coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

माइभ्याली गोल्डकप  : थ्री स्टार र एफिएफको भेट पक्का

इलाम– थ्रिस्टार क्लबले सदरमुकामको ठूलो टुँडिखेलमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमीफाइनलमा विभागीय टिम सशस्त्र प्रहरी (एपिएफ क्लब) सँगको भेट पक्का गरेको छ। बिहीबारको अन्तिम क्वार्टर फाइनलमा थ्रिस्टारले नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरेसँगै चौथो संस्करणको माइभ्याली गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। 

निर्धारित समयमा दुवै टिमबीच १–१ गोलको बराबरी भएपछि थपिएको १५ मिनेटमा पनि कतैबाट गोल हुन सकेन। टाइब्रेकरमा पुलिसका बलरक्षकले २ र थ्रिस्टारका बलरक्षकले १ गोल बचाउ गरेपछि खेलको निर्णय लिइएको थियो। निर्धारित समयको २६औं मिनेटमा पुलिसका रेजिन सुब्बाले गोल गरे। अन्डर–१९ का रेजिनले निरकुमार लामाले दिएको पासको सदुपयोग गर्दै पेनाल्टी एसियानजिको सुन्दर मौकालाई अवसरमा बदले।

पहिलो हाफमा १ गोलले पछि परेको थ्रिस्टारका खेलाडी रजिन धिमालले दोस्रो हाफको २९औं मिनेटमा गोल गरे। डि–एरियानजिकैबाट रेजिनले प्रहार गरेको फ्रिकिक सोझै विपक्षीको गोल पोस्टमा जाली चुम्न पुगेको थियो। त्यसपछि निर्धारित र अतिरिक्त समयमा दुवैतर्फबाट कुनै गोल नभएपछि टाइब्रेकर धकेलिएको हो। टाइब्रेकरमा थ्रिस्टारका विमल घर्तीमगर, रजिन धिमाल, रुपेश केसी र निराजन खड्काले गोल गरे। थ्रिस्टारका सुनील बलको प्रहार विपक्षी पुलिसका बलरक्षक रोशन खड्काले बचाउ गरे। 

पुसिलका तेज तामाङ, रेजिन सुब्बा र दिनेश राजवंशीको प्रहार मात्रै गोलमा परिणत भयो। पुलिसका कप्तान हेम तामाङ र सुमन लामाको प्रहार थ्रिस्टारका बलरक्षक एलन नेउपानेले जोगाए। एलन नै खेलको म्यान अफ् दि म्याच घोषित हुँदै नगद १० हजार र चाँदीको मेडलको हकदार बने। 

खेलमा दुवै टिमका खेलाडीले राम्रा अवसर चुकाएपनि पुलिसका खेलाडीले अधिकतर मौका गुमाए। पुलिसका अभिषेक रिजालले विपक्षीको डि–एसियाभित्रै दिएको पास सुमन लामाले सदुपयोग गर्न सकेनन्। पुलिसकै रेजिन सुब्बाले निरकुमार राईलाई दिएको सहज पास उनले गोलमा परिणत गर्न सकेनन्। रेजिनले दिएको पास तेज तामाङले पनि सदुपयोग गरेनन्। थ्रिस्टारका रजिन धिमालले निकै राम्रा मौका चुकाए। 

पुलिसका प्रशिक्षक अनन्त नेउपानेले रेफ्रीको गलत निर्णयले आफ्नो टिमले हार बेहोर्नुपरेको आरोप लगाए। ‘हाम्रा खेलाडीले शतप्रतिशत खेलेका हुन्, निर्णायकले विपक्षीको पोस्टमा लागेको गोल पनि क्यान्सिल गरिदिए,’ उनले भने, ‘म यो खेलसँग ढुक्क छैन।’ खेलमा फोर्थ अफिसियलको पनि कमजोरी देखिएको उनको आरोप छ। मुख्य रेफ्री नवीन्द्र महर्जनले पुलिसका प्रशिक्षक नेउपानेलाई रेफ्रीमाथि अभद्र व्यवहार गरेको भन्दै प्लेयर बक्सबाट हटाएका थिए। ‘सहायक रेफ्रीको ज्याकेटमा समातेर तानेपछि’ नेउपानेलाई प्लेयर बक्सबाट हटाइएको थियो। तर, नेउपानेले आफूले रेफ्रीमाथि अभद्र व्यवहार नगरेको र ‘सामान्य ज्याकेट तानेर कुरा गरेको’ पत्रकारहरूलाई जवाफ दिए। 

थ्रिस्टारका टिम म्यानेजर मुकेश नकर्मीले आफ्ना खेलाडीले दर्शकको अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको बताए। ‘हामीले जित्यौं तर टिमले खेलमा सुधार गर्नुपर्ने निकै पक्ष छन्,’ उनले भने, ‘आउँदा गेममा सुधारेर आउँछौं।’ उनले आफ्ना स्टार खेलाडीहरू मैदानमा चम्किन नसकेको बताए। ‘यो मैदान त पहिलाभन्दा निकै राम्रो भएछ तर चौडा अलि कम भएर हाम्रा ठूलो ग्राउन्डमा खेल्ने खेलाडीलाई अलि असहज भएको छ,’ उनले भने, ‘आउँदो गेम राम्रो हुनेछ।’ 

पुलिसले प्रि–क्वार्टरमा भारत कोलकाताको दुर्गापुर स्टिल फुटबल क्लबलाई ३–१ गोलान्तरले पराजित गरेको थियो। थ्रिस्टार भने बाई पाएर सोझै क्वार्टरमा छिरेको हो। माइभ्यालीको पहिलो संस्करणको फाइनलमा थ्रिस्टार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग टाइब्रेकरमा पराजित भएको थियो भने पहिलो संस्करणकै सेमीमा थ्रिस्टारले पुलिस क्लबलाई टाइब्रेकरमा हराएको थियो। तेस्रो संस्करणको सेमिफाइनलमा आर्मीले पुलिसलाई २–० गोलको अन्तरले हराएको थियो। इलामकै ठूलो टुँडिखेलमा २०५४ र ०५५ सालमा भएका भूकम्प स्मृति कपको दुवै उपाधिमा पुलिसले कब्जा जमाएको थियो। 

गत सिजनमा थ्रिस्टार र पुलिसको तीन भेट भएकामध्ये पुलिसले २ र थ्रिस्टारले एउटामा बाजी मारेका थिए। पुलिसले पोखराको आहारारा गोल्डकपमा १–० गोल र धरानको बुढासुब्बा गोल्डकपमा पनि १–० गोलकै अन्तरले थ्रिस्टारलाई हराएको थियो। बुटबलको तिलोत्तमा गोल्डकपमा भने थ्रिस्टारले २–० गोलको अन्तरले पुलिसलाई हराएको थियो। बिहीबारको बिजेता थ्रिस्टारले आउँदो १५ गते एफिएफ क्लबसँग दोस्रो सेमीफाइनल खेल्नेछ। विभागीय टिम त्रिभुवन आर्मी क्लब र मनाङमर्स्याङ्दी क्लबबीच शुक्रबार पहिलो सेमिफाइनल खेल हुनेछ। 

प्रकाशित: १३ वैशाख २०७५ १५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App