६ वैशाख २०८१ बिहीबार
विचार

राजनीतिक दल : भताभुंग चाल

नेपाली कांग्रेस, सत्ताधारी साम्यवादी दलहरू र मधेसको मसिहा दावी गर्ने राजनीतिक दलहरूको वर्तमान अवस्था हेर्दा भताभुंग देखिन्छ । सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस निर्वाचन पराजयका कारण लागेको घाउ निको पार्ने र आफ्नो संगठनको शारीरिक अवस्था स्वस्थ राख्नेमा भन्दा पनि घाउमा लाग्न लागेका खाटा उप्काउँदै शरीरभर संक्रमण फैलाउन व्यस्त छ । पुच्छरमुनि लागेको घाउलाई निरन्तर कोट्याउँदै अन्ततः पूरै शरीरमा फैलाएर बाँदर मर्छ भन्ने नेपाली उखान छ । बाँदरले शरीरको घाउ निको पार्ने होइन,त्यो कोट्याएर मृत्युवरण गर्छ । नेपाली कांग्रेस अहिले घाउ लाग्नाको कारण पत्ता लाउने नाउमा घाउ खोतल्दै, बढाउँदै, त्यसमा उकुच पल्टाउँदै मृत्यु सहज बनाइरहेको छ । कांग्रेसका उमेरले बार्धक्यमा पुगेका नेताहरूका लागि भविष्यमा कांग्रेस रहनु वा नरहनुको कुनै औचित्य र अर्थ छैन । उनीहरूले कांग्रेसको आदर्शका लागि, कांग्रेसको झण्डा बोकेर जीवनमा त्याग, बलिदान जे गरेका भए पनि २०४६ यता नेतृत्वमा पुग्ने धेरैले त्यसको ब्याजसमेत खाइसकेका छन् । कतिपयले ब्याज त के साँवासमेत देख्न नपाइ शरीर त्याग गरिसकेका छन् । जसले अवसर पाए तिनीहरूले मात्र होइन, तिनीहरूका परिवार र नातानालासमेतले त्यो ब्याजको भौचर सुरक्षित बनाएको अवस्था छ।

बाँदरले शरीरको घाउ निको पार्ने होइन,त्यो कोट्याएर मृत्युवरण गर्छ । कांग्रेस अहिले घाउ लाग्नाको कारण पत्ता लाउने नाउँमा घाउ खोतल्दै, बढाउँदै, त्यसमा उकुच पल्टाउँदै मृत्यु सहज बनाइरहेको छ ।  

विगतमा अनेक कष्ट र यातना सहेका तर प्रजातन्त्र पुनस्र्थापनाले समेत कुनै महत्त्व नदिएका अनगिन्ती स्वतन्त्रता सेनानी छन् । तिनीहरूमा एकप्रकारको निराशा पैदा भएको छ । उनीहरूले ऊर्वर समय आन्दोलन, जेलनेल यातनासहित अभावमा बिताएका थिए । तिनीहरू पनि किनारमा रमिते भएका छन् । उनीहरूका निम्ति लोकतन्त्र र स्वतन्त्रता कुण्ठित नहोस् भन्नेबाहेक कुनै चाहना देखिँदैन ।नयाँ पुस्ता नेपाली कांग्रेसमा भर्ती हुन चाहिरहेको छैन । २०४६ पछि आन्दोलनको मूल्य÷मान्यताभन्दा पनि अभ्यासमा स्थापित विकृत संस्कृतिको ‘बाइप्रोडक्ट’ का रूपमा एउटा वर्ग उत्पन्न भएको छ भने २०६३ को आन्दोलनबाट त झन् चरम महत्त्वाकांक्षी र आदर्शविहीन वर्ग कांग्रेसमा पैदा भएको छ ।
बिपी कोइराला निर्दलीय पञ्चायतमा भुइँफुट्टा वर्गको आधिपत्य स्थापित भएको टिप्पणी गर्नुहुन्थ्यो २०३६ सालतिर । अहिले नेपाली कांग्रेसमा त्यही चरित्रको भुइँफुट्टा वर्गको हालीमुहाली चलिरहेको छ । कांग्रेसभित्र अन्तरकलह विकास गर्न त्यही भुइँफुट्टा वर्गचरित्र सक्रिय छ र त्यही वर्गका भिन्न रूपहरूले शीर्षदेखि निर्णायक तहका नेताहरूलाई विभाजनको, घृणाको, असहमतिको र असन्तुष्टिको आहालमा पौडी खेलाइरहेको देखिन्छ । भुइँफुट्टाहरूको प्रभाव नेपाली कांग्रेसको केन्द्र, जिल्ला, गाउँ र वडासम्म जसरी देखिन्छ कांग्रेसका भातृसंस्थाहरूमा समेत त्यसको जालो फैलिएको अनुभव हुन्छ । कांग्रेसका विभिन्न नामधारी शुभेच्छुक संस्थाहरूमा पनि यस चरित्रको गहिरो प्रभाव विस्तारित छ । तीसको उमेर काटेका र साठीको दशक पार नभएका कांग्रेसजनहरूमा समेत कांग्रेसको भविष्यप्रति चिन्ता र चासो देखिँदैन । उनीहरू आफूभन्दा अघिल्लो पंक्तिका नेताको फेर समातेर कांग्रेसमा हालीमुहाली कसरी गर्न सकिन्छ भन्नेअत्यन्त संकीर्ण सोचबाट ग्रस्त छन्।

