नागरिक वर्ष व्यक्तित्व २०७५

जसले आँखा अस्पतालको जग बसाले

बिहिबार, १३ बैशाख २०७५, १३ : ५९ मिथिलेश यादव

नेपालमा अन्धोपनको डरलाग्दो तस्बिर सार्वजनिक भएपछि क्रिस्टोफेल ब्लाइन्डेन मिसन, जर्मनी (सिबिएम) ले चासो देखायो। नेपाललाई अन्धोपन निवारणमा सहयोग पु-याउन मिसन सन् १९८२ डिसेम्बरमा नेपाल आयो। मिसन समाज कल्याण परिषद्सँग सम्झौता गरी नेपाल नेत्र ज्योति संघअन्तर्गत सगरमाथा अञ्चललाई कार्यक्षेत्र बनाई अन्धोपन निवारणमा काम सुरु ग-र्या।

सबिएमका प्रतिनिधि डा. एल्बे्रच्ट हेनिङले लहानस्थित रामप्रसाद शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालको एउटा कक्षमा १० शैय्याबाट आँखाको उपचार सुरु गरे। तर, बिरामीको चाप बढेकाले उपचार कक्ष साँघुरो देखियो।

बिरामीको उपचारका लागि अस्पतालको आवश्यक भयो। तर, अस्पतालका लागि जमिन र संरचना जुटाउनु कम्ता गाह्रो थिएन। अस्पताल सञ्चालनका लागि आर्थिक कोष पनि आवश्यक थियो।

यस क्षेत्रमा अन्धोपन निवारणका लागि अस्पतालको संरचना निर्माण गर्नु आवश्यक थियो।

त्यो बेला लहानमा जग्गा हुने धेरै थिए। तर, जग्गा दान गर्ने पाउन गाह्रो थियो। नेपालमा अन्धोपनको डरलाग्दो अवस्थाबारे स्थानीय चौधरी परिवार (रविन्द्रलाल चौधरी) धेरथोर जानकार थिए। सिबिएमका प्रतिनिधि डा. हेनिङले उनलाई अन्धोपनको अवस्था, लहानमा अस्पताल निर्माणको आवश्यकताबारे बेलिबिस्तार लगाए। समाजसेवी रविन्द्रलाल चौधरी जग्गा दान गर्न सहमत भए।

अन्धोपन निवारणका लागि रविन्द्रलाल चौधरीले अस्पतालको जग मात्र बसालेनन्, अन्धोपन निवारणका लागि निरन्तर सक्रिय रहे। उनी नेपाल नेत्र ज्योति संघको केन्द्रीय सदस्य एवं सगरमाथा चौधरी आँखा अस्पतालको अध्यक्ष छन्।

उनले आफ्नो परिवारको तर्फबाट सात बिघा जग्गा अस्पताललाई दिन सहमत भएपछि अस्पताल निर्माणको जग निर्माण हुने लगभग पक्का भयो। तर, अस्पताल सञ्चालन खर्च कसरी जुटाउने पिरलो यथावत रह्यो। अस्पताल सञ्चालन खर्चका लागि डा. हेनिङले फेरि रविन्द्रलाललाई गुहारे। उनले रकम दिन नसक्ने जवाफ फर्काउँदै सञ्चालन खर्च धान्ने विकल्प दिए।

लहानदेखि सात किलोमिटर पूर्व–उत्तर सप्तरीको हर्दियामा २२ बिघा रविन्द्रलाल चौधरी परिवारको जग्गा अस्पताल सञ्चालन खर्च धान्नका लागि दान गरे।  जग्गाको वर्षेनी आम्दानीबाट अस्पतालको सञ्चालन खर्च धान्ने गरी उक्त जग्गा दान दिएपछि सगरमाथा चौधरी आँखा अस्पताल लहानको जग बसेको हो।

