नागरिक नायक २०७५ - पुननिर्माणका अथक अभियन्ता

मङ्गलबार, ११ बैशाख २०७५, १६ : ०७ सरिता श्रेष्ठ

2217


घरको छानोमै नमस्ते आकारको नेपाली मौलिकता झल्किन्छ । तल–माथि २–२ गरी ४ कोठाको घरको अघिल्तिर बरन्डा छ । एउटै रंगले रंगाइएका घरको बाहिरपट्टि शौचालय पनि छ।

वृद्धवृद्धाको ओठमा मुस्कान देखिन्छ । बालबालिका रमाइरहेका छन् । भूकम्पले थिचिएका पीडा, आफन्त गुमाउँदाका आँसु खुसीमा परिणत भएका छन् । २०७२ साल वैशाख १२ मा गएको भूकम्पको पीडाले थलिएपछि नमुना बस्तीमा आएका अधिकांशको जीवनशैली फेरिएको छ । भीरपाखामा कहिले भूकम्प त कहिले पहिरोले कष्टप्रद जीवनयापन गरिरहेकाहरू नमुना बस्तीमा रमाएका छन् । अनि, यो नमुना बस्तीमा बस्ने सबैको मुखमा झुन्डिएको नाम भएको छ–दिनेश तामाङ।

भूकम्पपछि धादिङको ज्वालामुखी गाउँपालिकास्थित ढोलामा एक्लो प्रयासमा ५५ घर रहेको नमुना बस्ती ठड्याएपछि तामाङ सबैको नजरमा ‘सामाजिक नायक’का रूपमा परिचित छन् । नमुना बस्ती निर्माणमा देशभर धुर्मुस–सुन्तलीको चर्चा चलिरहेका बेला दिनेश चाहिँ धादिङको ढोलामा नमुना बस्ती निर्माण गर्न सफल भए । सामाजिक संघ–संस्थाबाट सहयोग जुटाएर उनले १ वर्ष ४ महिनामा ५५ घर ठड्याएका हुन् । प्रतिघर निर्माणका लागि करिब १६ लाख रुपैयाँ खर्च भएको छ । प्रत्येक विस्थापितले घर बनाउन झन्डै ४ लाख रूपैयाँ बराबरको श्रमदान गरेका छन् । घरका लागि डकर्मी, सिकर्मीको काम चाहिँँ घरमा बस्नेले नै गरेको तामाङ बताउँछन्।

उत्तरको रुविभ्याली गाउँपालिकाको कपुरगाउँ र नेबेरबाट विस्थापित भएर आएका बासिन्दा ढोलाको भुवालेपानी र आलेगाउँमा शिविर बनाएर बसेका छन् । क्यानडाको चाइल्ड हेभेन इन्टरनेसनल क्यानडा–नेपालले ३८ रोपनी घडेरी किन्न २९ लाख रूपैयाँ सहयोग गरेपछि शिविर बसेकै जग्गा किनेर बस्ती निर्माण गरिएको तामाङले बताए । अहिले बस्तीको ४ आना जमिनमा ८ कोठाको दुईतले घर बनेको छ । एकापट्टिको चार कोठा एक परिवारलाई र अर्काेपट्टिको चार कोठा अर्को परिवारलाई दिइएको छ।


भूकम्पपछि धादिङको ज्वालामुखी गाउँपालिकास्थित ढोलामा एक्लो प्रयासमा ५५ घर रहेको नमुना बस्ती ठड्याएपछि तामाङ सबैको नजरमा ‘सामाजिक नायक’का रूपमा परिचित छन्।

घरको मुल ढोकामा घरमुलीको नाम लेखिएको छ । घरको लालपुर्जा छ तर बेच्न पाइने छैन । बस्तीमा अधिकतर बौद्ध धर्मावलम्बी भएकाले बस्ती प्रवेश गेटमै एउटा गुम्बा पनि छ । सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ भने बालबालिकाका लागि सामुदायिक अध्ययन केन्द्र स्थापना गरिएको छ । बस्तीनजिक पानी नभएकाले वर्षामा आकाशेपानी संकलन गर्न सकिने व्यवस्था पनि मिलाइएको छ।

