उदयपुर– उदयपुरको त्रियुगा नगरपालिकाले अतिक्रमण गरी बनाइएका अवैध घरटहरा भत्काउने तयारी गरेको छ। नगरपालिकाका बिभिन्न वडाका सडक, ऐलानी र सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका घरटहरा र संरचना आफैले भत्काउन सार्वजनिक सूचना जारी गर्दै अन्यथा बलजप्mती भत्काउने चेतावनी दिएको छ।
नगरका सार्वजनिक, सरकारी तथा ऐलानी जग्गाको संरक्षण गर्नेगरी यसअघि नै अतिक्रमण गरी बनाइएका घरटहरा र संरचना भत्काउन नगरपालिकलो सूचित गरिसकेको भए पनि बेवास्ता गरेको पाइएकाले तत्काल आप्mनो संरचना आफै भत्काउन सूचना जारी गरिएको छ। नगरपालिकाले यसबारे गत माघ २ गते नै सार्वजनिक सूचना जारी गरेको भए पनि बेवास्ता गरेको पाइएपछि पुनः सूचना प्रकाशित गरेको छ। यो सूचना पनि अटेर गरेको पाइएमा स्थानीय प्रशासनको सहयोग लिएर नगरपालिकाले आफै घरटहरा भत्काउने चेतावनी दिइएको छ।
सदरमुकाम गाईघाटस्थित त्रिनपा १३ पुरानो हवाईमैदानस्थित सार्वजनिक जग्गा मिचर घरटहरा बनाइएको स्थानीयबाट चर्को गुनासो आएपछि नगरपालिकाले सूचना जारी गरी संरचना हटाउन ताकेता गरेको प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले बताए। लुईटेलका अनुसार पुरानो हवाईमैदानस्थित थरुहट–त्रियुगा रंगशाला र तरकारी बजारभन्दा पूर्वको लगभग २ विगाह जमिन अतिक्रमण गरी बनाइएका नयाँ घरटहरा भत्काउन सूचना जारी गरिएको हो।
स्थानीय तह चुनावअघिदेखि नै बन्न थालेका घरटहरा नगरपालिकाको सार्वजनिक जमिन अतिक्रमण गरेर बनाएको पाइएपछि निर्माण रोक्न र पूरा भएका संरचना भत्काउन सूचित गरिएको थियो। तर, बनेका संरचना भत्काउने र निर्माणाधिन काम रोक्ने काम नभएपछि स्थानीय प्रशासनसँगको सहकार्यमा तत्काल संरचना भत्काउन नगरपालिकाले निर्देशनात्मक सूचना जारी गरेको हो। सार्वजनिक सूचनालाई बेवास्ता गरेमा प्रशासन र प्रहरीको समन्वयमा नगरपालिकाले संरचना भत्काउने चेतावनी दिएको छ।
सदरमुकाममा हवाईमैदान बनाउन भन्दै २०३१ सालतिर १६ विगाह १४ कठ्ठा १८ धुर जमिन छुट्याइएको थियो। ०५९/६० मा सो ठाउँमा हवाईमैदान बनाउन नागरिक उड्यन प्राधिकरणले प्रक्रिया अघि बढाउदा हावापानी प्रतिकुल भएको प्राविधिक प्रतिबेदन आएसँगै हवाईमैदान बनाउने काम स्थगित हुन गएपछि अतिक्रमण बढे्दै गएको हो। हवाईमैदानका लागि छुट्याइएको जमिन त्यसबेला विमानस्थल समिति नबनिसकेकाले त्रियुगा मावि गाईघाटको नाममा दर्ता गरेर राखिएको उक्त जग्गा विमानस्थल नबन्ने भएसँगै अतिक्रमणमा पर्दै गएको स्थानीयको भनाई छ।
लोकतान्त्रिक आन्दोलन सफल भएपछि सो जग्गामा तरकारी बजार र स्वर्गीय एमाले नेता मदन भण्डारी स्मृति सभाभवन बनाउने कार्य भइरहेको छ। भण्डारी स्मृति सभा भवन बन्दै गरेकोदेखि दक्षिणतर्फको लगभग २ विगाहा क्षेत्रफल जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन लागिएको नगरपालिकाले जनाएको छ। अधिकृत लुईटेलले भने चुनावदेखि बन्दै गरेका र दशकअघि बनेर बसोबास गर्दै आएका गरी ३ दर्जनबढी पक्की र कच्ची घरटहरा अतिक्रमण गरी बनाइएको जानकारी आएको बताए। नगर प्रमुख बलदेव चौधरी चीन भ्रमणमा रहेकाले हाल सूचना जारी गरिराख्ने र बाँकी काम प्रमुख आएपछि बोर्ड बैठक राखेर प्रशासनसँगको समन्वयमा कारबाही प्रक्रिया अघि बढाउने लुईटेलको भनाई छ।
प्रकाशित: १२ वैशाख २०७५ १४:३२ बुधबार