पार्टीको औपचारिक फोरमभित्र राख्नुपर्ने विषयलाई सडकमा छताछुल्ल हुनेगरी वान्ता गर्ने काम कांग्रेसहरूबाट भइरहेको छ । नेतृत्वमा बसेर अनुशासन सिकाउनुपर्नेहरूले नै छताछुल्ल सडकमा गएर फोहोर पार्न लागेपछि सही मान्छे कांग्रेसमा किन बस्ने ? लोकतान्त्रिक मर्यादा चाहने नयाँ पुस्ता कांग्रेस किन हुने ? लोकतन्त्रका लागि नेपाली कांग्रेस भनेर शुभेच्छुक हुँदै सहयोग गर्नेहरूले किन शुभेच्छा प्रकट गर्ने ? अहिले कांगे्रसका नेताहरूबाट सार्वजनिक भएका कतिपय अभिव्यक्तिहरूकै कारण यी प्रश्न उठेका छन्।

कांग्रेसका जिम्मेवार पदमा बसेका नेताहरूका केही भनाइ यहां उद्धरण गर्नु प्रासंगिक हुनेछ । जस्तो– ‘अब सभापतिले छाड्नुपर्छ, म सभापतिकालागि तयार हँुदैछु, अब मेरो काम कम्युनिस्ट पार्टीलाई फुटाउनु हुनेछ, वर्तमान कम्युनिस्ट सरकारलाई फु गरेर ढालिदिनेछु, राजदूत नियुक्ति प्रकरणमा सभापतिले पैसा खाएका छन् ।’ यी केही नमुना कथनमात्र हुन् जुन सार्वजनिकरूपमा नेपाली कांग्रेसका जिम्मेवार नेताहरूबाट आएका हुन् । यस्ता नेताका हातमा नेपाली कांग्रेसको नेतृत्व गयो भने यस पार्टीको भविष्यलाई रामराम भन्नुपर्ने हुन्छ । अहिले बसिरहेको केन्द्रीय समिति बैठकमा प्रस्तुत विचारहरू जे÷जस्ता भए पनि तिनबारे बहस गर्नु उचित हुँदैन । किनकि केन्द्रीय समिति भनेको नेताहरूले आफ्ना विचार राख्ने वैधानिक थलो हो । तर यो वैधानिक थलोको उपयोग कांग्रेसमा लागेको घाउ निको पार्नमा भन्दा पनि त्यसलाई बढाउन र उकुच पल्टाएर यसलाई सिध्याउन भइरहेको देखिन्छ । ‘विनाशकाले विपरित बुद्धिः’ यस्तैमा प्रयोग गरिन्छ।

