४ वैशाख २०८१ मंगलबार
राजनीति

गगनको प्रश्न– ‘प्रधानमन्त्रीज्यू समृद्धि र विकास कसका लागि ?’

खोटाङ– नेपाली कांग्रेस नेता गगनकुमार थापाले समृद्धि र विकास सबैभन्दा तल्ला वर्गका जनताका लागि लक्षित हुनुपर्ने बताएका छन्। 

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बिहीबार डाँडागाउँमा सुरु गरेको ३ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर एबं विषयगत कार्यालयको घुम्ती शिविर उद्घाटन गर्दै नेता थापाले विकास र समृद्धि सबैभन्दा बिलोमा रहेका, सबैभन्दा कमजोर मान्छेका लागि हुनुपर्नेमा जोड दिए। 

‘प्रधानमन्त्री ज्यूले नेपालको एउटै मात्र एजेण्डा समृद्धि मात्र छ भनिरहनु भएको छ। प्रधानमन्त्रीको एजेण्डा हाम्रो साझा एजेण्डा हो,’ पूर्व स्वास्थ्यमन्त्री थापाले भने, ‘तर यो भन्दै गर्दा एउटा बिषयमा भने छलफल गर्न आवश्यक छ। समृद्धि र विकास कसका लागि? समृद्धि र विकासको केन्द्रमा को रहन्छ? समृद्धि र विकासको केन्द्रमा मान्छे रहन्छ। बिकास मान्छेका लागि हो। त्यो पनि सबैभन्दा बिलोमा बसेको मान्छेका लागि हो। सबैभन्दा कमजोर मान्छेका लागि हो। त्यहाँबाट हाम्रो विकासको यात्रा सुरु गर्नुपर्छ। हामी सबै यो कुरामा स्पष्ट हुन जरुरी छ।’ 

देशले संविधान, स्थानीय सरकार र स्थिर सरकार पाइसकेको उल्लेख गर्दै थापाले विकासको पहलो एजेण्डा शिक्षा हुनुपर्ने उल्लेख गरेका छन्। राज्यका उपलब्ध अवसरहरुमा सहभागिता हुने अवसरको पहिलो आधार शिक्षा भएकाले सरकारले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने थापाले बताए। ‘पछि परेका मान्छेको चाहना, आवश्यकता धेरै छन्। तर, सार खिचियो भने उसलाई अरु मान्छेलाईजस्तै सबै ठाउँमा बराबर हक र अधिकार चाहिएको छ,’ हेलिकोप्टरबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा ओर्लिएका थापाले भने, ‘त्यो हकको पहिलो आधार भनेको शिक्षा हो। हाम्रो विकासको पहिलो एजेण्डा पहिलो शिक्षा हुनुपर्छ।’ 

सबैले बराबर र गुणस्तरीय शिक्षा लिन पाउनुपर्नेमा जोड दिँदै थापाले सबै आमाले पैसा भए पनि नभए पनि बालबच्चाले कक्षा १२ सम्म पढ्न पाउँछन् भन्ने वाताबरण निर्माण गर्नुपर्ने बताए। थापाले शिक्षासँगै जोडिने भएकाले स्वास्थ्य त्यसपछिको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। १० वर्षभित्र रेल कुदाउने, एयरपोर्ट बनाउने लगायतका महत्वकांक्षी लक्ष्य राख्दा ३० प्रतिशत बालबालिका कुपोषित छन् भन्नेमा ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए। 

प्रकाशित: १३ वैशाख २०७५ १४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App