उनको जग्गामा आँखा अस्पतालको भवन निर्माण भयो। त्यसपछि सन् १९८३ बाट अन्धोपन निवारण अभियान थालियो।

करिब २७ वर्षअघि नेपालमा पहिलो पटक गरिएको अन्धोपन सम्बन्धि राष्ट्रिय सर्वेक्षण प्रतिवेदन अनुसार एक लाख १७ हजार ६ सय २३ जना लागेर दुवै आँखा नदेख्ने गरी अन्धो थिए, जसमध्ये ९४ हजार तीन सय १० जनालाई विभिन्न उपचार गरेर दुवै आँखा देख्न सक्ने तुल्याउन सकिन्थ्यो।

दुई लाख ३३ हजार ६ सय १२ जना एउटा आँखामा रोग लागेर नदेख्ने भएका थिए। एउटा र दुई वटै आँखा नदेख्ने भएर अन्धोपनको जीवन बिताइरहेकाहरूको संख्या तीस लाख ५१ हजार दुई सय ३५ थियो, जसमध्ये ७२ प्रतिशत अर्थात् झन्डै ८० हजार व्यक्तिहरू मोतियाविन्दुले अन्धो भएका थिए। सर्वेक्षणमा प्रत्येक वर्ष १६ हजार थप मोतियाविन्दुका बिरामी थपिँदै जाने उल्लेख गरिएको थियो, जसमा तराई क्षेत्रमा मोतिविन्दु बिरामीको संख्या तुलनात्मक रूपमा बढी थपिने सर्वेक्षण थियो।

मोतियाविन्दुबाट आँखाको ज्योति गुमाएकाहरूलाई समयमै उपचार (शल्यक्रिया)को व्यवस्था भए आँखाको ज्योति फर्कन सक्ने सर्वेक्षण प्रतिवेदनमा उल्लेख थियो।

अन्धोपन निवारणका लागि रविन्द्रलाल चौधरी अस्पतालको जग मात्र बसालेनन्, अन्धोपन निवारणका लागि निरन्तर सक्रिय रहे । उनी नेपाल नेत्र ज्योति संघको केन्द्रीय सदस्य एवं सगरमाथा चौधरी आँखा अस्पतालको अध्यक्ष छन्।

अन्धोपन निवारणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै आँखा उपचार क्षेत्रको नोबेल पुरस्कार ‘अन्टिनियो चम्पालिमोड भिजन अवार्ड २०१३’ बाट अस्पताल सम्मानित भएको छ । उनी पनि नेपाल नेत्र ज्योति संघबाट सम्मानित भएका छन्।

शल्यक्रियाको आधारमा विश्वमै अब्बल लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताललाई उपचार केन्द्रसँगै विशेषज्ञ उत्पादन केन्द्रका रूपमा स्थापित गर्नु चानचुने कुरा होइन।

लहानमा विशेषज्ञ चिकित्सकलाई टिकाइराख्नु पनि कम्ता चुनौती थिएन। तर, कुशल व्यवस्थापनले यो अस्पताललाई शून्यबाट यो उचाईसम्म ल्याउन सफल भएको लहानका बुद्धिजीवी विश्वनाथ महतो बताउँछन्।

आँखा अस्पतालले नेसनल एकेडेमी अफ मेडिकल साइन्ससँग स्वीकृति लिएर नेत्र विशेषज्ञको अध्यापन गराउन थालेको छ। आँखा बिरामीको चाप र आधुनिक शल्य प्रविधिका कारण विश्वभरका नेत्र विशेषज्ञको सीप निखार्ने हब बनेको यो अस्पताल विशेषज्ञ उत्पादन गर्ने थलोको रूपमा समेत स्थापित छ।    बिरामीको चापका कारण विश्वभरका नेत्र विशेषज्ञहरू यो अस्पताललाई हबको रूपमा लिएका छन्। आँखाको पर्दा सम्बन्धि शल्यक्रिया, बालबालिकाको मोतिविन्दु शल्यक्रिया, कृत्रिम आँखा निर्माण तथा वितरण, एम्नोटिक मेमब्रेन प्रत्यारोपन, रेटिना, ग्लुकोमा, पेडियाट्रिक, न्युन दृष्टि, कर्निया, कन्ट्याक्ट लेन्स सेवा, जलविन्दु, मोतिविन्दु सल्यक्रियालगायत सेवा यस अस्पतालमा उपलब्ध छ।

