८ वैशाख २०८१ शनिबार
राजनीति

‘दाहालको बचपनाले सम्बन्ध झन् पेचिलो'

जनकपुर- संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहालको अवोधपनका कारण नेपालको छिमेकी मुलुकसँगको सम्बन्ध झन् पेचिलो बनेको टिप्पणी गरेका छन्। ‘दाहालको बचपना सोचका कारण पहिलेदेखि बिग्रिरहेको सम्बन्ध सुधार्ने नाउँमा झनै पेचिलो बन्न पुग्यो,’ संघीय गठबन्धनले शनिबार जनकपुरमा आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने, ‘बढी बाठो बनेको देखाउन एकैचोटि दुवै छिमेकी मुलुकमा दूत खटाइदिए। तर, त्यसले सम्बन्ध सुधि्रनुको साटो दुवै देशले सरकारलाई शंकाको दृष्टिले हेर्न थालेका छन्।’

यो घटनाले दाहाल अन्तर्राष्ट्रिय कूटनीतिमा कति कमजोर छन् भन्ने प्रष्ट भएको उनको कथन थियो।

दाहाल सरकारको उल्टो दिनगन्ती सुरु भइसकेको पनि उनले बताए। केपी ओली नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार निर्माणका लागि गणितीय तालमेल मिलाउन संघीय गठबन्धनसँग भएका सम्झौता कार्यान्वयन शैलीले सरकारको उल्टो दिनगिन्ती सुरु भएको उनको दाबी छ। ‘९ महिनाका लागि भनिए पनि दाहाल सरकार ६–७ महिनाभन्दा बढी टिक्नसक्ने संकेत देखिरहेको छैन,’ उनले भने, ‘प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसभित्रको गुटबन्दी र ओली सरकारकै बाटोमा हिँड्ने शैलीले सरकारको आयु छोट्याउन थालेको छ।’

दाहाल सरकार निर्माणका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रसँग संघीय गठबन्धनले गरेको तीनबुँदे सम्झौतामा आफूहरू (गठबन्धन) ले तेस्रो बुँदा सुरुमै इमान्दारीपूर्वक कार्यान्वयन गरिसकेको बताउँदै उनले बाँकी दुई बुँदा कार्यान्वयन गर्न सत्तासाझेदार दलले ढिलाइ गरिरहेको आरोप लगाए।

तेस्रो बुँदाअनुसार गठबन्धनमा आबद्ध दलको शतप्रतिशत मत दाहाललाई प्रधानमन्त्री निर्वाचन गराउन दिएको उल्लेख गर्दै उनले संविधान संशोधनको प्रक्रिया सुरु गर्न सरकारले ‘आत्मघाती रूपमा' बेवास्ता गर्न थालेको बताए। उनले तीनबुँदे सम्झौतामध्ये १ र २ नम्बर बुँदालाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा अहिलेसम्म गम्भिरतापूर्वक नलिएको उनको आरोप थियो।

यादवले अब हुने संविधान संशोधनमा एमालेले भनेजस्तो शतप्रतिशत आफूहरूको माग सम्बोधन नगरिए पनि कम्तीमा आङ ढाकिने लुगाजस्तो बनाउनुपर्ने बताए। ‘प्वालैप्वाल भएको संविधान छ,’ उनले थपे, ‘पूरै नयाँ दिन्नौं भन्नसम्म पाइएला तर कम्तीमा पूरै आङ ढाकिनेगरी टाल्न सक्नुपर्‍यो।’

संविधान संशोधन गर्न बहानाबाजी भए आन्दोलनको रूप फेरिने र अर्को संविधान निर्माणका लागि जनमत तयार गर्ने अभियानमा लाग्ने उनले चेतावनी दिए।

कार्यक्रममा रामसपा अध्यक्ष शरतसिंह भण्डारीले संविधान संशोधन र प्रादेशिक पुनः सीमांकन नगरी स्थानीय निकाय पुनःसंरचना गर्ने कार्य गठबन्धनले कुनै हालतमा नस्वीकार्ने जिकिर गरे। ‘संविधान संशोधनबिना कुनै पनि तह र प्रकारको निर्वाचन सम्भव छैन,’ भण्डारीले भने, ‘सरकारले पेलेर जान खोजे हामी अवरोध गर्छौं र चुनावै असफल बनाइदिन्छौं।’

तमलोपाका महामन्त्री जंगीलाल राय, तमसपाका नेता रामनरेश राय, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुंगा, संयुक्त संघर्ष समितिका संयोजक जय गोले, शेर्पा स्वायत्त प्रदेश संयुक्त आन्दोलन समितिका संयोजक लाक्पा शेर्पा र गठबन्धन नेता कुमार लिङदेनलगायत करिब दर्जन दलका नेताले बोलेका थिए।

अन्तरक्रियामा सहभागी दुई नम्बर प्रदेशका सबैजसो जिल्लाबाट आएका कार्यकर्ताले गठबन्धनका कुनै पनि दल सरकारमा जान नहुने र कम्तीमा अगामी निर्वाचनसम्म एकजुट भएर बस्नुपर्ने तथा आन्तरिक गुटबन्दी अन्त्य गर्न नेतृत्वलाई दबाब दिनुपर्ने बताएका थिए।

प्रकाशित: १२ भाद्र २०७३ ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App