७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्रीकाे व्यंग्य : तानाशाहीको लक्षण अझै देखिन्छ

काठमाडौ‌- प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गरेका छन्। 

मदन भण्डारी स्मृति बाटिकाको म‌गलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकार देश बनाउने संकल्पमा दृढ छ। भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं। बेथितिका अगाडि सरकार निहुरिँदैन। बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ। विकास निर्माणको अभियानमा अब बाधा व्यवधान नगरौं।” 

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीकरण र उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे। उनले भने, “कोही–कोही भन्छन् ‘तानाशाहीको लक्षण देखिन थाल्योे’ तानाशाहीको लक्षण अझै देखिन्छ, किनकि अब सडकहरु धुलो नउड्ने हुन्छन्। छिट्टै मेलम्चीको पानी आउँदैछ। आउँदो हिउँदमा ४५६ मेगावाटको माथिल्लो तामाकोशीको बिजुली थपिँदैछ। काठमाडौँमा मेट्रो रेल बन्छ। कतिपय त्यत्तिकै आत्तिएका छन्। यस्ता कुतर्कको पछि नलाग्न सबैमा अग्रह गर्छु।” 

‘काठमाडौँ–निजगढ’ द्रुत मार्ग निर्धारित समयमै सम्पन्न गरिने, निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढाइने, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको काम चाँडो सम्पन्न गर्ने गरी काम अघि बढाइने पनि उनले उल्लेख गरे। 

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, जननेता मदन भण्डारी, लौह पुरुष गणेशमान सिंह र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्र निर्माण र समाज परिवर्तनमा पु-याएको योगदानको स्मरण गर्दै भने – “मदन भण्डारी राष्ट्रको चिन्तक र जनताको प्रतिनिधिका रुपमा स्थापित नेता हुनुहुन्छ। उहाँको योगदानलाई राष्ट्रले भुल्न हुँदैन।” रासस

प्रकाशित: ११ वैशाख २०७५ १२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App