८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा. कँडेल

काठमाडौं – सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. पुष्प कँडेललाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले आयोग सदस्यमा भने डा. कृष्णप्रसाद ओली, प्रा. उषा ठाकुर, दिलबहादुर गुरुङ, इ सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारलाई जानकारी दिए।

बन्द हडताल गर्न नपाइने
सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा बन्दहडताल गर्न नपाइने सम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ। मन्त्रिपरिषद्को अघिल्लो बैठकबाट भने यातायात क्षेत्रमा देखिएको एकाधिकार अन्त्य गर्ने सन्दर्भमा यातायात सेवा सञ्चालनका लागि कम्पनीमा दर्ता गर्न गराउन निर्देशन जारी गर्ने निर्णय भएको थियो। उक्त निर्णयप्रति यातायात व्यवसायीले असहमति प्रकट गर्दै आएका छन्।

सरकारले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय सहजीकरण समिति गठन गर्ने निर्णय गरेको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए।

तिलगंगा आँखा अस्पतालबाट हुँदै आएको आँखाको लेन्स उत्पादन कार्यका लागि सरकारले १० करोड अनुदान दिने निर्णय गरेको छ। बैठकले सरकारी पदाधिकारी एवं उच्चपदस्थ कर्मचारीको वैदेशिक भ्रमण सम्बन्धमा व्यवस्थापन गर्न बनेको निर्देशिका, २०७५ लाई स्वीकृत गरेको छ। सार्वजनिक सुरक्षा ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृत दिने निर्णय पनि भएको राज्यमन्त्री बाँस्कोटाले बताए।

कैलालीमा सञ्चालित रानीजमरा–गुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय संस्थामार्फत उपलब्ध हुने छ अर्ब ८६ करोड ऋण सहायता लिन बैठकले स्वीकृत दिने निर्णय गरेको छ । सरकारले राष्ट्रिय बसोबास व्यवस्थापन आयोग र त्यसका जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आजको बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोग, राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक र चिकित्सा विधेयकसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। रासस

प्रकाशित: ११ वैशाख २०७५ ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App