८ वैशाख २०८१ शनिबार
समाज

‘डन’ रिगलसहित १४ जनालाई दोषी ठहर

नेपालगन्ज – नेपालगन्ज स्थित गगनगन्जनिवासी चेतन मानन्धरको हत्या मुद्दामा १४ जनालाई बाँके जिल्ला अदालतले दोषी ठहर गरेको छ। उक्त मुद्दामा मुख्य दोषी ठहर गर्दै नेपालगन्ज देवाफुलबारी निवासी रिगल ढकाललाई अदालतले ‘सर्वश्वसहित जन्मकैद’को फैसला सुनाएको छ। सोही घटनामा संलग्न रहेको ठहर गर्दै अदालतले प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, बिशाल भन्ने छबिलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कालाई जन्मकैद सजाय सुनाएको छ।

यस्तै घटनामा संलग्न सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र सिंह भनिने दीपेन्द्र मल्ललाई ५ तथा केशवबहादुर रोका, माधव नेपाली, विवाद पाठक, हरि ओली, प्रितम थापा, मनिस चौलागाई र यामबहादुर बुढामगरलाई अदालतले जनही ३/३ वर्ष कैद सजाय सुनाएको श्रेस्तेदार दण्डपानी लामिछानेले बताए। उक्त मुद्दाका आरोपी दीपक केसीलाई भने अदालतले सफाई दिएको छ।

जिल्ला न्यायाधीश विष्णु सुवेदीको ईजलासले मंगलबार मुद्दाको फैसला गरेको हो। मुद्दामा वादीका पक्षमा सरकारी वकिल टेकबहादुर थापा र प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, अधिवक्ता सालिकराम सापकोटा, लोकबहादुर शाह, प्रह्लादबहादुर कार्की, टिकाजंग सिंह, सुनिलकुमार श्रेष्ठ लगायतले बहस गरेका थिए।

मृतक चेतनका आफन्त किशोरकुमार मानन्धरको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी रिगलसमेतका विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तब्य ज्यान मुद्दा दर्ता गरेको थियो। २०७२ असार २८ गते नेपालगन्जको सुर्खेतरोडमा दहाडै भएको उक्त हत्या काण्ड सम्बन्धी मुद्दामा सर्बत्र चासो थियो।

नेपाली कांग्रेस निकट तरुण दल क्षेत्र नम्बर ३ का तत्कालिन सभापति समेत रहेका रिगल यसअघि पनि गुण्डागर्दीमा संलग्न रहदै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ११ वैशाख २०७५ १४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App