प्रतिपरिवार ४–४ कोठा पुग्ने गरी आलेगाउँमा २६ र भुवालेपानीमा २९ घरका २ बस्ती बनेका छन् । जिल्लाको विकट गाउँका विस्थापित भूकम्पपीडितले घर निर्माणमा श्रमदान गरे । दुवै बस्तीका ३ सय १० भूकम्पपीडित नमुना बस्तीमा छन्।

गाउँको चारैतिर पहिरो झरेर बस्न नसक्ने भएपछि विस्थापित भएर त्रिपालमा बस्न बाध्य भूकम्पपीडित नमुना घरमा बस्न पाउँदा खुसी छन् । र, नमुना बस्ती निर्माणका लागि आफ्नो श्रम र पसिना चुहाएका दिनेश उनीहरूभन्दा खुसी । ‘भूकम्पपीडित परिवारको मन फुरुंग भएको देख्दा विगतका आफ्ना पीडा पनि भुल्न थालेको छु,’ दिनेशले भने, ‘निरन्तर संघर्षले नै फल मिल्ने रहेछ।’

उनले भूकम्पपीडितलाई पुनर्बास दिएर, राहत पुर्याएर पीडितका घाउमा मलम लगाइदिएका छन् । त्यसो त उनले यसअघि पनि सामाजिक कार्यमा लगानी नगरेका होइनन् । आफ्नै पहलमा विभिन्न दाता खोजेर विकट गाउँमा स्वास्थ्य शिविर चलाए उनले । दिनेशको पहलमा गाउँमा एउटा हेल्थपोस्ट पनि सञ्चालन भएको छ भने २ वटा स्कुलका भवन निर्माण गरिएको छ । १५ वर्षदेखि दिनेश मानवीय सेवामा छन्।

अहिले उनले ‘लापा स्वास्थ्य सेवा बिन्दु’ स्वास्थ्य संस्था सञ्चालन गरिरहेका छन् । ‘विकट गाउँमा न शिक्षा न स्वास्थ्य,’ दिनेशले भने, ‘पढ्नका लागि कि सदरमुकाम धादिङबेंसी कि काठमाडौं नै धाउनुपर्ने बाध्यता छ ।’ बिरामी भएका बेला, सुत्केरी अवस्थामा सक्नेले हेलिकप्टरमार्फत उपचारका लागि लैजाने गर्थे । नसक्नेको जीवन त्यहीं अन्त्य हुन्थ्यो । रोग, भोक र शोकले ग्रसित ग्रामीण भेगका स्थानीयको जीवस्तर उकास्न दिनेश विभिन्न दाता खोज्दै गाउँमा शिविर सञ्चालन गर्ने, विद्यालय निर्माण गर्नेजस्ता कार्यमा छन्।

साधारण व्यक्तित्व, असाधारण कर्मका धनी दिनेश जीवनमा कहिले संघर्ष गर्न थाकेनन् । उनी  काम गरेर प्रचारभन्दा प्रभावलाई महŒव दिन्छन् । सानैदेखि दूरदराजमा बसेर सामाजिक कार्यमा समर्पित दिनेशले समाजका लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

को हुन् दिनेश ?
दिनेश उत्तरी धादिङको रुविभ्याली गाउँपालिका–५, कपुरगाउँमा जन्मिएका हुन् । २०३८ सालमा बुबा स्व.कर्णबहादुर तामाङ र आमा सिरिमाया तामाङको कोखबाट जन्मिएका हुन् उनी । परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन् । सानैदेखि सामाजिक काममा रुचि देखाउने दिनेश सरल, इमान्दार र सहयोगी स्वभावका रहेको गाउँले बताउँछन्।

दिनेश गरिब र विपन्न परिवारका जेठो छोरा हुन् । उनका ५ दिदी–बहिनीले पढ्न पाएनन् । छोरा भएकै कारण पढ्न पाएका दिनेशले बल्लतल्ल गाउँकै स्कुलबाट ०५४ सालमा एसएलसी पास गरे । एसएलसी त पास भए तर उच्च शिक्षाका लागि कि सदरमुकाम कि राजधानी काठमाडौँ धाउनुपर्ने बाध्यता थियो । उनलाई स्वास्थ्य क्षेत्रको विषयमा उच्च शिक्षा हासिल गरी गाउँका आमा, दिदी–बहिनीको सेवा गर्ने धोको थियो।

