८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

‘रोजगारी निश्चित छ’

सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरी

सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरी यतिखेर परम्परागत घर वा सम्पदा निर्माणसम्बन्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यले भक्तपुरमा नेपाल भोकेसनल एकेडेमी नामक गैरनाफामूलक संस्था स्थापना गरी बेरोजगार युवाहरूलाई प्राविधिक सीपमूलक तालिम दिई रोजगारीको अवसर सृजनाको तयारीमा छन्। यसै सेरोफेरोमा नागरिककर्मी कृष्ण किसीले उनीसँग गरेको कुराकानी :

तपाईं अहिले के गर्दै हुनुहुन्छ?
म यतिखेर मुख्यतया महाभूकम्पले भत्केका सम्पदाहरूको पुनर्निर्माणमा छु। साथसाथमा एउटा प्यारो बच्चाको उद्घाटनको क्रममा पनि छु।

प्यारो बच्चाको उद्घाटन भन्नाले?
नेपाल भोकेसनल एकेडेमी (नेपाल व्यावसायिक प्रतिष्ठान) भक्तपुर नामक गैरनाफामुखी सेवामूलक संस्था खोली त्यसको उद्घाटनको तयारीमा छु। यसको उद्घाटन बिहीबार बिहान गर्दैछौँ। यसको कार्यालय भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक नगांगामा रहेको छ।

प्रशिक्षार्थीले पहिलो तीन महिना महिनाको तीन हजार तिर्नुपर्छ। दोस्रो तीन महिना केही तिर्नुपर्दैन अर्थात् निःशुल्क हुन्छ । तेस्रो तीन महिनामा महिनाको तीन हजार पकेट मनी भनी प्रशिक्षार्थीलाई उपलब्ध गराउँछौँ। अन्तिम तीन महिना महिनाको ६ हजार दिन्छौँ।

एकेडेमी भक्तपुरमा भर्खरै उद्घाटन हुन लागे पनि यसअघि काभ्रेपलान्चोक जिल्लाको पनौतीमा भने तीन वर्ष यतादेखि तालिम दिँदै आएका थियाैँ। पनौतीका सीमित युवाहरूलाई प्राविधिक तथा व्यावसायिक सीप प्रदान गरिरहेका छौँ। पनौती केन्द्रबाट वर्षेनि ६० देखि ७० जनासम्म डकर्मी, सिकर्मी, लोहकर्मीलगायतका दक्ष कामदार उत्पादन गर्दै आएका छौँ। साथै उत्पादित सबै जनशक्तिलाई रोजगारीको प्रत्याभूति पनि गरेका छौँ। यो क्रमलाई विस्तार गर्ने क्रममा हामीले भक्तपुरमा पनि एकेडेमी खोलेर तालिम दिन लागेका हौँ।

नेपाल भोकेसनल एकेडेमी भक्तपुर किन?
नेपाल भोकेसनल एकेडेमी भक्तपुर नेपाल सरकारको प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँग आबद्ध सेवामूलक संस्था हो। एकेडेमीको मुख्य उद्देश्य भन्नु नै अहिलेको युवा जमातलाई प्राविधिक सीपमूलक तालिम दिई रोजगारीको अवसर प्रदान गर्नु हो।

यसका लागि के कस्तो तयारी गरिसक्नुभयो?
भक्तपुरमा एकेडेमी सञ्चालनका लागि मैले आजको मूल्यमा सात करोड रुपियाँ मूल्य पर्ने एक रोपनी जग्गा सेवाभाव वा सामाजिक अर्थमा प्रदान गरको छु। भक्तपुर नगर जस्तो महत्वपूर्ण खुला ठाउँ नै बाँकी नभएको ठाउँमा एक रोपनी जग्गा एकेडेमीका लागि भनी दान गरेको छु। एकेडेमी भवन निर्माणमा भने जर्मन संस्था सुलर हिलफे फ्युर नेपालले करिब पाँच करोड रुपियाँ सहयोग जुटाइदिएको छ।

यो एकेडेमीले हाललाई वार्षिक करिब दुई सय दक्ष जनशक्ति उत्पादन गर्र्ने योजना छ। आगामी दिनमा बजारको मागअनुसार थप तालिम क्षमता अनुपात तथा संकायको विस्तार गर्दै लैजाने प्रतिबद्धता छ।

यसले खस्तो खाले तालिमलाई प्राथमिकता दिन्छ?
वर्तमान परिवशेनलाई ध्यानमा राख्दै हामीले विशेषतः परम्परागत घर वा सम्पदा निर्माण सम्बन्धी जनशक्ति उत्पादनमा विशेष जोड दिएका छौँ। केही वर्षयता नेपाली समाज र परिवेशमा पनि परम्परागत तथा मौलिक शैलीका घरहरूको माग बढ्दै गइरहेको छ। यसका कारण एकैसाथ दक्ष कामदाहरूको माग पनि बढ्दै गइराखेको छ। अझ २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपश् चात् त नवनिर्माण वा पुनर्निर्माणका कामहरूमा दक्ष जनशक्तिको माग बढदै गइराखेको छ। यो तथ्यलाई मध्यनजर गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने तालिम हामी दिँदैछौँ। देशमा चुलिँदै गएको बेरोजगारी समस्यालाई केही हदसम्म भए पनि हल गर्ने उद्देश्य हाम्रो छ।

