७ वैशाख २०८१ शुक्रबार
विचार

एमाले–माओवादी एकताभित्रको अन्तर्य

नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी पार्टी एकताको भित्रीकथा आजभन्दा ६९ वर्ष पहिले भएको राष्ट्रिय कांग्रेस र प्रजातान्त्रिक कांग्रेसको एकताबाट सुरु गरौँ। एकता कति कठिन र समय खाने प्रक्रिया मात्र होइन, यो त बहुतै संवेदनशील, गोप्य र दूरगामी प्रभाव पार्ने विषय पनि हो। त्यसैले एकतालाई एउटा जमातबाट जति सहज र हलुका रूपमा लिने प्रयत्न भइरहेको छ वास्तवमा यो त्यति ओजन नै नभएको विषय होइन।

अहिलेको एमाले–माओवादी एकता वनारसमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेस जसको प्रथम अध्यक्ष टंकप्रसाद आचार्यलाई बनाइयो (प्रथम अध्यक्ष बनाइएका आचार्य काठमाडौँको जेलमा थुनिएका थिए)। अध्यक्ष आचार्यको अनुपस्थितिमा बिपी कोइरालाले कार्यवाहक अध्यक्ष बनेर ‘नेपाली राष्ट्रिय कांग्रेस’को नेतृत्व गरिरहेका थिए । उता कलकत्तामा सुवर्णशमशेर राणाको नेतृत्वमा ‘नेपाल प्रजातान्त्रिक कांग्रेस’ गठन भएको थियो।

तर छुट्टाछुट्टै पार्टीकारूपमा गठन भए पनि एकताको अभावमा दुवै पार्टीको शक्ति विभाजित थियो। यो कुरा महसुस गरेर नेपाल प्रजातन्त्र कांग्रेसका नेता सुवर्णशमशेरले पार्टी एकताका निम्ति वार्ता गर्न आफ्ना महामन्त्री सूर्यप्रसाद उपाध्याय र महेन्द्रविक्रम शाहलाई बिपी कोइरालाकहाँ पठाए। यही वार्ताले नै दुई पार्टीबीच रहेको दुरीलाई नजिक पा-यो। त्यसपछि दुवै पार्टीका नेताहरूले एकता वार्ता चलाएर अन्त्यमा पार्टी एकता गरे।

आफूमाथि आक्रमण हुँदा ओली कांग्रेसलाई कसेर दनक दिन्छन् तर प्रचण्ड त्यसो गर्न सक्दैनन् किनभने भोलि ऊसँग मिल्नुपर्छ कि भन्ने सोचले उनी आक्रान्त छन्। तर सत्य कुरा के हो भने, एमालेसँग गठबन्धन नगरेर चुनाव लडेको भए माओवादी के हुन्थ्यो होला!

नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसबीच एकता गर्दाका छलफलमा पार्टीको नाममा लामो विवाद भएपछि नेपाल प्रजातन्त्र कांग्रेसको नेपाल प्रजातन्त्र र नेपाली राष्ट्रिय कांग्रेसको नेपालीलाई मिलाएर नेपाली कांग्रेस नाम राख्न सहमति भएको थियो । पार्टीको नाम नेपाली कांग्रेस राख्ने त सहमति भयो तर झण्डा के राख्ने? नेपाली राष्ट्रिय कांग्रेसको झण्डा सजिलै बनाउन गाह्रो थियो तर नेपाल प्रजातन्त्र कांग्रेसको झण्डा चार तारा भएको थियो। सुवर्णले झण्डा आफ्नो पार्टीको स्वीकार्नुपर्ने अडान लिए। राष्ट्रिय कांग्रेसको तर्फबाट वार्तामा भाग लिइरहेका गणेशमान सिंहले पनि प्रजातन्त्र कांग्रेसको झण्डा स्वीकार नगर्ने अडान लिए। दुवै टसमस भएनन्।

अन्त्यमा सुवर्ण शमशेरले बिपी कोइरालालाई आफूले सिलाएर तयार पारेर राखेको झण्डाको पहाड लगेर देखाउँदै भने, बिपी बाबु हेर्नुस् त मैले यतिधेरै झण्डा बनाएर तयार पारेको छु। गणेशमानजीको भनाइमा लागेर झण्डा परिवर्तन गर्ने हो भने बनिसकेको झण्डा खेर जान्छ। त्यसैले चार तारे झण्डालाई नै नेपाली कांग्रेसको झण्डा बनाऔँ! बिपीले पनि सुवर्ण शमशेरको कुुरामा सहमति जनाउँदै भने, ए ल यतिधेरै झण्डा बनिसकेको रहेछ । ल ठीक छ यही झण्डालाई नै नेपाली कांग्रेसको झण्डा बनाऔँ। बिपीले गणेशमानलाई सम्झाएपछि उनी पनि प्रजातान्त्रिक कांग्रेसको झण्डालाई नै नेपाली कांग्रेसको झण्डा स्वीकार्न सहमत भए।

