७ वैशाख २०८१ शुक्रबार
अन्य

पुस्तकमा आदिवासी महिला

काठमाडौं- विगतदेखि वर्तमानसम्म आदिवासी जनजाति महिलाले समाजमा पाएको पहिचानका विषय समेटिएको पुस्तक 'पहिचानको खोजी'को शनिबार विमोचन गरिएको छ। लेखिका कैलाश राईद्वारा सम्पादित पुस्तकलाई सभामुख ओनसरी घर्ती मगरले पद्मकन्या कलेजमा सार्वजनिक गरेकी हुन्।

इन्डिजिनियस मिडिया फाउन्डेसनले प्रकाशन गरेको पुस्तकमा उनी सहित २१ जना लेखकले लेखेका लेखहरु संग्रहित छन्। पुस्तक सात भागमा विभाजित छ, जसमा २०१६ सालदेखि २०७३ सालसम्मको अवधिमा आदिवासी महिलाहरुको अवस्थामा देखिएका उतारचढाव पढ्न पाइन्छ।

नेपालमा महिलाको अवस्था त्यसै पनि कमजोर रहेकामा आदिवासी जनजाति महिला पनि त्यसमा अछुतो नरहेको प्रमुख अतिथि सभामुख घर्तीले बताइन्। २०४६ को बहुदलीय व्यवस्थापछि केही सुधार आए पनि अझै समानता नदेखिएको उनले जनाइन्।

दशवर्षे सशस्त्र द्वन्द्वपछि आवाज उठाउन सक्ने भएका महिलालाई महिला भएकै आधारमा भेदभाव नगर्ने कानुन बनिसकेको उनले सुनाइन्। 'अझै अपूर्ण रहेका विषय सम्बोधन गर्न संविधानमा संशोधन गर्न सकिने ढोका खुल्ला रहेको छ,' उनले भनिन्।

प्रा.महेन्द्र लावतीले उल्लेखनीय संकलनका रुपमा पुस्तक आएको बताए। आदिवासी समुदायका महिलाले बाहुन, क्षेत्री वा आर्य समाजका महिलाभन्दा पहिलेदेखि नै अलि बढी स्वतन्त्रता पाएको भए पनि पुरुषको दाँजोमा समान नरहेको लावतीले सुनाए।

'आदिवासी समुदायका महिला जाँगरिलो र सीप भएका छन् तर उनीहरुको त्यो सीपको प्रवर्द्धन गर्न सकिएको छैन,' उनले भने, 'खोजकर्ता डोरबहादुर विष्टले भनेझैं यस्तै जाँगरिला भए देश आफैं बन्छ।' आदिवासी महिलाले पहिचानमात्र खोजेको हो वा अधिकार पनि खोजेको हो त्यो पनि स्पष्ट हुनुपर्नेमा उनले जोड दिए।

पुस्तककी सम्पादक कैलाश राईले पुस्तकले आदिवासी महिलाको अवस्थासँगै उनीहरुले अब कुन मुद्दा अगाडि सार्नुपर्छ भन्ने जान्न सघाउने जनाइन्। सांस्कृतिक चिनारीको भागमा उनीहरुका कला, संस्कार र परम्पराका विषय र अन्यमा आदिवासी महिलाको अवस्थाको चित्रण गर्ने लेखहरु छन्।

पछिल्ला केही समयका विषय भने नपरेको स्विकार गर्दै सम्पादक राईले नयाँ खोजका लागि समेत पुस्तक मार्गदर्शक रहेको बताइन्। मिडिया फाउन्डेसनले वर्षको एकपटक एउटा खोजमूलक पुस्तक निकाल्ने योजना बनाएको अध्यक्ष देव सुनुवारले जानकारी दिए। फाउन्डेसनले आदिवासीसँग सम्बन्धित गतिविधि टेलिभिजन, रेडियो र पत्रिकामार्फत् प्रचारप्रसार गरी जागरण ल्याइरहेको उनले जनाए। ३०१ पृष्ठको पुस्तकको मूल्य ४०० रुपैयाँ तोकिएको छ।

प्रकाशित: १२ भाद्र २०७३ ०३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App