७ वैशाख २०८१ शुक्रबार
कला

‘नेपाल ल्यान्ड अफ कन्ट्रास्ट’ सार्वजनिक

काठमाडौं – नेपालको विविधता झल्कने फोटोबुक ‘नेपाल ल्यान्ड अफ कन्ट्रास्ट २०१६’ सार्वजनिक भएको छ। फोटो पत्रकार क्लब नेपालले प्रकाशन गरेको पुस्तक बिहीबार राजधानीमा फूलकुमारी महतो मेमोरियल ट्रष्टका उपाध्यक्ष डा. वीरेन्द्र महतो, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, आइएमइ गु्रपका प्रबन्ध–निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमइ बैंकका प्रबन्ध निर्देशक जनकराज शर्मा पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र पिजे क्लबका अध्यक्ष विकास कार्कीले फोटोबुक सार्वजनिक गरे।

क्लबले ‘आइएमइ–ग्लोबल आइएमइ बैंक, नेपाल फोटो कन्टेस्ट २०७३’ मा गरेको फोटो प्रर्दशनीमा उत्कृष्ट भएका फोटोहरुको संग्रह फोटोबुकको रुपमा प्रकाशन गरेको हो। क्लबका अनुसार व्यावसायिक फोटो पत्रकार, पत्रकार र शौखिन फोटोग्राफरले प्रतियोगितामा सहभागिता जनाएका थिए। तीमध्ये उत्कृष्ट ७५ जनाको फोटोहरुलाई समावेश गरी क्लबले फोटोबुक प्रकाशन गरेको हो।

फोटोबुकमा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्युज, शिखर इन्स्योरेन्स नेपाल स्माइल, ग्लोबल मोडल स्पोर्टस र फोटो स्टोरी गरी सात विधामा छानिएका तस्बिर समावेश गरिएको छ। क्लबले नेपालको फोटोग्राफी तथा फोटो पत्रकारितालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म प्रवद्र्धन गर्दै पर्यटन र वास्तविक नेपाललाई चिनाउन फोटोबुक प्रकाशन गरिएको जनाएको छ।

कार्यक्रममा ट्रष्टका उपाध्यक्ष डा. महतोले फोटोबुकले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन विशेष भूमिका खेल्ने बताए। उनले फोटोबुक प्रकाशनमा सहयोगी भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गरे। ‘फोटोबुकमा नेपालको हिमाल, पहाड, तराई सबै क्षेत्रका प्राकृतिक परिदृश्यका साथै जीवनशैली झल्काउने तस्बिर छन्,’ उनले भने, ‘फोटोबुकले आपसमा समवन्य कायम राख्ने विश्वास ममा छ। नेपालको सभ्यता, संस्कृति झल्काउने यस किसिमको तस्बिरले नेपाल चिनाउन विदेशीलाई मात्रै नभई नेपालीका लागि समेत उपयोगी हुनेछ।’

पत्रकार महासंघका अध्यक्ष आचार्यले पत्रकारिता पेशा फोटोबिना अधुरो रहने बताए। उनले कठिन र जोखिमका बाबजुद पनि पेशामा कटिबद्ध भएर लाग्ने फोटो पत्रकारको सुरक्षा र स्वास्थ्यमा बिमा हुनुपर्नेमा जोड दिए।

क्लबका अध्यक्ष कार्कीले फोटोग्राफर र फोटो पत्रकारबीच भिन्नता रहेको बताउँदै व्यवसायिक फोटो पत्रकारितामा जोड दिनु अहिलेको आवश्यकता रहेको औंल्याए । ‘पेशागत मान्यता र व्यवसायिकता निभाउन क्लब कटिबद्ध छ,’ उनले भने, ‘क्लबमा आबद्ध सदस्यहरूको प्रतिव्यक्ति ८ लाख बराबरको स्वास्थ्य बिमा, दुर्घटना बिमा र क्यामरा बिमा गरिसकेका छौं। यसबाहेक क्लबमा आबद्ध सबै फोटोपत्रकार बिमित भइसकेका छन्।’

प्रकाशित: १४ वैशाख २०७५ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App