खासमा यो एकता पछाडिको कारण प्रजातान्त्रिक कांग्रेसका सुवर्णशमशेरलाई कार्यकर्ताको अभाव र नेपाल राष्ट्रिय कांग्रेसका बिपी कोइरालालाई अर्थाभाव थियो। सुवर्णशमशेरको पार्टीले कार्यकर्ता पायो भने बिपीको संगठनले संगठन सञ्चालनमा आर्थिक अभावको सामना गर्नु नपर्ने भयो किनभने सुवर्ण शमशेर अत्यन्त धनाढ्य व्यक्ति थिए।

भनेको समयमा पार्टी एकता नभएकाले जनप्रतिनिधिहरूमा अलमल व्याप्त छ। काम गरेर देखाउन र पार्टी निकायहरू परिचालन हुन पनि सकेको छैन।

नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसबीच एकता हुँदा ताकाको जस्तै रणनीतिक महत्व अहिले एमाले र माओवादी पार्टीबीच हुन लागेको एकतामा पनि उत्तिकै रहेको छ। तर बिर्सन मिल्दैन भने, यो ज्यादै नै अप्ठेरो, दुई छुट्टै ‘स्कूल अफ थट’ र कार्यशैली भएका पार्टीहरूबीचको एकता हो। यो एकदमै जटिल र कुनै पनि समयमा भड्किन सक्ने विषय हो। त्यसैले यसमा सानो धैर्य र विनम्रता भएर मात्र पुग्दैन।

नेताहरूले वार्ताको टेबलमा असाध्यै संयम, भविष्यप्रतिको वचनबद्धता, कार्यकर्ता र आफ्नो सिद्धान्त र व्यवहारप्रति वस्तुनिष्ठता, मुलुक तथा जनताप्रतिको जिम्मेवारीलाई हदैसम्मको लचकता अपनाएर मात्र अगाडि बढ्नुपर्छ। किनभने, यो एकताको राष्ट्रिय मात्र महत्व छैन। यसको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय महत्व पनि उत्तिकै रहेको छ। यसले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्धलाई नयाँ सन्दर्भमा परिभाषित गर्नेछ। यो एकताले कूटनीतिक र अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र कानुनलाई पनि उत्तिकै आकर्षित गर्ने क्षमता राख्छ। २००६ सालको एकताले जसरी नेपाली कांग्रेस बन्यो र एकवर्ष पनि नबित्दै देशबाट एकसय चारवर्षसम्मको जहानियाँ राणा शासनलाई नारायणहरि बनाइदियो। रैतीको अवस्थामा रहेका जनतालाई सार्वभौमसत्तासम्पन्न प्रजातान्त्रिक नेपालको नागरिकको हैसियत प्राप्त भयो। सातसालको क्रान्तिले विधिको शासन सुरु भएको उद्घोष पनि ग-यो।

अहिले एमाले–माओवादी पार्टी एकताको अन्तर्य भारतमा चारु मजुम्दारले नक्सलबाडीमा सुरु गरेको विद्रोहबाट प्रभावित भएर त्यतिबेलाका युवाले त्यसैलाई आदर्श सम्झेर सुरु गरेको सशस्त्र झापा विद्रोह गर्ने कोअर्डिनेसन कमिटी, नेकपा माले र एमाले हो। एमाले एककिसिमले हिमालयबाट झरेको हिमनदी जसरी खारिँदै, संग्लिँदै, फिल्टर हुँदै, शुद्धीकरण हुँदै वर्षौंवर्षसम्म जेल नेल र भूमिगत हुँदै कुर्वानी र शहादत दिँदै संसारमा भएका परिवर्तनलाई स्वीकार गर्दै रूपान्तरित भइसकेको पार्टी हो।

प्राविधिक र केही वामपन्थी कठमुल्लाले गर्दा कम्युनिस्ट नाम मात्र बदल्न नसकेको लोकतान्त्रिक पार्टी हो। यसले आफूलाई लोकतान्त्रिक केन्द्रविन्दुमा रहेको पटक पटक साबित पनि गरिसकेको छ। लोकतान्त्रिक पद्धति र संगठनात्मक स्वरूपमा अब्बल र देशकै पहिलो पार्टी पनि बनाइसकेको छ। एमालेको नेतृत्व पनि समयक्रमसँगै खारिँदै आएको छ। सबैभन्दा प्रभावकारी कुरा यो पार्टीको नेतृत्व गर्ने व्यक्ति स्वयं पनि झापा आन्दोलनलाई नेतृत्व गर्नेमध्येका एक केपी ओली छन्।

