४ वैशाख २०८१ मंगलबार
समाज

वनको जग्गामा धमाधम नयाँ बस्ती

सर्लाहीको वागमती नगरपालिकाअन्तर्गत जिरायतस्थितकर्मैया–हथियौल सडकखण्ड, पश्चिम परियोजनाको जमिन अतिक्रमण गरी बनाइएका व्यक्तिगत घरहरू । (तस्बीर : टंक क्षेत्री/नागरिक)

सर्लाही – जिल्लाको वागमती नगरपालिकअन्तर्गत सागरनाथ वन विकास परियोजनाको मूर्तिया वन व्यवस्थापन क्षेत्रको जग्गामा व्यक्तिगत नयाँ घरहरू बनाउने क्रम ह्वात्तै बढेको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्मैयाको पुतलीचोकबाट करिब ५ किलोमिटर दक्षिण सडकबाट पश्चिम तर्फ धमाधम पक्की एवं कच्ची घर तथा टहराहरू बनाउने क्रम बढेको हो । साविक कर्मैया गाविसको जिरायत क्षेत्रअन्तर्गत कर्मैया–हथियौल सडकखण्ड पश्चिम परियोजनाको जग्गामा निजी नयाँ घरहरू बनेका हुन्।

परियोजना सहित सरोकारवाला सरकारी निकायबाट प्रभावकारी कारबाही अभियान सञ्चालन नभएकाले वनको जग्गामा नयाँ वस्ती नै बनिसकेको छ।केही महिनायता सागरनाथ वन विकास परियोजना सर्लाहीको मूर्तिया वन क्षेत्र अतिक्रमण गरी निजी घर बन्न थालेका हुन् । गत भदौ यता परियोजनाको जग्गामा व्यक्तिगत घरनिर्माण गर्ने क्रम सुरु भएकामा पछिल्लो समय यो क्रम ह्वात्तै बढेको हो।

स्थानीय तहको निर्वाचनदेखि यसरी निजी घरहरू निर्माण गर्ने क्रम ह्वात्तै बढेको स्थानीयवासी बताउँछन् । ‘भदौ यता दर्जनौं नयापक्की घर निर्माण भइसके’, एक स्थानीयले भने, ‘अचेल त झन् टहरा बनाउने क्रम तिव्र भएको छ।

निकै वर्षअघि खोलिएको कर्मैया–हथियौल सडकमा एक महिना यता कालोपत्रे हुन थालेपछि  सडक पश्चिमको जमिनमा व्यक्तिगत घरहरू बनाउने क्रमले तिब्रता पाएको स्थानीय बताउँछन् ।
‘सडक पूर्वको जमिन निजी भएकाले एउटा पनि घर छैन’, एक स्थानीयले भने, ‘पश्चिमतर्फ प्रायः  सबै जग्गामा घरहरू बनेर नयाँ बस्ती नै निर्माण भइसक्यो।’

परियोजनाको मुर्तिया वन व्यवस्थापन शाखा अन्तर्गत २ हजार ७४१ हेक्टर वन क्षेत्रमध्ये २०६५ सालदेखि २ हजार ५३४ हेक्टर क्षेत्रफल पूरै अतिक्रमणमा परेको थियो । २०७३ असार २१ गतेबाट परियोजनाले नयाँरोड–मलंगवा सडकखण्ड पूर्व र पश्चिम लगाइएका बालीनाली नष्ट पार्दै मसलाका विरुवा रोप्ने अभियान सुरु गरे पनि यसले निरन्तरता पाउन नसक्दा अतिक्रमित जग्गामा पक्की घरहरू बनाउने क्रम ह्वात्तै बढेको हो । हालसम्म ७०२ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिसकिएको परियोजनाले जनाएको छ।

स्थानीय तहको निर्वाचनदेखि यसरी निजी घरहरू निर्माण गर्ने क्रमह्वात्तै बढेको स्थानीयवासी बताउँछन् ।

परियोजनाको जग्गामा वर्षौंदेखि खेतीगर्दै आएका सर्लाही सहित सिन्धुली, मकवानपुर, सिराह, महोत्तरी, धनुषा लगायत जिल्लाका बासिन्दाले हालउताको घरजग्गा बेचेर परियोजनाको वन क्षेत्रमा धमाधम पक्की घर नै बनाइरहेको जानकारहरू बताउँछन् ।
परियोजनाको वन क्षेत्र सुरक्षाका लागि सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा धरहरामा सशस्त्र प्रहरीको बेस क्याम्प नै छ । तर पनि वन क्षेत्रमा घर बनाउने र बालीनाली लगाउने क्रम भने जारी छ।

आफ्नै जग्गामा घर रहेका एक स्थानीयले भने, ‘वनको जग्गामा पक्की घरको नयाँ बस्ती नै बनिसक्यो, के गर्नु विरोध गर्न सकिने अवस्था छैन, टुलुटुलु हेरेर बस्न बाध्य छौं ।’
परियोजना स्वयं तथा प्रहरी प्रशासनले समेत वेवास्ता गरेपछि पछिल्लो समय घर बनाउने क्रम तिब्र बनेको स्थानीयवासी बताउँछन् ।यता परियोजना प्रमुख देवेशमणि त्रिपाठी भने अतिक्रमणमा संलग्नहरूलाई पक्राउ गर्ने तथा घर टहरा भत्काउने अभियान सञ्चालन भइरहेको दाबी गर्छन्।

‘यसबीच माहामीले अतिक्रमणमा संलग्न चार जनालाई पक्राउ गरी आवश्यक कार्बाहीका लागि जिल्ला वन कार्यालयलाई बुझाइसक्यौं’, त्रिपाठीले भने, ‘घरटहरा भत्काउने काम पनि गरेका छौं ।’ हाल छिटफुट रूपमा कार्बाही भइरहेको र चाँडै कार्य योजना नै बनाएर अभियानकै रूपमा अतिक्रमण खाली गराउने काम सुरु गर्ने परियोजना प्रमुख त्रिपाठीको दाबी छ ।

 

प्रकाशित: १२ वैशाख २०७५ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App