८ वैशाख २०८१ शनिबार
अर्थ

कृषि उपज बिक्री नगरपालिकाले गर्ने

पर्वत – किसानले उत्पादन गरेका सबै कृषिजन्य बस्तु बिक्री गर्ने जिम्मा फलेवास नगरपालिकाले लिने भएको छ।

किसानलाई उत्साहीत बनाउँदै कृषिमा व्यावसायिक बनाउने उद्देश्यले बिक्री नभएको सबै कृषिजन्य वस्तुको जिम्मा नगरपालिकाले लिने नगर प्रमुख पदमपाणि शर्माले बताए।

“किसानले बिक्री गर्न नसकेका अन्नबाली, तरकारी, दूध र अण्डा नगरपालिकाले किन्छ” उनले भने, “नगरभित्रका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्री गर्न अब समस्या हुनेछैन।” नगरपालिकाले नगरलाई अन्नबाली, तरकारी, दूध, अण्डा र मासुमा आत्मनिर्भर गराउने योजनाका साथ राहत र प्रोत्साहन मिल्ने कार्यक्रम सञ्चालन गरेको छ।

चालु आवमा फलेवास नगरपालिकाले करिब साढे दुई करोड लागतको किसान लक्षित कार्यक्रम सञ्चालन गरेको छ। “मुख्य उद्देश्य फलेवास नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हो,” उनले भने। नगरपालिकामा अहिले खाद्यान्न, तरकारी र मासु अन्य जिल्लाबाट नियमित रुपमा भित्रिने गरेको छ।

नगरपालिकाभित्र उत्पादन भएको दूध सदरमुकाम कुश्माबजार र स्याङ्जाको विभिन्न ठाउँमा बिक्री हुन्छ। नगरपालिकाको शंकरपोखरी, देवीस्थान, कुर्घा, पाङराङ, कार्कीनेटालगायत क्षेत्र तरकारी उत्पादनका पकेट क्षेत्रभित्र पर्छन्।

नगरपालिका प्रमुख शर्माले नगरपालिकाले एकीकृत गुरुयोजना निर्माण शुरु गरेको र त्यसअन्तर्गत कुन ठाउँमा कुन वस्तु बढी उत्पादन हुन्छ भन्नेबारे माटो परीक्षण गरेर लगानीका लागि योजना बनाउने तयारी गरेको बताए।   (रासस)

प्रकाशित: ११ वैशाख २०७५ ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App