यस अस्पतालका पूर्वनिर्देशक डा. एल्ब्रेच्ट हेनिङको आविस्कार ‘फिस हुक’ प्रविधिबाट मोतिविन्दुको शल्यक्रिया विश्वभरका नेत्र विशेषज्ञहरूका लागि नौलो र अनुकरणीय रहेको अस्पताल प्रशासनले जनाएको छ। यो प्रविधि सिक्न यस अस्पतालमा स्वदेशी र स्वदेशी नेत्र विशेषज्ञहरू यस अस्पतालमा आउने गरेका छन्।

यो रेकर्ड असमान्य हो, नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य द्रोण गुरागाइँले भने, ‘आँखा उपचारको क्षेत्रबाट यो अस्पताले विश्वभर देशको गौरव बढाउने काम गरेको छ।’

मैले जग्गा नदिएको भए आज यहाँ यो आँखा अस्पतालको अस्तित्व हुँदैनथ्यो। यो अस्पताल नभइदिएको भए लाखौ व्यक्ति जो आज यस अस्पतालबाट उपचार पाएर संसार देख्ने भएका छन्, उनीहरू अन्धकारमै जिन्दगी बाँचिरहेका हुन्थे  रविन्द्रलाल भन्छन्, ‘हाम्रो सानो योगदानबाट लाखौ मानिस संसार देख्न पाउँदा खुसी अनुभूत गर्छु।’ यो अस्पतालमा उपचार गराएर लाखौं व्यक्तिको आँखामा ज्योति फर्केपछिको भावुकता, खुसीको आँशु प्रत्यक्ष अनुभूत गर्न पाएका रविन्द्रलाल भन्छन्, ‘ज्योति फर्केपछि उहाँहरूले दिने धन्यवाद, आशिष नै मेरा लागि ठूलो सम्पत्ति हो।’

आँखा अस्पताल बिरामीको आँखा उपचारमा मात्र होइन, मानव सेवा पनि अवल छ। यस आँखा अस्पतालमा खर्च अभावमा कोही पनि आँखा विरामी बिना उपचार घर फर्किनुपर्दैन। अस्पताल व्यवस्थापनले अस्पतालमा आँखा उपचारका लागि आउने विपन्न बिरामीलाई निःशुल्क उपचारसँगै आवास, खानपान र यातायात खर्चसमेत व्यवस्थापन गर्छ।

‘हामी अन्धोपन निवारणको मूलमन्त्रसहित अस्पताल स्थापना गरेका हौं,’ रविन्द्रलाल भन्छन्, ‘खर्च अभावमा कोही पनि आँखाको उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो मन्त्र हो।’

अस्पतालले वार्षिक सवा करोड रकम बराबरको निःशुल्क आँखा उपचार गर्दै आएको प्रबन्धक अभिषेक रोशनले बताए।

मान्यता बदल्ने आँखा अस्पताल
अस्पतालले मेचीदेखि महाकालीसम्मका आँखा बिरामीलाई उपचार सेवा दिँदै आएको रेकर्ड छ। तराई पहाड र हिमाली जिल्लाका आँखा बिरामीहरूको समेत यो अस्पतालप्रति दरिलो विश्वास छ। सामान्य उपचारका लागि पनि भारत दौडिहाल्ने नेपालीका लागि अस्पताल अनुकरणीय हो।