आमाले निगालो बेचेर दिएको ९ सय रूपैयाँ बोकेर दिनेश पढ्न काठमाडौँ हानिए । पढ्नलाई १ हजार १ सय रूपैयाँ चाहिन्थ्यो । नचिनेको ठाउँ, नचिनेको मान्छे दिनेशले पढाइ खर्च जोहो गर्न सकेनन् । आमाले दिएको रकममा २ सय रूपैयाँ थप्न नसक्दा उनी निराश हुँदै गाउँ फर्किए । तर, फर्किसकेपछि निराश भएनन् । गाउँमा आएर क्लबमा आबद्ध भए।

गरिबी, अशिक्षा, स्वास्थ्य अभावले थलिएका गाउँलेलाई सहयोग गर्न तल्लीन रहे । विभिन्न संघ–संस्थालाई गुहारेर पढ्न नपाएका भाइ–बहिनीलाई पढ्न सहयोग गरे । गाउँमा हेल्थपोस्ट समेत सञ्चालन गरे । गाउँलेका प्रिय बने । सामाजिक संस्थामा आबद्ध भएर गाउँकै काममा लागिरहेका दिनेशलाई एसएलसी गरेको १८ वर्षपछि एचए पढ्ने अवसर मिल्यो।

दिनेशका परिवारको नाममा कुनै पनि जग्गा छैन । बाजे, बाबुदेखि नै सुकुमबासी हुन् । गाउँमा उनको सानो झुप्रो थियो, त्यो पनि भूकम्पले भत्कायो । आफू खुला आकाशमा शरण लिएर पनि पढ्न नपाएका, उपचार नपाएर रोएका मनमा उनले मलमपट्टी लगाइदिए।

संयोगले बाँचेका दिनेश
२०७२ वैशाख १२ को दिन दिनेश सिन्धुपाल्चोकको नवलपुरमा थिए । कलेजको अन्तिम वर्षको स्टडीका लागि उनीसहितको २० जनाको टोली त्यहाँ पुगेको थियो । वैशाख १३ मा नवलपुर हेल्थपोस्टमा तालिम सञ्चालन गर्ने तयारी भइरहेको थियो । बिहानको खाना खाएर तालिम सञ्चालनका सामग्री तयारी गर्दागर्दै एक साथीले उनलाई बाहिर बोलाए, दिनेश निस्किए।

बाहिर निस्कनेबित्तिकै जमिन हल्लियो, होटल रहेको घर एकैछिनमा भत्कियो । २ साथी त्यहीं गुमे । बाँकी सबै गम्भीर घाइते भए । १६ जनामध्ये कसैको हात भाँच्चियो, कसैको खुट्टा र कसैको टाउको फुट्यो । संयोगले दिनेश सकुशल रहे । घाइते साथीलाई बटुलेर उनले अस्पताल पु¥याउन सफल भए। उनी अहिलेपनि सम्झन्छन्, ‘एक स्वास्थ्य स्वयंसेविकाले बाहिर नबोलाएको भए यतिबेला म जीवित हुन्थें वा मरिसक्थें, बाँचेकै भएपनि घरले पुरिएका साथीको उद्धार र एकीकृत बस्ती विकासको नेतृत्व गर्न चाहिँ अवश्य पाउने थिइनँ होला।’

भूकम्प गएको सातापछि मात्रै उनले गाउँको हालखबर बुझे । गाउँका घरबस्ती ढलेको, आफन्त गुमाएको पीडाले झन् उनलाई गलायो । उनले आफ्नै खर्चमा हेलिकप्टरबाट गाउँमा खाद्यान्न र त्रिपाल पुर्यााइदिए।

