५ वैशाख २०८१ बुधबार
समाज

'मनमोहन अधिकारी कुष्ठरोगी थिए'

मनमोहन अधिकारी कहिलेदेखि विरामी थिए भन्ने आधिकारीक तिथिमिति पाइदैन । तथापि उनी लामो समयदेखि बिरामी थिए । अधिकारीले आफूलाई लागेको रोग लुकाउने प्रयास गरेको देखिन्छ । बाहिरी रूपमा रोगलाई लुकाए पनि त्यसले स्वयम्लाई पार्ने प्रभावलाई रोक्न सक्ने स्थिति थिएन । उनी बेला बेलामा उपचारका लागि भारत जाने गरेका भए पनि रोगले क्रमशः कमजोर बनाउदै लगेको थियो । त्यसले गर्दा पार्टीमा छिटो छरितो रुपमा काम गर्न सकेका थिएनन् । वि.सं.२०१२ सालको हिउँदमा मनमोहन अधिकारीले पार्टीसमक्ष आफ्ना कमजोरीहरू औँल्याउँदै आपूmमा छरितोपना नभएको र समस्यालाई मिहिन तरिकाले समाधान गर्न नसकेको साथै शारीरिक कमजोरीसमेत रहेको जानकारी दिएका थिए । मनमोहन अधिकारीलाई लागेको रोगका सम्बन्धमा उनका समकालीन ध.च.गोतामेले नवयुग मासिक (२०६६ मंसिर अंकमा) यसरी उल्लेख गरेका छन् । 

"एकदिन हामी दुवै वार्दलीमा बसेर घाम ताप्दै थियौं । म कट्टुमात्र लाएर सर्बाङ्ग नाङ्गो जीउमा   थिएँ । मनमोहन भने कमिज छोडाउन मानेका थिएनन् । मलाई थाहा छ तिमीलाई कुष्ठरोग छ तर तिमी इलाज गराएर आएपछि त्यो धेरै मथ्थर भइसकेको छ । डाक्टरहरूको भनाई मैले सुनिसकेको छु त्यो कुनै सरूवा रोग होइन । यति भनेर मनमोहनको कमिज नखोले पनि मास्तिर पल्टाइदिँए नभन्दै राताराता साना ठूला डावरहरू थिए तर ती सुक्न लागेका घाउजस्तै ओवाइसकेका थिए,। हेर्दै केही दिनमा जाने क्रममा छन् जस्तो लाग्दथ्यो । आङ्को चक्ला उनले देखेका थिएनन् र मैले उनलाई उत्साहपूर्ण कुरा सुनाइदिँदा उनी धेरै आश्वस्त भएका थिए । (पृ. ५१)" 

मनमोहन अधिकारीले लुकाई रहेको रोगका बारेमा सँगै रहेका साथीले त्यति कुरा भनी सकेपछि उनलाई पनि साँचो कुरा बताउन परिस्थितिले वाध्य बनाएको थियो । गोतामे अगाडि लेख्छन्ः
"यो रोगै यस्तो हो । नाम सुन्नासाथ मानिस जिव्रो काढ्छन । पन्छिएर बस्न खोज्छन् । तिम्रो पनि के धारणा होला भनेर लुकाउन खोजेँ किनभने महिनौँ साथै वस्नुछ । तिमी भएर पो आयांै, मलाई स्नेह गरेकाले अरू कोही भए आउन मान्दैन थियौ । मनमोहनले स्वयम् सिङ्गो जीउ परीक्षण मबाट गर्न लगाए । पिठ्युँका केही चकताबाहेक कही कुनै रोगको लक्षण थिएन । (ऐ पृ. ५१)"
उपर्युक्त भनाइबाट त्यतिबेलाको समाजले नकारात्मक रूपमा लिने रोग लागेको हुँदा मनमोहन अधिकारीले रोग लुकाएको प्रष्ट देखिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा भाग लिन जाने क्रममा उनले कलकत्तामा उपचार गराउदाका डाक्टरी कागजपत्रहरू साथैमा लगेका थिए । पार्टी महाधिवेशनको उद्घाटन समारोह सकिए लगतै २४ सै घण्टा नेपाली प्रतिनिधिसँग रहने चिनियाँ कम्युनिस्ट पार्टीको हेर्डक्बाटरबाट खटिएर आएका व्यक्तिहरूलाई ती रीर्पोटहरू दिएलगतै उनको उपचार सुरु भएको थियो । त्यसपछि महाधिवेशनका अन्य कार्यक्रममा भाग लिन पाएनन् । महाधिवेशन सकिएपछि उपर्युक्त प्रतिनिधि मण्डलका दुई सदस्यहरू शंभुराम श्रेष्ठ र कमर शाह नेपाल फर्किए भने मनमोहन अधिकारी स्वास्थोपचारका निम्ति चीनमा नै बस्नु प¥यो ।

