काठमाडौं – प्राध्यापक डा. ढाकाराम सापकोटाले पूर्व प्रधानमन्त्री तथा कम्युनिष्ट नेता मनमोहन अधिकारीको जीवन संघर्ष समेटिएको पुस्तक ‘मनमोहन अधिकारीको नेपाली राजनीतिमा ६ दशक’ बजारमा ल्याएका छन्। पुस्तकको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा लोकार्पण गरे।
प्रधानमन्त्री ओलीले पुस्तक अनुसन्धानमुलक रहेको भन्दै अधिकारीको बाल्यकालदेखि हालसम्मको पृष्ठभूमि बताउने उल्लेख गरे। ‘निरंकुश राणाको विरुद्धमात्र हैन। पञ्चायतकालमा पनि अधिकारी लडे,’ ओलीले भने, ‘उनी भारतको स्वतन्त्रता आन्दोलनका साक्षी पनि हुन्।’
नेकपा(एमाले)का संस्थापक अध्यक्षसमेत रहेका मनमोहनको १९ औं स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अधिकारीका नाममा निजी र सामुदायिक दुवैखालका संस्था खोलेर उनीप्रति सम्मान गरिएको बताए।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिकारीलाई पदमा भन्दा पनि कर्ममा विश्वास गर्ने नेताका रुपमा स्मरण गरे। अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलन अहिले नयाँ उचाईमा पुगेको बताए। एमाले उपाध्यक्ष वामदेव गौतमले अधिकारी प्रधानमन्त्री हुँदा कार्यकर्ता भेट्नभन्दा पनि काममा समय बिताएको जनाए।
लेखक सापकोटाले यसअघि नै ‘मनमोहन अधिकारीको परिचय’ नामक पुस्तक लेखेका थिए। उनले अधिकारीकै विषयमा विद्यावारिधी पुरा गरेका हुन्। विद्यावारिधी गर्दाको अनुसन्धान र अध्ययनलाई सदुपयोग गरेर पुस्तकका रुपमा पाठकमाझ ल्याएको सापकोटाले बताए। आफ्नो पुस्तकले मनमोहनमाथि भएको हरेक जिज्ञासा पुरा गर्ने दाबी गरे। मण्डप बुक्सले बजारमा ल्याएको पुस्तकको पाठक मूल्य ४ सय ९९ रुपैयाँ छ।
प्रकाशित: १४ वैशाख २०७५ ०२:२१ शुक्रबार