coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

आर्थिक मोडलको छनोट

केही दशकअघिसम्म नेपालसरह प्रतिव्यक्ति आम्दानी र आर्थिक अवस्था रहेका हाम्रा छिमेकी मुलुक भारत र चीनले आज विकासको उच्चतम शिखर चुम्न लागिसकेका छन्। नेपाल भने आर्थिक अवस्थामा गिरावट आउँदै जाँदा विकासको न्यूनतम विन्दुमा झरिसकेको छ। यस्तो अवस्था किन आयो भनेर मूल्याङ्कन गर्नका लागि धेरै पुुरानो इतिहास पल्टाउन पर्दैन। अहिले भर्खरकै नेपाल सरकार र त्यसको नेतृत्वमा बस्नेहरुको नालायकीपन हेर्दा प्रष्ट हुन्छ। एशियाली पूर्वाधार विकास बैंकको स्थापनाकालदेखि नै नेपाल त्यसको सदस्यका हैसियतले सक्रिय थियो। बैंक स्थापनापश्चात् विभिन्न मुलुकले सहुलियतपूर्ण ऋण लिए र उपयोग गरे। नेपालले भने पूर्वाधार विकासका लागि जतिसुकै वकालत गरेको भए तापनि समयमा योजना प्रस्तुत गर्न नसक्दा सहुलियतपूर्ण ऋण प्राप्त गर्नबाट वञ्चित हुन पुग्यो। यस्ता उदाहरण खोज्दै जाने हो भने नेपालमा थुप्रै पाउन सकिन्छ।

केही समयपहिले विदेशी विज्ञहरुको टोली नेपालका लागि कस्तो आर्थिक मोडल उपयुक्त हुन्छ भन्ने सन्दर्भमा अध्ययन गर्न नेपाल आइपुगेको थियो। नेपालले यस्तै टोलीहरुका सुझाव, दाता राष्ट्र तथा संस्थाहरुको सल्लाह र दबाबमा समयको अन्तरालपिच्छे विभिन्न मोडल प्रयोग गर्दै आइरहेको छ। कुनै निश्चित मोडल एउटा कालखण्डका लागि अपनाउने र त्यसको सफलता वा असफलता पछि मूल्याङ्कन गरेरमात्र अर्को मोडल वा त्यही उपयोग गर्ने चलन हामीकहाँ छैन। साथै मोडल अवलम्बन गर्दा अपनाउनुपर्ने आर्थिक अनुशासनदेखि लिएर विभिन्न क्रियाकलाप सही नहुँदा पनि हामी असफल बन्दै गइरहेका छौँ।

अहिलेको भूमण्डलीकरण (विश्वव्यापीकरण) एवं गतिशील संसारमा विचार, प्रविधि एवं साधन स्रोतहरुको आदान–प्रदानबाट नै कुनै पनि देशले आर्थिक समृद्धिको फड्को मार्न सक्दोरहेछ भन्ने इतिहासले प्रमाणित गरिसकेको छ। भारत, चीन, थाइल्यान्ड, दक्षिण कोरिया, जापान आदि देश अन्य मुलुकसँग ज्ञान, कुशलता, प्रविधि आदि आदान–प्रदान गर्दै आजको शक्तिशाली र उदीयमान राष्ट्रहरुको सूचीमा दरिन पुगेका हुन्। यी राष्ट्रले विकासका चरणमा विभिन्न किसिमका आर्थिक मोडल प्रयोग गरे। कतिपय मोडल असफल भए भने केही मोडल सफल भए। आर्थिक मोडल मात्रै तिनीहरुको विकासको माध्यम भने निश्चय नै होइन, उनीहरुले जुन आर्थिक मोडल अवलम्बन गरे त्यसैअनुरूप अध्ययन/अनुसन्धान, कामप्रतिको लगाव एवं अनुशासन आदि आत्मसात् गर्दै अगाडि पनि बढे र सफल भए। यसै सन्दर्भमा यी एशियाली राष्ट्रहरुले प्रयोग गरेको एक सफल मोडल मिश्रित मोडल जुन नेपालका लागि पनि उपयुक्त हुन सक्छ, यहाँ त्यसको चर्चा गर्ने प्रयास गरिएको छ।

