coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

सवारी अस्तव्यस्त पार्ने योजना असफल

 सडकमा सवारीसाधन अस्तव्यस्त पार्ने योजनाअनुरूप यातायात व्यवसायीले घोषणा गरेको आन्दोलन असफल भएको छ।

सरकारले सिन्डिकेट खारेज गरेपछि आन्दोलन घोषणा गरेका यातायात व्यवसायीले बुधबार र बिहीबार सडकमा सवारी अस्तव्यस्त पार्ने आन्दोलन घोषणा गरेका थिए । तर, बुधबार र बिहीबार नै सडकमा सवारीसाधन पहिलेकै जस्तो सुचारु भए । कतै पनि अस्तव्यस्त अवस्था सिर्जना भएन।

यातायात समितिमार्फत सिन्डिकेट लाद्दै आएका व्यवसायीले समय सारणी अर्थात् तालिका लागू गर्दै आएका छन् । उनीहरूले बुधबार र बिहीबार भने यस्तो तालिका लागू नगरी यातायात अस्तव्यस्त पार्ने घोषणा गरेका थिए।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिले गरेको घोषणा प्रभावहीन देखिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवसायीको आन्दोलनले केही प्रभाव नपारेको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता मुकुन्द मरासिनीले यातायात व्यवसायीको ‘क्यु फ्री’ आन्दोलन निष्प्रभावी र प्रभावहीन देखिएको बताए।

‘यातायात व्यवसायीको पूर्वघोषित आन्दोलनलाई मध्यनजर गरेर बिहानैदेखि बसपार्कमा कडाइ गरेका थियौँ, कुनै पनि सवारी क्यु फ्रीमा हिँडेको भेटाएनौँ,’ उनले भने, ‘सधैँजस्तै बुधबार पनि सामान्य अवस्थामा सवारीसाधन गुडिरहेका छन्, यातायात व्यवसायीको आन्दोलनले केही फरक परेन।’

बिहानैदेखि आफूखुसी सवारी चलाउनेलाई सूक्ष्म ढंगले अध्ययन गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ । उनका अनुसार उपत्यकामा चल्ने सार्वजनिक यातायात सधैँजस्तै सामान्य अवस्थामा सञ्चालन भए । व्यवसायीले यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको विरोधमा आन्दोलन घोषणा गरेका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले पूर्वघोषित आन्दोलन अनुसार तालिका छाडेर सवारीसाधन सञ्चालनमा ल्याएको दाबी गरे । ‘यातायात व्यवसायी तालिका छाडेर आन्दोलनमा उत्रिएका छन्,’ उनले भने, ‘व्यवसायीले बिहानैदेखि समय सारणीअनुसार सवारीसाधन सञ्चालनमा ल्याएनन्, जसले यातायात नै अस्तव्यस्त बनायो।’

मरासिनी भने आन्दोलनको कुनै प्रभाव नपारेको दाबी गर्छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अत्यावश्क सेवा ऐनअन्तर्गत पर्ने कसैले पनि बन्द–हडताल गर्न नपाउने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । अब यातायात व्यवसायीले बन्द तथा हडताल गरे कानुनी कारबाही भोग्नुपर्नेछ।

 

प्रकाशित: १४ वैशाख २०७५ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App