यसरी बन्यो नमुना बस्ती
भूकम्पबाट गाउँको घर सखाप बनेको खबर पाएपछि तत्काल हेलिकप्टरबाट गाउँ पुगेका दिनेशले गाउँलेको पीडा देख्न सकेनन् । घाइतेलाई तत्काल उपचारमा लगे । बाँचेका र सामान्य घाइतेलाई केही समय पहिरो नगएको समतल स्थान खोज्दै गाउँमै राखे । तर, दुर्गम गाउँमा न घाइतेले उपचार पाए, न सकुशल हुनेले खान पाए । खुला आकाशमुनि बालबच्चा र वृद्धवद्धाको बिचल्ली हेर्न नसकेपछि विभिन्न निकाय गुहारेर लापाको कपुरगाउँ र नेवेरका भूकम्पपीडितलाई ल्याएर ढोलामा शिविर बनाएर राखे।

मानवीय बस्ती बस्न नमिल्ने सिफारिस गरिएका रिगाउँ र लापाका ८ बस्तीको व्यवस्थापन सरकारले गर्न नपाउँदै विस्थापित आफैं जुर्मुराएका थिए । ध्वस्त भएको बस्ती र बारम्बार आइरहने परकम्पले विस्थापित कपुरगाउँ वृद्धवृद्धा, विपन्न र एकल महिलाले सदरमुकामनजिकैको ढोलाको भुवालेपानी र तल्लोआले आएर शिविर स्थापना गरेका थिए । त्यसपछि उनले नमुना बस्तीको अवधारणा बनाए।

असहाय बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाकी बोनी क्याप्सिनो (क्यानेडियन नागरिक) लाई दिनेशले लापाका पीडितको वास्तविकता सुनाए । फोटो, भिडियो देखाए । क्यानेडियन नागरिकले सहयोग गर्ने प्रतिबद्धता गरे । उनले जग्गा किन्न पहिलो चरणमा १४ र दोस्रो चरणमा १५ गरी २९ लाख रूपैयाँ सहयोग गरे । त्यही रकमले साविकको ढोला गाविस वडा ७ को भुवालेपानी र आलेगाउँमा ३८ रोपनी जग्गा किने । जहाँ लापाका भूकम्पपीडित बसेका थिए।

अहिले ५५ घरको सुन्दर नमुना बस्ती बनेको छ । यो बस्ती बनाउन सेतो गुम्बाअन्तर्गतको ‘राङज्युङ येसे सेनफेन’ स्पेनको माउन्टेनियर्स फर हिमालय फाउन्डेसन, द स्याल्वेसन आर्मी, चाइल्ड हेवेन इन्टरनेसनल, क्यानडा नेपाललगायतका संस्थाले आर्थिक सहयोग गरेका छन् । बस्ती निर्माणमा शिविरमा बस्ने भूकम्पपीडितको पनि योगदान छ।

दिनेशको सपना
एकीकृत बस्ती निर्माण गरेर मात्रै उनको दायित्व पूरा भएको छैन । बस्तीमा न्यून आय भएका एकल महिला, वृद्धवृद्धा, बालबालिका छन् । दैनिक गुजारा चलाउन र बालबालिकालाई पढाउन सीपयुक्त तालिम प्रदान गर्ने सोचमा छन् उनी । सहयोगीको साथ पाए एकीकृत बस्ती बनाएर उत्तरको रुविभ्याली, गंगाजमुना गाउँपालिकाका भूकम्प र पहिरोपीडितलाई बासस्थान व्यवस्था मिलाउने उनको सपना छ।

घर पाएकाहरूको दीगो जीवनयापनका लागि बस्तीमा होमस्टे सञ्चालन गरी पर्यटकीय क्षेत्रको विकास गरेर घरायसी आय बढाउने योजना छ उनको । बस्तीमा आर्जनका लागि होमस्टे सञ्चालन गर्ने, विभिन्न घरले हस्तकला उद्योग सञ्चालनमा ल्याउने, कुखुरा, पशुपालन, बेमौसमी तरकारी खेती कार्यक्रम र अन्य बस्तीमा पुनर्निर्माण गर्न दक्ष जनशक्ति पनि उपलब्ध गराउने दिनेशले बताए।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

Mbps र MBps को भिन्नता

Mbps र MBps को भिन्नता

इन्टरनेट स्पिड र फाइलको साइजको विषयमा Mb र MB को प्रयोग गर्दा प्रविधिको ज्ञान नभएका धेरै व्यक्तिहरु झुक्किने गर्दछन् |

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...