अर्कोतर्फ एकताको मन्त्र जप्दै माओवादी केन्द्र र एमालेका नेताहरूले सात महिना बिताएका छन् । उनीहरूले पाँचपटक तोकेको एकताको तारेख गुज्रिएको छ र अब कुनै तारेख नै नतोकी अकस्मात् र सबैलाई आश्चर्यचकित तुल्याउँदै एकता गर्ने अहिलेसम्मको अन्तिम घोषणा गरिएको छ । यही वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ६९ औँ वर्षको सन्दर्भ र साम्यवादी सत्ताका प्रथम प्रयोक्ता लेनिनको जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एकताको विषय अब आकस्मिक र नाटकीय घोषणाकासाथ हुने उद्घोष माओवादी सुप्रिमो पुष्पकमल दाहालले गर्नुभएको छ । प्रचण्डको लयमा एमाले अध्यक्षको समेत लय मिलेको छ । दुवै पार्टीका कार्यकर्ता र नेपाली जनतालाई अल्मल्याउन भएको एकता गर्ने प्रयासको असफल यात्राको यो रणनीति पाँचपटकसम्म सफल रहेको हुनाले माओवादी अध्यक्ष र एमाले अध्यक्ष यसरी तारेख तोक्नुभन्दा कुनै दिन अकस्मात् र नाटकीय आश्चर्यमा परिणत गर्ने उद्घोष गर्न लाग्नुभएको छ।

नेतृत्वपंक्तिबाट यसरी सात महिनासम्म ढाँट्ने काम किन भइरहेको छ भनेर माओवादी केन्द्र र एमालेका कार्यकर्ताले आफ्ना नेताहरूसँग प्रश्न गर्ने साहस गरेका छैनन् । कर्यकर्ताहरूको मौनता आफैँमा शंकाको कारण बनिरहेको छ । यो एकताको पट्यार लाग्दो प्रक्रियामाथि भइरहेको बहस र सात महिनासम्म तय हुननसकेको एकताको मूलमर्मको विवेचना गर्ने हो भने माओवादी र एमालेबीच एकता भए पनि त्यो दिगो हुननसक्ने निष्कर्ष  सहजै निस्कन्छ ।किनभने गत असोज १७ मा एकता गर्नेे घोषणा गर्दा यस विषयमा एमाले वा माओवादी दलभित्र कुनै पनि गृहकार्य भएको थिएन । नेपाली कांग्रेसलाई निर्वाचनमा धुलो चटाउँदै एक वर्षपहिले आफूलाई सत्तामुक्त गरेको प्रतिशोध पूरा गर्ने एमाले अध्यक्षको चाहना र स्थानीय निर्वाचनको परिणामका आधारमा आफ्नो उपस्थिति लज्जाजनक हुने भयका कारण माओवादी अध्यक्षको हैसियत सुरक्षित राख्ने चिन्ताको परिणाममात्र थियो एकता गर्ने उद्घोष । चुनावका समय प्रदेशसभा र संघमा भएको राजनीतिक लेनदेन, प्रदेशदेखि संघीय सरकार निर्माणमा भएको भागबन्डा, एकता गर्ने क्रममा सम्मानजनकका नाउँमा सहभागिताकालागि उठाइएको प्रतिशतको आधारको प्रश्न, चुनाव चिह्नको लफडा, जनयुद्ध र जनताको बहुदलीय जनवादको फ्युजनको विवाद र नेतृत्वको स्थानबारे उठेका फरकखालका प्रश्नहरूकै कारण तारेख गुज्रिरहेको विषय कुनै काल्पनिक र रहस्यपूर्ण मानिँदैन।

