१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्गमका डाक्टर

जाजरकोटका बिरामीको उपचार गर्दै डा. पवन शाक्य। तस्बिरः जनक केसी/नागरिक

सरकारी निकायमा कार्यरत अधिकांश कर्मचारी सुगममै बस्न रुचाउँछन् । सकेसम्म दुर्गम क्षेत्रमा काम गर्न जान चाहँदैनन् । डाक्टरमा पनि यही मानसिकता हावी छ । दुर्गमका वासिन्दाको गुनासोले पनि यो कुरा पुष्टि गर्छ।

दुर्गममा सकेसम्म डाक्टर आउँदै नआउने, आए पनि नबस्ने गरेको जनगुनासो सुनिन्छ । जसका कारण दुर्गमका बिरामी स्वास्थ्य सेवाबाट वञ्चित त छ नै, समयमै उपचार नपाएर ज्यानसमेत गुमाइरहेका छन्।दुर्गममा डाक्टर नबस्ने प्रवृत्तिका अपवाद बनेका छन्, जाजरकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र, गर्खाकोटका इन्चार्ज डा. पवन शाक्य । काठमाडौं, गैरिगाउँ स्थायी घर भएका उनी दुर्गम क्षेत्रका बिरामीका लागि ‘भगवान’ बनेका छन् । उनले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान उदाहरणीय छ । कार्यालयमा छँदा नियमित काम मात्र होइन, महामारी फैलिँदा उनले बस्ती बस्ती पुगेर उपचार गरेका छन्।

२०५८ सालमा एसएलसी (अहिलेको एसइई) पास गरेका उनले २०६० सालमा विज्ञान विषयमा उच्च माध्यमिक शिक्षा पूरा गरे । उनले शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटाबाट वीरगन्जस्थित नेसनल मेडिकल कलेजबाट २०६९ सालमा एमबिबिएस पास गरे।

छात्रवृत्ति कोटामा एमबिबिएस गर्नेले ग्रामीण भेगमा दुई वर्ष अस्थायी करार सेवामा काम गर्नु पर्छ । तर, उनले दुर्गम मात्र होइन, पटकपटक महामारी भोगेको जाजरकोट रोजे । उनी २०७० असोज १८ गते अस्थायी करारको नियुक्ति लिएर जिल्ला अस्पतालमा हाजिर भए।

दुर्गममा डाक्टर नबस्ने प्रवृत्तिका अपवाद बनेका छन्, जाजरकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र, गर्खाकोटका इन्चार्ज डा. पवन शाक्य । काठमाडौं, गैरिगाउँ स्थायी घर भएका उनी दुर्गम क्षेत्रका बिरामीका लागि ‘भगवान’ बनेका छन् । उनले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान उदाहरणीय छ । कार्यालयमा छँदा नियमित काम मात्र होइन, महामारी फैलिँदा उनले बस्ती बस्ती पुगेर उपचार गरेका छन्।

कार्यक्षेत्रमा पुगेपछि उनलाई कसरी काम गर्ने दोधार भयो । किनकी उनले जाजरकोटको महामारी र विकटताबारे सुनेका थिए।
‘त्यहाँको बारे धेरै हल्ला सुनेको थिएँ, त्यसैले त्यहाँ जानुअघि झाडापखालाको औषधी, पानी र अरु खानेकुरा बोकेको थिएँ,’ उनले जाजरकोट जाँदाको क्षण सम्झिए।

उनले त्यतिबेला नेपालगन्जबाट जाजरकोटसम्म पुग्न दुई दिन लगाएका थिए । अहिले त्यो रुटको यात्रा पाँच घन्टा लाग्छ । कच्ची बाटो र छिन्चु–जाजरकोट खण्डको भेरी नदीमा पुल नहुँदा उनलाई नेपालगन्जबाट जाजरकोट पुग्न निकै समय लागेको थियो । उनले जाजरकोटवासीको सेवाका लागि थुप्रै कठिनाइ भोगेका थिए । उनी जाजरकोट पुग्दा जिल्ला अस्पतालमा तालाबन्दी गरिएको थियो । डाक्टरको माग गर्दै स्थानीयले अस्पतालमा ताला लगाएका थिए।

‘म पुगेपछि जिल्लाभर डाक्टर आएको खबर फैलियो । बिरामीहरू दुई दिन हिँडेर जिल्ला अस्पताल आउन थाले,’ उनले नागरिकसँग भने । ग्रामीण भेगका बिरामी जिल्ला अस्पताल आउन थालेपछि बिरामीको उपचारमा सक्रिय हुने ऊर्जा मिलेको उनले बताए।

त्यसपछि उनी जाजरकोटको स्वास्थ्य सेवाको स्तर उकास्न सक्रिय बने । उनले स्वास्थ्य सेवा विभागसँग समन्वय गरी अक्सिजन कन्सेन्ट्रेसन, इसिजी, अक्सिजन सिलिन्डर, नेबुलाइजर, भिडिओ एक्सरे, बेड मेट्रेस, डेलिभरी बेड, ह्विल चेयरसँगै ल्यावका उपकरण पनि जिल्ला अस्पतालमा ल्याए । यसले अस्पतालको स्वास्थ्य सेवाको गुणस्तर बढ्यो । अस्पतालको सुधार देखेर स्थानीय दंग बने।