मनमोहन अधिकारी करिव तीन वर्ष र एक महिना (वि.सं.२०१३ असोजदेखि वि.सं.२०१६ कार्तिकसम्म) चीनमा बसेर कुष्ठरोगको उपचार गराएका थिए ।

बालचन्द्र्र मिश्रले चर्म रोगको उपचारका लागि चीनमा थिए भनि उल्लेख गरेका छन् । शंभुराम श्रेष्ठ उनको उपचार गर्ने लेप्रीसी विशेषज्ञ डाक्टर रहेका थिए भनी उल्लेख गरेका छन् । भरतमोहन अधिकारीले मनमोहन अधिकारी चर्मरोगबाट ग्रस्त भएका थिए भनी उल्लेख गरेका छन् । ध.च.गोतामेले कुष्ठरोग भनी उल्लेख गरेका छन् । कृष्णप्रसाद भट्टराइले विराटनगरका डाक्टरहरूले कुष्ठ रोग भएको शङ्का गरेकाले कलकत्ता जाँच गराउन भनी हिँडेका थिए भनि उल्लेख गरेका छन् । यस सम्बन्धमा मनमोहन अधिकारीको (वि.सं.२०५७ साउन ४) भनाई यस्तो रहेको पाइन्छ:

 "मैले फोक्सोको उपचार गराउनु पर्ने थियो । मेरो नशाहरूले पनि राम्ररी काम गर्न सकिरहेका थिएनन् । अझ हात र गोडाका नशाहरू खुम्चिएका थिए । मलाई निकै समस्या थियो । उनीहरूले (चिनियाँँहरू) मेरो स्वास्थ्य समस्याप्रति गम्भीर चासो देखाए । यदि तपाई केही समय यही बसेर उपचार गराउन चाहनुहुन्छ भने हामी उपचारको व्यवस्था मिलाउने छौं’ भनेपछि ६–८ महिना वा वर्षदिनसम्म चीनमा बस्दा के पो विग्रिहाल्ला र ? भन्ने ठानेर स्वास्थ्योपचारको निम्ति त्यहाँ बस्ने निर्णयमा पुगें । चीनको दक्षिणी भागमा रहेको ठूलो शहर क्यान्टन, नजिकै रहेको सैनिक अस्पतालमा राखेर मेरो उपचार गर्ने व्यवस्था मिलाइएको थियो । मलाई उनीहरूले नेपाल कम्युनिस्ट पार्टीको महासचिवको सम्मानकासाथ उपचार गराएका थिए । कतिपय औषधीहरू चीनमा उपलब्ध नभए हङकङ र अन्य ठाउँबाट ल्याएर भए पनि उपचार गरेका थिए ।"