अहिले एकता प्रक्रियामा रहेको अर्को पार्टी भनेको नेकपा माओवादी हो। यो पार्टीको राजनीतिक दर्शन र चेहराबीचको अन्तर्य फरक हुँदाहुँदै ठूलो परियोजना, नेपालको राजतन्त्र अन्त्यका लागि हतियार उठाएको संगठन हो। राजनीतिक आँधीबेहरी, बन्दुक र बमबाट स्थापित भएको पार्टी हो र यसका नायक पुष्पकमल दाहाल प्रचण्ड हुन्।

यी दुवै नेताहरू ओली–प्रचण्डको कोर्स र मिसन गणतान्त्रिक संविधान जारी भएपछि पूरा भयो। यही कोर्स पूरा गर्ने क्रममा लोकतान्त्रिक अभ्यास गर्नमा दुवै दल यतिखेर संघर्षरत रहिरहेको अवस्था छ। एमाले क्याडरबेस्ड पार्टीबाट मास पार्टीमा रूपान्तरण भइरहेको छ। माओवादी भने अझै पनि क्याडरबेस्ड पार्टी नै रहेको छ। ओलीको इमेज एकदमै उच्च छ र प्रचण्ड कुनै पनि बेला पोजिसन परिवर्तन गर्ने विश्वास गर्न नसकिने व्यक्ति हुन् भन्ने छाप छ। त्यसैले आफूमाथि आक्रमण हुँदा ओली कांग्रेसलाई कसेर दनक दिन्छन् तर प्रचण्ड त्यसो गर्न सक्दैनन् किनभने भोलि ऊसँग मिल्नुपर्छ कि भन्ने सोचले आक्रान्त छन्। उनको यही भेउ पाएर कांग्रेसीहरू ओलीमाथि चोटिलो प्रहार गर्छन् तर प्रचण्डलाई तिमीले हामीलाई समर्थन गर्छौं भने हामी स्वीकार्न तयार छौँ भनेर लोभ्याइरहन्छन्। तर सत्य कुरा के भने, एमालेसँग गएको निर्वाचनमा गठबन्धन गरेर चुनाव नलडेको भए माओवादी पार्टी नारायणहरि हुनेथियो। यो कुरा प्रचण्ड र उनका कमरेडहरूलाई राम्रोसँग थाहा छ।

पुष्पकमल दाहाल प्रचण्ड दन्त्यकथाका तिलस्मी कुराहरूबाट प्रभावित व्यक्ति हुन्। त्यस्तै विषयहरूमा रमाएर लागेका पनि हुन्। त्यसैको सहारामा माओवादीको नेतृत्व चलेको पनि हो। तर गणतन्त्र स्थापनापछि यो पार्टी पाँच टुक्रामा विभाजित भयो। र, फेरि दश टुक्रालाई फल्याक बनाएर अहिले प्रचण्डले नेतृत्व गरिरहेको अवस्था विद्यमान छ। प्रचण्डमा अहिले पनि एकीकरण गरेपछि एमालेमै बिलाउने हो कि भन्ने धुकधुकी राखिरहेका देखिन्छन्। अगाडि सर्भाइब गर्न सकिन्छ कि सकिन्न र भविष्य के होला भन्ने दोधारबाट प्रचण्ड अझै पूर्णरूपमा मुक्त हुन सकेका छैनन्। यो दोधार उत्पन्न हुनुमा प्रचण्डको मात्र स्वार्थ छैन, किनभने उनी पछाडिरहेका नेताहरूअल्प र दीर्घकालीन स्वार्थपछाडि कुदिरहेका छन्। किनभने नेपाली वामपन्थीहरू माक्र्सवाद पढेर कम्युनिस्ट बनेका होइनन्, सुनेका भरमा लागेका हुन्। नेपाली समाज पश्चिमी दुनियाँभन्दा भिन्न छ भन्ने बुझ्न उनीहरूलाई बाँकी नै छ।