पार्टी एकताका नाउँमा अनेक सूत्र दिनहुँ परिभाषित भइरहेका छन् । तर तात्कालीक स्वार्थका आधारमा उद्घोषित प्रस्तावले मूर्त रूप लिननसक्नुमा दुवै पार्टीमा रहेको सैद्धान्तिक मतभेद, संगठनात्मक संख्या, अविश्वास, आफ्नो भविष्यको चिन्ता र विश्वासघात हुने खतरा मुख्य कारण देखिन्छन् । वस्तुतः दुइ पार्टीबीच एकता भनिए पनि माओवादी दलको एमालेमा विलय नै हो । जसरी परिवार दल, चुरेभावर पार्टी एमालेमा विलय भए र जुनरूपमा नेपाल कम्युनिस्ट पार्टी संयुक्त माओवादी केन्द्रमा विलय हुनपुग्यो त्यसरी नै जुन प्रतिशतमा भागबन्डा र सिद्धान्तको पुलिन्दा निर्माण गरेपनिप्रस्तावित एकतालाई माओवादी पार्टीको एमालेमा विलय नै मानिन्छ । अहिले सहअध्यक्षमा सहमति हुने, केन्द्रदेखि वडातहसम्म सम्मानजनक सहभागिता हुने, तीन वर्षपछि प्रचण्डले सरकारको नेतृत्वगर्ने भनिए पनि आगामी महाधिवेशनबाट कसको नेतृत्व हुने भन्ने विषय महŒवपूर्ण छ । एमालेमा खड्गप्रसाद ओलीपछि माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम समान लहरमा छन् । एमालेका शीर्ष यी नेताहरूको लहरमा एक्ला प्रचण्ड बस्नुपर्ने हुन्छ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसमा सभागृहमा टांगिएको ब्यानरमा पुष्पलाल, मनमोहन, मदन भण्डारी र केपी ओलीसँग जोडिएको एक्लो प्रचण्डको तस्बिर नै भविष्यको संकेत हो । त्यस ब्यानरमा लेनिन र माओको तस्बिर नभएको भन्दै माओवादी कार्यकर्ताले गरेको हुटिङ भोलिका दिनमा प्रस्तावित एकताले ल्याउने परिणामको पूर्वाभ्यासमात्र हो। महाधिवेशनका क्रममा निर्वाचन अवश्य हुनेछ । निर्वाचन भएन भने निरंकुशता र एकल निर्णय परम्परा स्थापित हुनेछ। एकतापछि महाधिवेशनकालागि निर्वाचन भएको अवस्थामा एमालेको संगठित सदस्यसंख्या हावी हुने र केही स्थानबाहेक अत्यधिक स्थानमा एमालेकै प्रतिनिधि विजयी हुने निश्चित छ । यसरी माओवादीको न्यून उपस्थितिले आजको एमालेलाई बलियो बनाउने र सम्पूर्णरूपमा माअ‍ोवादी बिलाउने हुन्छ । अर्थात् एकताकालागि जस्तो रणनीति बनाए पनि त्यसपछि लामो समयसम्म आजको एमाले नेतृत्व पंक्तिकै वर्चस्व रहनेछ र माओवादीबाट नेतृत्व चाहनेहरूले एमालेका कार्यकर्तासँग‘दयाको भीख’ माग्नैपर्ने हुन्छ । सम्भवतः एकताको तारेख थपिँदै जानुमा यो पनि एउटा कारण हुनसक्छ।
अन्तमा, मधेसको मसिहा दाबी गर्ने राष्ट्रिय जनता पार्टी निर्वाचन परिणामको तीन महिना नपुग्दै विभाजित भएको छ। नेपाली जनतालाई कष्ट र यातना दिनेगरी नाकाबन्दी लगाउन अग्रसर राजपा नेतृत्वले राष्ट्र र मधेसी जनताको हित नगर्ने निष्कर्षकासाथ पार्टीका उपाध्यक्षसहित केन्द्रीय तहका अनेक नेताले राजपा लोकतान्त्रिक गठन गरेका छन् । मधेसी नेतृत्वसमेत यसरी भताभुंगको अवस्थामा पुगेको छ । हेरौँ, नेपाली जनताले के देख्नु र के भोग्नुपर्ने हो ?

प्रकाशित: १२ वैशाख २०७५ ०४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App