उपर्युक्त भनाइबाट पनि के रोग लागेको थियो भन्ने कुरा प्रस्ट छैन । तर उनलाई लागेको रोगको उपचार चीनमा भएको र त्यो पनि नेकपाको नेताको हैसियतमा गराइएको कुरा मात्र जानकारी पाउन सकिन्छ । मनमोहन अधिकारीकासँगै चीन जानेहरूमध्येका शंभुराम श्रेष्ठले अधिकारीको स्वास्थ्य स्थितिका बारेमा यसरी उल्लेख गरेको पाइन्छ:
 "हामीहरू पेकिङ्मा रहुन्जेल मनमोहनलाई अन्त कही लगिएन पेकिङ् अस्पतालमै राखिछाडियो । हामीहरू स्वदेश लागेपछि उनलाई दक्षिणी चीनको क्वाङ्तुङ् प्रान्तको एउटा गाउँमा छुट्टै र सिङ्गो घरमा लगेर अरू उपाचारको लागि राखियो । जुन घरमा उनको उपचार गर्ने लेप्रोसि बिशेषज्ञ डाक्टर सुरक्षा फोर्सका जवानहरू र खाना सामानहरू लगायत पूरै स्टाफ चौविसै घण्टा रहने व्यवस्थासमेत गरिएको थियो । तीनवर्षसम्मको इन्टेसिभ उपचारपछि मात्र उनी पूर्णरूपले निको भएका थिए ।" 

मनमोहन अधिकारीले जस्तै शंभुराम श्रेष्ठले पनि उनको स्वास्थ्य अवस्था कमजोर रहेको र चौवीसैं घण्टा उपचार गर्नु परेको कुरा उल्लेख गरे पनि रोग के थियो भन्ने प्रस्ट पारेको देखिदैन ।

तत्कालीन समयमा पापी, अधर्मी जस्ता मानिसलाई मात्र कुष्ट रोग लाग्छ भन्ने सामाजिक मान्यता रहेको र त्यस्तो रोग लाग्ने मानिसलाई समाजले तिरस्कार गर्ने गर्दथ्यो । त्यसैले मनमोहन अधिकारीलाई लागेको रोग लुकाउने अभिप्रायका साथ फरकफरक धारणा व्यक्त गर्ने गरिएको पाइए तापनि उनलाई कुष्ठ रोग लागेको देखिन्छ । त्यतिबेला नेपालमा कुष्ठरोग लागेकालाई उपचार गराउने वातावरण नै थिएन । मनमोहन अधिकारी शिक्षित, राजनीतिज्ञ र भारतमा बेलावखत आउजाउ गरिरहने भएको हुँदा सुरुमा भारतमा उपचार गराएका र पछि चीन जाने अवसर पाएका बेला त्यही बसेर उपचार गराई स्वास्थ्य लाभ गरेका थिए ।

मनमोहन अधिकारी उपचारकै क्रममा चीनमा रहेका बेला वि.सं.२०१४ साल जेठ १५–२५ गते नेकपाको दोस्रो महाधिवेशन काठमाडौं स्थित फोहोरा दरबारमा सम्पन्न भएको थियो । जुन अधिवेशनबाट केशरजंग रायमाझी महासचिवमा चुनिए । पुष्पलाल लगायतका केही नेताहरूले दोस्रो महाधिवेशनबाट पारित भएका नीतिहरूको कार्यान्वयनमा जोड दिए तर नेतृत्व आफ्नै तरिकाले अघि बढ्दै थियो ।

मनमोहन अधिकारीले अस्पतालको शैयाबाट २२ पृष्ठ लामो चिठी लेखेर पठाएका थिए । त्यो पत्र महाधिवेशनमा पढेर सुनाउने कि नसुनाउने भन्ने विषयमा केही समय छलफल भयो । अन्ततः सुनाउनु उपयुक्त हुने ठहर भएपछि मञ्चबाट पढेर सुनाइयो ।
पत्रमा उनले अहिले पनि दरवारिया षडयन्त्रबाट नै प्रमुख खतरा छ भनेर उल्लेख गरेका थिए । त्यो पत्रले हलको वातावरण तताइ दिएको थियो । ... उपचारका क्रममा रहँदा पनि नेकपाले आफ्नो मूलबाटो छोड्दै गएको कुराबाट चिन्तित हुँदै पार्टीलाई सही मार्गमा अगाडि बढ्न सुझाव दिएको देखिन्छ । कार्यवहाक महासचिवका नाताले केशरजंग रायमाझीले जुन खालको गतिविधि गरेका थिए त्यसबाट मनमोहन असन्तुष्ट थिए । त्यो बेला पार्टी नीति अल्पमत र बहुमत गरी विभाजित भएको थियो अर्थात एक मतले पास हुन सकेको थिएन । उक्त महाधिवेशनमा नीति पुष्पलालको पास भएको र नेतृत्व केशरजंग रायमाझीमा पुगेको थियो । महाधिवेशनमा गणतन्त्रको लक्ष्यसहितको संविधानसभाको माग राख्ने समूहको दस्तावेज पारित भए पनि पार्टीका पदाधिकारीहरू त्यो भन्दा फरक दृष्टिकोण राख्नेहरू निर्वाचित भएका थिए । फलतः उनीहरूले पारित दस्तावेजको खुलेरै विरोध गर्न थालेका थिए ।

