७ वैशाख २०८१ शुक्रबार
समाज

सुक्खाग्रस्त क्षेत्र हलेसीमा भूमिगत पानी वितरण

खोटाङ– खोटाङको सुक्खाग्रस्त क्षेत्र घोषित हलेसीमा डीप बोरिङ (जमिन छेडेर पानी निकाल्ने प्रविधि) बाट निकालिएको पानी वितरण सुरु गरिएको छ।

हिन्दू, किराँत र बौद्ध धर्मावलम्बीको त्रि–धार्मिकस्थल हलेसी क्षेत्रको खानेपानी समस्या हल गर्न खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालय खोटाङमार्फत हलेसी सुक्खाग्रस्त क्षेत्रमा बृहत् खानेपानी पम्पिङ योजनाअन्तर्गत डिप बोरिङबाट निकालिएको पानी वितरण सुरु भएको हो।

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रहेको हलेसीतुवाचुङ नगर क्षेत्रमा दुधकोसीको पानी लिफ्ट गर्न सुरु गरिएको ९१ करोड ८५ हजार रूपैयाँ लागतको बृहत् खानेपानी पम्पिङ योजनाको सहायक योजनाका रूपमा हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानस्थित रानीपोखरी नजिकबाट जमिन छेडेर पानी निकालिएको पानी मंगलबारदेखि बजारमा वितरण सुरु गरिएको नगरका मेयर इवन राईले जानकारी दिए।

करिब १४ लाख रूपैयाँको लागतमा पूरा भएको डीप बोरिङ योजनाबाट निकालिएको भूमिगत पानी नजिकै ट्यांकीमा जम्मा गरेर मोटरमार्फत् लिफ्ट गरेर मोठडाँडा र माल्खुडाँडामा निकालेर ट्यांकीमै जम्मा गरी हलेसी बजारमा वितरण गरिएको खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालयले जनाएको छ।

‘यसअघि नै हलेसीमा लिफ्ट योजना सञ्चालन गरिएको थियो,’ मेयर राईले भने, ‘हाललाई डीप बोरिङ गरेको पानी वितरण गर्न सोही लिफ्टको ट्यांकी र पाइप उपयोग गरिएको छ ।’ उनका अनुसार हलेसी बजारमा देखिएको खानेपानी समस्या हल गर्न गत माघ १ गते गरिएको डीप बोरिङ परिक्षणका क्रममा प्रतिसेकेन्ड १५ लिटर पानी निकाल्न सकिने देखिएको थियो । कतिपयले भने नजिकै रहेको रानीपोखरीको पानी सुकेको भन्दैै डीप बोरिङ परिक्षणको विरोध गरेका थिए।

विद्युत् ट्रान्सफर्मरसहित विद्युत जडान गरेर डीप बोरिङको पानीलाई प्रभावकारी तरिकाले वितरण गरिने खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालयले जनाएको छ । डीप बोरिङबाट निकालिएको पानीले हलेसी क्षेत्रका करिब ३ सय परिवार लाभान्वित भएको मेयर राईले जानकारी दिए । अब हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटक एवं दर्शनार्थीले समेत डीप बोरिङको पानी उपयोग गर्न पाउने भएका छन्।

हलेसीतुवाचुङ नगरपालिकाको महादेवस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडामा दुधकोसीको पानी निकाल्न सुरु गरिएको बृहत खानेपानी पम्पिङ आयोजनाको वैकल्पिक व्यवस्थास्वरूप डीप बोरिङ बनाइएको हो ।

बृहत खानेपानी पम्पिङ योजना सम्पन्न नभएसम्मका लागि हलेसीमा खानेपानी व्यवस्थापनका लागि डीप बोरिङको विकल्प अघि सारिएको खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालय प्रमुख इन्जिनियर विजय ठाकुरले बताए । ड्रिलिङ मेसिनले १५० मिटर गहिरो जमिन छेड्ने लक्ष्य राखिए पनि ७४ मिटरमुनि नै प्रशस्त पानी भेटिएको उनले जानकारी दिए । बडहरे र च्यास्मिटारको बोझेमा गरिएको डीप बोरिङ परिक्षण भने असफल भएको थियो।

पानीको श्रोत नभएको तथा जनसंख्या वृद्धिका कारण भएका श्रोत पनि अपुग हुन थालेको हलेसी क्षेत्रका सातवटा वडालाई जिल्ला दैवीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । सो क्षेत्रका खानेपानीको विस्तारका लागि दुधकोसीको महादेवबेंसी र लुलिमाबाट महादेवस्थानको काभ्रे र डिकुवाको भुम्जुडाँडामा पानी निकाल्ने योजना सुरु भइसकेका छन्।

प्रकाशित: १२ वैशाख २०७५ ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App