८ वैशाख २०८१ शनिबार
समाज

वनको जग्गामा नयाँ बस्ती बन्दै

सर्लाहीको वागमती नगरपालिकाअन्तर्गत जिरायत स्थित कर्मैया–हथियौल सडकखण्ड पश्चिम परियोजनाको जमिन अतिक्रमण गरी बनेका व्यक्तिगत घरहरु। तस्बीर : टंक क्षेत्री/नागरिक

सर्लाही – जिल्लाको वागमतीनगरपालिका अन्तर्गत सागरनाथ वन विकास परियोजनाको मूतिर्या वन व्यवस्थापन क्षेत्रको जग्गामा व्यक्तिगत नयाँ घरहरु बनाउने क्रम ह्वात्तै बढेको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कर्मैयाको पुतलीचोकबाट करिब ५ किलोमिटर दक्षिण पुगेपछि सडकबाट पश्चिमतर्फ धमाधम पक्की एवं कच्ची घर टहराहरु निर्माणको क्रम बढेको हो। साविक कर्मैया गाविसको जिरायत क्षेत्र अन्तर्गत कर्मैया–हथियौल सडकखण्ड पश्चिम परियोजनाको अतिक्रमित जग्गामा नयाँ घरहरु बनेका हुन्। परियोजना सहित सरोकारवाला सरकारी निकायबाट प्रभावकारी कारबाही अभियान सञ्चालन नभएकाले वनको जग्गामा नयाँ बस्ती नै स्थापना भईसकेको छ।

केही महिनायता सागरनाथ वन विकास परियोजना सर्लाहीको मूर्तिया वन क्षेत्रमा अवैध ढंगले निजी घर बन्न थालेका छन्। स्थानीयतहको निर्वाचनताकादेखि निजी घरहरु निर्माणको क्रम ह्वात्तै बढेको स्थानीयले बताएका छन्। ‘भदौ यता दर्जनौं नयाँ पक्की घरहरु निर्माण भइसके’, एक स्थानीयले भने, ‘अचेल त झन् टहराहरु बनाउने क्रम तिब्र बनेको छ।’

कर्मैया–हथियौल सडकमा विगत १ महिनायता कालोपत्रे सुरु हुनथालेपछि  सडक पश्चिमको जमिनमा व्यक्तिगत घरहरु निर्माणको क्रमले तिब्रतापाएको स्थानीय बताउँछन्। ‘सडक पूर्वको जमिन निजी भएकाले एउटा पनि घर छैन’, एक स्थानीयले भने, ‘पश्चिमतर्फ प्रायः  सबै जग्गामा घरहरु बनेर नयाँ बस्ती नै निर्माण भइसक्यो।’

परियोजनाको मुर्तिया वनव्यवस्थापन शाखा अन्तर्गत २ हजार ७४१ हेक्टर वन क्षेत्र मध्ये २०६५ सालदेखि २ हजार ५३४ हेक्टर क्षेत्रफल पूर्ण रुपले अतिक्रमणमा परेको थियो।  २०७३ असार २१ गतेबाट परियोजनाले नयाँरोड–मलंगवा सडकखण्ड पूर्व र पश्चिम लगाइएको बालीनाली नष्ट पार्दै मसलाका विरुवा रोप्ने अभियान सुरु गरेपनि उक्तकार्यले निरन्तरता पाउन नसक्दा अतिक्रमित जग्गामा पक्की घरहरु बनाउने क्रम ह्वात्तै बढेको हो।

परियोजनाको वन क्षेत्र सुरक्षाका लागि सशस्त्र प्रहरी नायव उपरीक्षकको नेतृत्वमा धरहरामा सशस्त्र प्रहरीको बेसक्याम्प नै रहेको छ। तथापी घर निर्माण गर्ने र बालीनाली लगाउने कार्य रोकिएको छैन। परियोजना स्वयं तथा प्रहरी प्रशासनले समेत वेवास्ता गरेपछि पछिल्लो समय घर निर्माणको क्रम तिब्र बनेको स्थानीय बताउँछन्।

अतिक्रमणमा संलग्नहरुलाई नियन्त्रणमा लिने तथा घर टहरा भत्काउने कार्य भइरहेको परियोजना प्रमुख देवेशमणि त्रिपाठीले दाबी गरे। ‘हामीले अतिक्रमणमा संलग्न ४ जनालाई पक्राउ गरी आवश्यक कार्बाहीका लागि जिल्ला वन कार्यालयलाई बुझाइ सक्यौ’, त्रिपाठीले भने, ‘घर टहरा पनि भत्काउने गरेका छौं।’ हाल छिटफुट रुपमा कार्बाही भईरहेको र निकट भविष्यमै कार्ययोजना नै बनाएर अभियानकै रुपमा अतिक्रमण खाली गराउने काम सुरु गर्ने उनले दाबी गरे।

प्रकाशित: ११ वैशाख २०७५ ११:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App