प्रचण्ड मात्र होइन, ओलीसँग पनि घेर्ने, खेल्ने, लाभ लिने समूह प्रभावकारी छ । यही कारणले गर्दा तोकिएको समयमा पार्टी एकीकरण हुन नसकेको हो। एमाले अध्यक्ष केपी ओलीको चातुर्यको कारणले एकैपटक थाहै नदिई एमाले र माओवादीबीच चुनावी गठबन्धन सम्भव भएको हो। त्यतिखेर अलमल नहुँदो हो र एउटै चुनाव चिन्ह सूर्यमा दुई पार्टी मिलेर चुनाव लडेका भए अहिले ओलीपछि प्रचण्ड भन्ने स्थापित भइसक्नेथियो र ओलीपछि को भन्ने अवस्था नै रहन्नथ्यो। सरासर ओलीपछि प्रचण्ड स्थापित भइसक्नेथिए।

तर यतिखेर ओलीपछि एमालेमा को हो भनेर माओवादी नेतृत्व एमालेमा मान्छे खोजिरहेको छ। यसको कारण पनि स्पष्ट छ र त्यो के भने, त्यो पक्षसँग सम्बन्ध स्थापित गरेर माओवादीपक्ष पार्टी एकीकरण गरेर आफूलाई सुरक्षित बनाउन बराबरीको हैसियत खोजिरहेको छ।

यसोगर्दा राजनीतिक संगठनकारूपमा ‘काउन्टर प्राडक्टिभ’ हुनपुग्छ। किनभने आमजनता, स्थानीय तहका कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिहरू एउटा पार्टी बनेर अभ्यास गर्न खोजिरहेका देखिन्छन्। भनेको समयमा पार्टी एकता नभएकाले जनप्रतिनिधिहरूमा अलमल व्याप्त छ। काम गरेर देखाउन र पार्टी निकायहरू परिचालन हुन पनि सकेको छैन। यो अलमलको मूल कारण पार्टी एकता हुन नसक्नु नै हो।

एउटा सम्भावनाको उज्ज्वल पक्ष के छ भने प्रचण्डले लचकदार बनेर पार्टी एकता गर्ने निर्णय गर्न सके भने समस्याहरू समाधान हुन्छ र समस्याले निकास पनि पाइहाल्ने देखिन्छ। पार्टी एकताले गति लिन्छ र एकीकृतपार्टी पनि गतिशील हुनसक्ने देखिन्छ किनभने जनताले यी दुई पार्टीको गठबन्धनलाई जिताउनुको कारण नै निर्वाचित प्रतिनिधिलाई संरचनागत रूपमा अपूर्व बल मिलेकाले उनीहरूको कामले पनि तीव्र गति लिनसक्छ।

त्यसैले पार्टी एकता जति छिटो भयो, उति नै सम्भावनाका ढोकाहरू खुल्न थाल्छन् । योग्यता, क्षमता, क्रियाशीलता, इतिहास, स्वाभिमानको आधारमा समस्याहरू फिल्टर हुँदै जान थाल्छ, जसरी फोहोर नदी बग्दै जाँदा शुद्ध हुँदैजान्छ। वास्तवमा कुन पार्टीको नेताले कुन पद, तह पायो? अहिले कुन पोस्ट फेला पा-यो भन्ने कुराले कुनै असर पार्न सक्दैन।

अहिले प्रचण्डको कोर्टमा बल छ र उनी निर्धक्क बनेर ओलीको नेतृत्व सँगसँगै जाने कि एमालेभित्र ओली पछि को आउला भन्ने अनुमान गरेर ऊसँग सम्झौता गर्दै अगाडि बढ्ने हो? सहज रूपमा एकतालाई सफल बनाउने हो र संविधानले निर्दिष्ट गरेका कुराहरूलाई कार्यान्वयन गरेर सुखी नेपाली, समृद्ध नेपाल बनाउने हो भने प्रचण्ड र केपी ओली सहकार्य गर्दै अगाडि बढ्नुमै देश र जनताको भलो हुने देखिन्छ।

लेनिन जयन्तीको दिन राष्ट्रिय सभागृहमा जुन लाजमर्दो अवस्था उत्पन्न भयो, यो नहुनुपर्ने थियो। यसभन्दा माथि उठेर दुवै नेताले निर्णय गर्न सक्नुपर्छ। यसबाट मात्र जनता, पार्टी र जननिर्वाचित पदाधिकारीहरू सहज रूपमा परिचालन हुनसक्छन्। सुखी नेपाली, समृद्ध नेपाल अभियानलाई पनि यसैले परिचालन गर्न सक्ने मात्र होइन कि अहिलेको अवस्था पनि फेरिएर नयाँ चरणमा पुग्न सक्छ र यो भनेकै पार्टीका नेताहरू गुणात्मक रूपमा माथिल्लो तहमा पुग्नु हो।

प्रकाशित: १३ वैशाख २०७५ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App