एकेडेमीले सञ्चालन गर्ने तालिम कस्तो हुनेछ?
भक्तपुरमा तत्काल हामीले इलेक्ट्रिसियन, प्लम्बिङ, काष्ठकला र सिकर्मी तालिम सञ्चालन गर्दैछौँ। यी सबै तालिम एक वर्षे हुनेछन्। एकवर्षे यी तालिम तीन भागमा वर्गीकरण हुनेछन्। पहिलो तीन महिना सिटिइभिटीको कोर्सअनुसार पढाई हुनेछ। नौ महिना ‘अन द जब’ (काम गर्दै सिक्ने) तालिम हुनेछ। यस्तो तालिम व्यावहारिक हुनेछ।

तालिमका लागि भवनको संरचना कस्तो बनाउनुभएको छ?
वरिपरि विभिन्न संरचना र बीचमा चोक भएको यो भवनमा हाल चारवटा वर्कसप, आठ वटा कक्षाकोठा र एउटा सभाकक्ष छ भने आवश्यकताअनुसार अन्य कक्ष पनि थप्दै लैजानलाई ठाउँ प्रशस्त बाँकी नै छन्। भवनको पूर्ण क्षेत्रफल १९ हजार वर्गफिट छ । अतः यस प्रतिष्ठानमा अहिले निर्धारित दुई सय विद्यार्थीलाई सीपमूलक तालिम प्रदान गर्न प्रशस्त ठाउँ तथा आवश्यक सेवा सुविधा कायम छ।

प्रशिक्षार्थीसँंग शुल्क कसरी लिनुहुन्छ?
प्रशिक्षार्थीले पहिलो तीन महिना महिनाको तीन हजार तिर्नुपर्छ। दोसो तीन महिना केही तिर्नुपर्दैन अर्थात् निःशुल्क हुन्छ। तेस्रो तीन महिनामा महिनाको तीन हजार पकेट मनी भनी प्रशिक्षार्थीलाई उपलब्ध गराउँछौँ। अन्तिम तीन महिना महिनाको ६ हजार दिन्छौँ।

शुल्क तिर्न नसक्नेलाई प्रायोजन गर्न लगाउँछौँ। जतिजना नसक्ने आए उति सबैलाई नै प्रायोजन गर्न लगाउँछौँ । निश्चित कोटालाई मात्रै होइन, प्रायोजन गर्ने। जस्तैः सबैजना नसक्ने आए भने सबैलाई नै पनि प्रायोजन नै गर्छैं।

तालिमपछि कामको सुनिश्चितता छ?
यो रोजगारी सुनिश्चित तालिम हो । तालिमपछि सबैले रोजगारी पाउनेछन्। महिनाको १२ हजार तलब दिने व्यवस्था गरेका छौँ। राम्रोले महिनामा १५ हजारसम्म पनि पाउनेछन्।

अरू संस्थाले दिने तालिमभन्दा केके फरक हुनेछ?
हामी गैरनाफामुखी छौँ। एकेडेमी स्थापनाको एक मात्रै उद्देश्य नेपालमा विद्यमान युवा बेरोजगारी समस्या र चुलिँदै गएको विदेश पलायनको यथास्थितिलाई जतिसक्दो सम्बोधन गर्नु मात्रै हो। यसका साथै नेपाली परम्परागत घर निर्माणमा पर्याप्त दक्ष जनशक्ति तयार गर्दै जानु हो। हाम्रो परम्परागत मौलिक सम्पदाप्रति अपनत्व बढाउन जतिसक्दो जनचेतना विस्तार गर्ने दिशामा लागिपर्ने प्रणसमेत हाम्रो छ। यस्तो मौलिक पहिचान र सम्पदाप्रतिको सचेतना स्थापित गर्दै लैजाने प्रयास हो। सामाजिक मूल्यमान्यतामै हाम्रो समग्र चिनारी जोडिएको यथार्थलाई पनि हामी सम्झन्छौँ । अरू संस्थाहरूले तालिम दिनका लागि मात्रै दिएको देख्छौँ। तालिम सकियो बसियोको अवस्था छ। तर हामी तालिम पनि दिन्छौँ साथै सीप पनि। जुन विद्यार्थीले तालिम सकेपछि काम गर्न पनि सक्षम हुन्छन् र रोजगारी पनि दिन्छौँ। हाम्रो तालिम प्रतिफल उन्मुख छ।

प्रकाशित: १३ वैशाख २०७५ ०३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App