मनमोहन अधिकारीको स्वदेश आगमन
मनमोहन अधिकारी वि.सं २०१६ साल कार्तिक महिनामा स्वास्थ्य लाभ गरी नेपाल फर्केका थिए ।  नेपालमा आमनिर्वाचन भएर संसदीय सरकार गठन भए पनि तत्कालीन संविधानको धारा ५५ ले संसदीय सरकारको गर्धनमा जुनसुकै बेला तरवार बजारिने सम्भावना कायमै राखेको थियो । ... मनमोहन अधिकारी नेपाल फर्किएको समयमा केशरजंग रायमाझीलगायतका केही कम्युनिस्ट नेताहरू चीन हँुदै रूस गएका थिए । उनीहरु नेपाल फर्किएपछि केशरजंग रायमाझीसँग संविधानको धारा ५५ र त्यसले प्रजातन्त्रमाथि पार्न सक्ने खतराका सम्बन्धमा अधिकारीले छलफल गरेका थिए ।

तर रायमाझीले उहाँलाई भर्खरै चीनबाट फर्र्र्किएको हुँदा देशको वस्तुस्थितिका बारेमा सबैकुरा बुझिनसकेको धारणा व्यक्त गरेका थिए । मनमोहन अधिकारीले जस्तै पुष्पलालले पनि संविधानमा रहेको राजाको स्वविवेक सम्बन्धी अधिकारप्रति आशङ्का व्यक्त गर्दै संसदीय निर्वाचन नाटक भएको र राजाबाट कुनै पनि वेला त्यो भङ्ग हुन सक्ने कुरा व्यक्त गरेको पाइन्छ ।...दोस्रो महाधिवेशनबाट रायमाझी निर्वाचित महासचिव भएपछि नेकपाभित्र सैद्धान्तिक विवाद झन गहिरिदै जान थालेको थियो । त्यसो हुनुमा कुनै एउटा व्यक्तिलाई मात्र दोषी भन्नु भन्दा पनि नेताहरूमा देखिएको आलोकाँचो व्यवहार र प्रवृत्ति नै जिम्मेवार थियो भन्न सकिन्छ । अधिकारी चीन जाने भएपछि केशरजंग रायमाझीले कार्यवाहक महासचिव बन्नु पाउनु त्यसैको परिणाम थियो । अधिकारी तीन वर्ष एक महिना  चीनमा बसेर स्वास्थ्य लाभ गरि स्वदेश फर्किए । स्वास्थ्य राम्रो भयो त्यो पक्ष सकारात्मक भए पनि चीनको बसाई नेपालको राजनीतिक आन्दोलनका लागि प्रतिउत्पादक हुन पुगेको थियो ।

(डा. ढाकाराम सापकोटाद्वारा लिखित मनमोहन अधिकारीस् नेपाली राजनीतिका ६ दशक पुस्तकबाट लिइएको यो प्रसंग संपादित अंश हो । मण्डप बुक्सबाट प्रकाशित यो पुस्तकको प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १३ गते विमोचन गरेका थिए।)

प्रकाशित: १३ वैशाख २०७५ १२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App