७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘एमाले-माओवादीका नेता कार्यकर्ताबीच विश्वासको वातावरण हुनुपर्छ’

रौतहट– वाम गठबन्धनका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी पार्टी चाँडै एकीकरण हुने ठोकुवा गरेका छन्। मुलुकमा आर्थिक समृद्धि, सुशासन, स्थिरता र विकास पथमा अघि बढाउने वाम गठबन्धनमा आबद्ध दुवै दल एक हुन जरुरी रहेकोले अब चाँडै एकता हुने विश्वास व्यक्त गरे।

विहीवार रौतहटको चन्द्रपुर २ स्थित जुडिवेला टोलमा सडक शिलान्यास गर्दै अध्यक्ष दाहालले चाँडै नै एमाले माओवादीबीच पार्टीगत एकता भएर जनआकाँक्षा अनुरुप मुलुकलाई आर्थिक समुन्नती एवं सुशासनको मार्गबाट अगाडी बढाएर विकसित मुलुकको रुपमा उभ्याउने लक्ष्यका साथसाथै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले आन्दोलन, क्रान्ति र परिवर्तन नै अबको एजेन्डा नभएर सुशासन, स्थिरता र विकास रहेको बताए। 

प्रदेश नम्वर २ को चन्द्रपुर र सिमरामा सेवा केन्द्रको चाडै स्थापना गराएर जनताहरुलाई सेवा सुविधाको विस्तार गराउनुका साथै यो प्रदेशलाई आर्थिक समृद्धि बनाउनका लागि रौतहटमा औद्योगिक क्षेत्रको स्थापना लागि सरकारसंग पहल गर्ने उनले प्रतिबद्धता जनाए। 

कार्यक्रममा पूर्व सहरी विकासमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले विकास निर्माणको कार्यमा रौतहटलाई मुलुकको अग्र स्थानमा उभ्याउने आफनो लक्ष्य रहेको बताए। 

दाहालले विहान रौतहटको चन्द्रपुरमा आयोजित कार्यकर्ता भेलामा समानता, सम्मान र न्यायोजित ढंगले पार्टी एकता हुने जिल्लास्तरीय नेता एवं कार्यकर्तालाई विश्वस्त गराए। पार्टी एकता हुने अन्तिम कसरत चलिरहेको बेला उनले तल्लो तहमा एमाले माओबादीका नेता कार्यकर्ताबीचको सम्बन्ध सुधार गरेर विश्वासको वातावरण विस्तार गर्नुपर्नेमा उनले जोड दिए। पार्टीका नेता कार्यकर्तालाई कुनैपनि हालतमा पार्टी एकता भएर छाड्ने आश्वस्त पारे।

नेता एवं कार्यकर्ता भेटघाटको क्रममा माओबादीका पूर्व सांसद देबेन्द्र पटेल, अशोक जैसवाल लगायतका जिल्ला तहका नेता कार्यकतालाई हसोत्साहित नहुन आग्रह गर्दै उनले तपाईहरुलाई सम्मानजनक स्थान पाउने बताउँदै न्यायोचित र सम्मानजकन किसिमले पार्टी एकता हुने बताए। पार्टीको सिद्धान्त अनुसार नै एकता हुनेमा जोड दिए। असमानता नमिलाईकन हतारमा एकता गर्दा पछि बिभिन्न खाले झमेला एवं संकट उत्पन्न हुने हुँदा हतारको काम नगरी आपसी समझदारीमा कार्यकर्ताको भावना अनुसार चाडै एकता टुंग्याउने जानकारी गराए। 

प्रकाशित: १३ वैशाख २०७५ १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App