने, “आबो अब दुःखसुख खेपेर पनि छोराछोरीको पढाइ भने छुटाउन्न।”

विसं २०६८ मा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई बास बसेका विशुन सदाको घरकी बुहारी हुन् शिवरङिया । “पछि हाम्रा लागि के गरे त्यो त था भएन” शिवरङियाले भने–, “तर, नानीहरु पढे गरिबी हट्ने र भोकभोकै हुने स्थिति चैँ नरहने उनले बताएका मेरो कानमा अझै ताजा छ।”

बस्ती नजिकै रहेको नेपाल राष्ट्रिय जनजाति आधारभूत विद्यालयमा बिहीबार मुसहर जातिका विद्यालय जाने उमेरका सबै बालबालिकाको सामूहिक भर्ना गराएर अभिभावकत्व लिन हास्यकलाकार कुञ्जना घिमिरे पुगेपछि मुसहर बस्तीभित्र कुनै खास चाड आएको फूर्ति देखिन्थ्यो । बस्तीका मुसहरले यो रमाइलो, चाडवाडमा साथ दिन निम्ता गरेका टाढाटाढाका आफन्त पनि बस्तीभित्र आएका थिए।

बस्ती अवलोकन गर्दैजाँदा एउटा पराले झुप्रोमा आमा नैनवति सदा आफ्ना चार छोराछोरीलाई वरिपरि राखेर रंगिन चित्र भएको पुस्तकको पाता पल्टाउँदै चित्रबारे नानीहरुसँग जिज्ञासा राखिरहेकी देखियो। मनरवाको आफ्ना जातिका नानीहरुको विद्यालय भर्ना अभियानमा सरिक हुन बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीबाट पुगेकी जितो सदालाई पनि अब चैँ त्यहाँका आफन्त शिक्षाप्रति जागरुक भएको विश्वास जागेछ। “यिनीहरु त राम्रै फेरिएछन्” जितोले भने–, “अब मनरवामा पनि बर्दिवासकै जस्तो स्कूल जाने थुप्रै मुसहर नानी हुने भएछन्।”

मुसहरले त्यसमा पनि घरका महिलाले बालबालिकाको विद्यालय भर्नाबारे चासो बढाएको देखेर भर्ना कार्यक्रममा सहभागी हुन पुगेकी प्रतिनिधिसभा सदस्य  दिलकुमारी साहलाई पनि अब चैँ बस्तीमा शिक्षाको प्रसार हुने आस जागेछ।

“म त यहीं छिमेकको फुलकाहाँ बस्तीकी हुँ, यो बस्तीमा धेरै पटक आइसकेकी छु” सांसद साहले भनिन्–, “मुसहर महिलाले छोराछोरी स्कूल पठाउन देखाएको चासोले अब चैँ सकारात्मक परिवर्तन हुने छाँट देखियो।” आफ्ना हकअधिकार, नागरिक सुविधा र विभिन्न निकायबाट पाउनु पर्ने सेवाबारे पूरै बेखबर रहने मुसहर बस्तीमा शिक्षाप्रति आएको चासोले आफू निकै उत्साहित बनेकी सांसद साहको थप भनाइ थियो। रासस

 

प्रकाशित: १४ वैशाख २०७५ ०५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App