डुअल ट्राक मोडल अर्थात् मिश्रित मोडल भनेको निर्यात अभिप्रेरित र घरेलु (स्वदेशी) लगानी प्रेरित मोडलको संयोजन हो। स्वदेशी लगानी प्रेरित मोडल अर्थात् देशको उत्पादन क्षमतालाई विकसित गर्दै लैजाने रणनीतिले देशमा धेरैभन्दा धेरै लगानी एवं खर्च गर्नुपर्छ भन्ने कुरालाई जोड दिएको हुन्छ। स्वदेशी क्षेत्रको अत्यावश्यक क्षेत्रहरुको विकास गर्दै कृषि, साना तथा मध्यम व्यवसायहरु एवं ग्रामीण क्षेत्रका परिवार र लगानीकर्ताहरुको मनोबल उच्च बनाई ज्यालादर वृद्धि गरी स्वदेशी मागलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरेको हुन्छ। कृषि क्षेत्रबाट उत्पादन हुन सक्ने नयाँ वस्तु पहिचान गरी माग सिर्जना गर्ने, नयाँ लगानीकर्ता खोजी गर्ने, पर्यटन क्षेत्रको प्रबर्द्धन गर्ने, उद्योगहरुको विकासका लागि श्रेणी पहिचान गरी तद्नुरूप सहयोग गर्ने, किसानका लागि ऋणमोचन कार्यक्रम ल्याउने, साना तथा मझौला व्यवसायीलाई ऋणको सर्वसुलभ व्यवस्था गर्ने नीति यसैभित्र पर्छन्।

निर्यात प्रेरित मोडलले भने निर्यातलाई जोड दिएको हुन्छ। निर्यातले देशलाई उच्च उत्पादन र आर्थिक मितव्ययितातर्फ डोर्‍याउने हुँदा देशमा उपलब्ध स्रोतहरुलाई सही सदुपयोग गर्दै निर्यात वृद्धि गर्नुपर्छ भन्ने मान्यता राखेको हुन्छ। यस धारणाअनुसार निर्यात गर्नु भनेको नयाँ प्रविधिको विकास गर्ने एउटा सञ्जाल पनि भएको हुँदा निर्यातमा वृद्धि गर्नाले धेरैभन्दा धेरै वैदेशिक मुद्रा आर्जन हुन गई गार्हस्थ्य मागलाई बलियो बनाउँदै बचत र लगानीको अनुपात बढाउँछ। अन्ततः दिगो र उच्च आर्थिक विकास प्राप्त गर्न सकिन्छ भन्ने यसका मान्यता हुन्।

कृषिको व्यावसायीकरण हुन नसक्नु, उद्योगधन्दाहरुको समयानुकूल प्रबर्द्धन हुनुको सट्टा दिन/प्रतिदिन खस्कँदै जानु, पर्यटन एवं पूर्वाधारहरुको विकास गर्न नसक्नु, ऊर्जाको अभाव निरन्तर भइरहनु आदि जस्ता कारणले गर्दा देशको उत्पादन क्षमतालाई विकसित गर्दै लैजाने मोडल अर्थात् घरेलु माग अभिप्रेरित मोडल अवलम्बन गर्नुपर्ने आवश्यकता छ। अर्कोतिर देश आयातमुखी भएको हुँदा आयातलाई प्रतिस्थापन गरी निर्यात प्रबर्द्धन गर्दै आयात र निर्यातबीचको ठूलो खाडल पुर्नका लागि निर्यात अभिप्रेरित मोडल अवलम्बन गर्नुपर्ने भएको छ। अर्थात् देशले मिश्रित मोडल अवलम्बन गर्नुपर्ने देखिन्छ।

भारतले सुरुमा आत्मनिर्भर एवं आयात प्रतिस्थापन मोडल अवलम्बन गरे पनि त्यसबाट अपेक्षाकृत सफल हुन सकेन र पछि खुला आर्थिक मोडल अवलम्बन गर्दै द्वैधमार्गी रणनीतिबाट नै आर्थिक सफलता चुम्दै गएको छ। चीन पनि ४ दशकअघिदेखिको खुला नीतिसँगसँगै मिश्रित मोडल अपनाएबाट नै आर्थिक हिसाबले विश्वको दोस्रो शक्तिशाली मुलुक बन्न सफल भएको छ। तेस्रो शक्तिशाली राष्ट्र जापानले पनि निर्यात एवं घरेलु लगानी प्रेरित मोडल अपनाएर कुनै समय आर्थिक वृद्धिदरमा अमेरिकालाई उछिन्नै आँटेको थियो। थाइल्यान्ड यही मोडलका कारण सफल बन्न पुगेको छ।

नेपाल भने सच्चा देशभक्त नेतृत्वको अभावमा आर्थिकरूपमा पिल्सिन पुगेको छ। अरुले घोटेर पिलाई दिनुपर्ने मुलुक, स्वाभिमान हराएको मुलुक, अरुका सामु निरिह बन्दै हात फैलाउँदै हिँड्ने मुलुक, अदृश्य शक्तिको इशारामा चल्ने मुलुक, आफ्नोपन–सोच–लक्ष्य गुमाउँदै गएको मुलुक जस्ता उपमा नेपालले पाउने गरेको छ। यो अवस्थामा कसरी अरुले भनेको भरमा प्रयोग गरिएको आर्थिक मोडलबाट लाभान्वित हुन सकिन्छ र? विदेशीको मुलुकमा जाडो, गर्मी, घाम, झरी, पसिना केही नभनी खटिन सक्ने हामी नेपाली स्वदेशमा काम गर्दा सानो भइन्छ भन्ने मानसिकताबाट गुज्रँदै गएका छौँ। दिनको १८–२० घण्टाका दरले विदेशमा जसरी स्वदेशी भूमिमा पसिना बगाई इमान्दारीपूर्वक खटिने हो भने र कामदार खट्ने वातावरणको सिर्जना नेतागण र राज्यले गरिदिने हो भने नेपालको आर्थिक परिस्थिति सुहाउँदो राम्रो मोडल आफैँ प्रादुर्भाव हुन्छ। कसैले हामीलाई सिकाइरहनु पर्दैन, हामी आफँै कसैका लागि राम्रो उदाहरण बन्न सक्छौँ।

विश्वको पहिलो शक्तिशाली अर्थतन्त्र भएको मुलुक अमेरिकाका राष्ट्रपतिकी छोरीले रेस्टुरेन्टमा काम गरेको देख्दा र बेलायतका प्रधान मन्त्री डेविड क्यामरुनले पदमुक्त भएपछि आफ्ना सरसामान आफैं बोकेर प्रधान मन्त्री निवास छाड्दै गरेको दृश्य टेलिभिजनका पर्दामा देखिन्छ भने हाम्रोमा जुत्ताका तुनासमेत अरुले बाँधिदिने गरेको पाइन्छ। यस्तो किसिमको सभ्य शैली बोकेर हिँडेको हाम्रो मुलुकका लागि विकसित राष्ट्रले छलाङ्ग मारेको दृश्य 'आकासको फल, आँखा तरी मर' हुनु कुनै नौलो होइन। आफ्नो जनशक्ति, प्राकृतिक स्रोत र पर्यटन पूर्वाधारलाई चिन्न नसकेर आफ्नै शरीरभित्रको कस्तूरी खोज्न मृग दौडिएजस्तै हामी भौँतारिरहेका छौँ। यही अवस्थामा विश्वको जुनसुकै मोडल अपनाए पनि कुनै अर्थ छैन। विश्वविद्यालयबाट स्वर्णपदक प्राप्त व्यक्तिसमेत रोजगारीका निमित्त नेताहरुका ढोकाढोका चाहर्नुपर्ने उल्टो संस्कृति हुँदासम्म योग्य एवं स्वाभिमानी मानिसलाई विदेश पलायन हुनबाट रोक्न सकिँदैन। यही संस्कृतिका कारण देशलाई सही दिशा दिन सक्ने होनहार युवाहरु हामीले गुमाएका थुप्रै उदाहरण हाम्रासामु छन् र यो क्रम जारी नै छ। दक्ष, अर्धदक्ष एवं अदक्ष कामदार विदेशिने कुरा त गर्नै परेन। यो अवस्थामा देशको समृद्धि कसरी सम्भव हुन्छ र?

निश्चय नै नेपाल जस्तो मुलुकका लागि मिश्रित मोडल नै उपयुक्त मोडल हो तर यसको अवलम्बन गर्दैमा मात्रै देशको विकास भई हाल्छ भन्ने कदापि होइन। विगतदेखि नेपालको परिदृश्य हेर्ने हो भने नेपालको आर्थिक मोडल आयातमुखी छ, यसलाई तत्काल परिवर्तन गर्न जरुरी छ। मिश्रित मोडल लागु गर्दा पनि देशको भौगोलिक अवस्था एवं प्राकृतिक स्रोत साधनको उपलब्धता आदिलाई हेरेर कुन क्षेत्रमा लगानी गर्ने र प्राथमिकताका क्षेत्रहरु कुन कुन हुन्, आर्थिक मितव्ययिता कसरी कायम गर्न सकिन्छ जस्ता कुरालाई गहिरिएर अध्ययन/अनुसन्धान गर्न अनिवार्य हुन्छ। यतिले मात्र पुग्दैन, आर्थिक विकासका लागि पहिलो सर्त भनेको राजनीतिक स्थिरता र सुशासन हो भन्ने कुरा राजनीतिक नेतृत्वले बुझेर तद्नुरूप कार्य गर्नैपर्छ।

उपप्रा, भक्तपुर बहुमुखी क्याम्पस, त्रिवि

प्रकाशित: १२ भाद्र २०७३ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App