जिल्लामा खटिएको एक वर्ष नपुग्दै उनी प्राथमिक स्वास्थ्य केन्द्र, दल्लीमा खटिए । त्यतिबेला दल्लीको अवस्था निकै दयनीय र अव्यवस्थित थियो । बिरामीले प्रभावकारी उपचार पाउँदैनथे । जसका कारण बिरामी निजी मेडिकलमा उपचार गराउन बाध्य थिए।

त्यहाँको स्वास्थ्य सेवा गुणस्तरीय नहुनुको कारण थियो– भवन अभाव र नियमित स्वास्थ्यकर्मी नबस्नु । भूकम्पले क्षतिग्रस्त भवन मर्मत सम्भार हुन सकेको थिएन । त्यसपछि उनले भवन मर्मतसम्भार र स्वास्थ्य सेवा सुचारु गर्ने अभियान चलाए । उनको अभियानमा साथी विभान्त शाहले सहयोग गरे।

‘भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माणका लागि जिविसले दिएको रकम अपुग भएपछि आसपासका तीन गाविसका बासिन्दाले श्रमदान गरे,’ उनले भने, ‘त्यसपछि जीर्ण तथा अधुरा भवनको निर्माण सम्पन्न भयो ।’ त्यसपछि विभागसँग समन्वय गरी विभिन्न स्वास्थ्य उपकरण ल्याएको उनले बताए।

प्राथमिक स्वास्थ्य केन्द्रको समग्र व्यवस्थापनले यहाँको स्वास्थ्य सेवा प्रभावकारी बन्यो । त्यसपछि स्वास्थ्य केन्द्रमा उपचार गर्न आउने बिरामी बढेको स्थानीय विनबहादुर सिंहले बताए । दल्लीको गुणस्तरीय स्वास्थ्य सेवाले उनको चर्चा बढ्यो । सबैले उनको कामको प्रशंसा गर्न थाले।

दुई वर्षको करार अवधि सकेर उनी काठमाडौं फर्किए । त्यही क्रममा उनले स्थायी पदमा नाम निकाले । र, उनले जाजरकोटलाई पुन कर्मथलो बनाए । उनको नियुक्ति प्राथमिक स्वास्थ्य केन्द्र, गर्खाकोटमा भयो । गर्खाकोट पनि विकट क्षेत्र नै थियो।

उनी २०७३ को जेठमा कार्यक्षेत्रमा पुगे । त्यतिबेला त्यहाँ आवश्यक भौतिक संरचना पनि थिएन । तर, पनि उनले हरेस खाएनन् । उनले आवश्यक भौतिक संरचनाको निर्माण गर्न पहल गरे । विभागसँग समन्वय गरी स्वास्थ्य उपकरण ल्याए । स्वास्थ्य सेवा गुणस्तरीय भएपछि उनको जिल्लाभरि चर्चा चल्यो । उनले दरबन्दी अनुसारका कर्मचारी समेत नियुक्त गरे । स्थानीयको स्यावासी र प्रशंसा पाएर उनी झन् उत्साहित भए।

‘सहरमा डाक्टर फालाफाल छन् । दुर्गममा भने कोही जान मान्दैनन् । यही कारण मलाई दुर्गममा काम गर्ने प्रेरणा मिलेको हो,’ उनले भने । स्थानीयको साथ, माया र हौसलाले जाजरकोटमा काम गर्ने प्रेरणा मिलेको उनी बताउँछन्।

उनी दल्ली र गर्खाकोटमा मात्र होइन, जिल्लाभरमै प्रिय बने । उनी जहाँ जान्थे, त्यहाँ स्रोत साधन र गुणस्तरीय सेवा दिन्थे । उनी (डा. पवन) आएपछि गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रको सेवा गुणस्तरीय भएको जुनीचाँदे गाउँपालिका– ५ का अध्यक्ष राजबहादुर शाहीले बताए । स्वास्थ्य संस्थालाई जनतामैत्री बनाउन उनको सक्रियता रहेको स्थानीय बताउँछन्।

डाक्टरको कहिल्यै मुख नदेखेका यहाँका बासिन्दाका लागि उनी ‘भगवान’ बनेको स्थानीय हरिबहादुर शाहीको भनाइ छ । जनताको सेवा गर्दा आफू वास्तविक रूपमा डाक्टर भएको अनुभूति हुने डा. पवन बताउँछन् । गएको पुस–माघमा ‘सिज्नल फ्लु’ फैलिएपछि उनले झन्डै एक महिना गाउँमै बिरामीको उपचार गरे।

दुर्गमको भौगोलिक विकटता, असहज बसाईसँगै अन्य सबै कठिनाई भुलेर बिरामीको सेवामा खटिएको मजकोटका वीरबहादुर खड्काले बताए।

बाल्यकालदेखि नै उनको धोको थियो– डाक्टर बन्ने । यही पेसा अपनाएर उनी गरिब तथा विपन्न बस्तीका बिरामीको उपचार गर्ने चाहान्थे । अहिले पनि उनको धोको उस्तै छ । त्यसैले उनी दुर्गममा सेवा गर्दा रमाउने गरेका छन् । दुर्गमका बिरामीको उपचार गर्दा आफूले जन्मथलो काठमाडौंलाई पनि भुल्ने गरेको उनी बताउँछन्।

‘डाक्टर भएपछि जहाँ र जतिबेला पनि जान तयार हुनु पर्छ,’ उनी भन्छन्, ‘दुर्गम बस्तीका बिरामीको सेवा गर्नु नै डाक्टरको पहिलो धर्म हो जस्तो लाग्छ।’

प्रकाशित: १३ वैशाख २०७५ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App