अस्पतालमा वार्षिक जचाउन आउने बिरामीको संख्या तीन लाख ४५ हजार र शल्यक्रिया गराउनेहरूको संख्या करिब ६० हजार छ । अस्पतालमा दैनिक औसत सात सय आँखाका बिरामीको उपचार हुन्छ। पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्र्तगत नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गैरनाफामूलक अस्पतालमा आधारभूत दृष्टि जाँचदेखि विश्वको अति विकसित अस्पतालमा मात्र उपलब्ध जटिल शल्यक्रियासम्म हुन्छ।

बस्न लाग्ने खर्च, औषधिसहित मात्र एक हजार दुई सय रूपैयाँमा मोतियाविन्दुको शल्यक्रिया यहाँ हुन्छ। यहाँ उपचारका लागि आउने बिरामीमध्ये अन्धोपन निवारणको क्षेत्रमा प्रमुख चुनौती बनेको मोतियाविन्दुका बिरामी तुलनात्मकरूपमा बढी हुन्छन्। यहाँ सबैभन्दा कम मूल्य १२ हजार रूपैयाँमा रेटिनाको शल्यक्रिया हुने अस्पतालको दाबी छ। अन्य अस्पतालमा यसको शल्यक्रिया गर्दा २४ हजारदेखि २ लाख रूपैयाँसम्म लाग्छ।

यहाँ दृष्टिविहीन बिरामीले १३ हजार रूपैयाँमा आँखाको नानी (कोर्निया) प्रत्यारोपण गराउन सक्छन्।

‘सेवा र सुविधाको तुलनामा निकै कम शुल्क भएकाले नै हामी हरेक वर्गको पहुँचमा छौं,’ उनले भने।

सन १९८१ गरिएको अन्धोपन समबन्धि सर्वेक्षणले नेपालमा अन्धोपनको अवस्था ० दशमलव ८४ प्रतिशत देखाइएको थियो। सन २०१० मा गरिएको सर्वेक्षणले यो ग्राफ घटेर ० दशमलव ३५ प्रतिशतमा झरेको छ।

सन् १९८३ देखि २०१७ सम्म यो अस्पतालले करिब ५० लाख (४९ लाख ८० हजार ७ सय ४) आँखा बिरामीको उपचार गरेको छ। यस अवधिमा यो अस्पतालले १० लाख २८ हजार ६ सय ५ आँखा बिरामीको शल्यक्रिया गरेको तथ्यांक छ।

संस्थालाई यो उचाइमा पुर्याउन रविन्द्रलालले अरुथोकको पर्वाह गरेनन्। यो अस्पतालले उपचार, सेवा मात्र गरेका छैनन्, करिब पाँच सय व्यक्तिलाई प्रत्यक्ष रोजगार दिएको छ । अप्रयत्यक्ष रूपमा सैयौं व्यक्तिको रोजगार चलेको छ। ‘खर्च नजुटाउन सकेर संसार देख्ने आश मारिसकेकाहरूलाई समेतसंसार देखाउन पाएको छु,’ रविन्द्रलाल भन्छन्, ‘मेरा लागि यो नै ठूलो सन्तुष्टि हो । निष्ठापूर्वक गरेको कामले अवश्य फल दिँदोरहेछ।’

अस्पतालअन्तर्गत सिरहा, मिर्चैया, मलंगवा, गाईघाट, कटारी, दिक्तेल, हलेसी, बर्दिवास, जलेश्वर, राजविराजमा उपचार केन्द्रमार्फत् आँखा बिरामीलाई सेवा प्रदान गर्दै आएको छ।

अस्पतालले उपचार केन्द्रमार्फत अन्धोपन निवारणका लागि उपचारात्मक र चेतनात्मक कार्य गर्दै आएको छ। नेपाल नेत्र ज्योति संघले अन्धोपन निवारणको क्षेत्रमा अब्बल योगदान गरेको भन्दै अस्पताललाई सम्मान समेत गरेको छ।








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad