coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाइला–पाइलामा खतरा

काठमाडौं– एसएलसी सक्नुभयो ? प्लस टु अध्ययनको तयारी गरिरहनुभएको छ ? होसियार, अबको तपाईंको यात्रा पाइलै पाइलामा खतरा छ । उच्च शिक्षाको खतरनाक बाटो सचेततापूर्वक पार गर्नुपर्नेछ । सामाजिक अपराधका ज्ञाता कच्चा उमेर, निर्णय गर्ने क्षमता अभाव र आवेगमा आउने अपरिपक्व उमेर समूहका कारण यो यात्रा चुनौतीपूर्ण हुने बताउँछन् ।
खासगरी, यस उमेर समूहका युवासामु प्रमुख तीन चुनौती छन् :
साइबर अपराध
दुई जना एउटै कलेज र एउटै कक्षामा पढ्ने साथीबीच सम्पर्क मात्र होइन, सिकाइ र सूचनाको आदानप्रदान गर्ने सरल माध्यम बनेको थियो– फेसबुक । घरमा वाइफाई छँदै थियो । कक्षाका कुरा बिस्तारै विपरीत आकर्षणमा परिणत हँुदै गयो । दुवैले च्याटमै प्रेमालाप गर्न थाले, तस्बिर आदानप्रदान हुन थाल्यौ ।
यो क्रम मुस्किलले एक वर्ष पनि चलेन । बिस्तारै दुवैमा मनमुटाव हुन थाल्यो । कुनै समय लहलहैमा युवतीले पठाएको एउटा गोप्य तस्बिर उनले रिसको झोकमा फेसबुकमा पोस्ट गरे । हतारमा युवतीका घरपरिवार महानगरीय अपराध अनुसन्धान महाशाखाको सम्पर्कमा गए । महाशाखाको साइबर सेलले फोटो हटायो र उक्त कार्यमा संलग्न युवकलाई साइबर अपराधअन्तर्गत नियन्त्रणमा लियो ।
दुवै परिवारले घटनाबाहिर गए परिवारकै इज्जत जाने भन्दै आपसी सहमति गरे । मेलमिलाप प्रक्रियामा महाशाखाले सहमति दियो । यस घटनाको प्रसंग त यही सकियो तर दैनिक दुईदेखि १० वटासम्म यस्ता उजुरीउपर महाशाखाले छानबिन गरिरहेको छ ।
‘विदेशबाट मायाले ल्याइदिएको उपकरणले गरेको अपराधपछि धेरै अभिभावक हाम्रो सम्पर्कमा आउनुहुन्छ, हामी बुझाएर पठाउछौं तर सबैलाई बुझाउन सम्भव छैन,’ महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने । उनले बढ्दो विद्युतजन्य अपराधका पछाडि यसबाट हुनसक्ने सजाय र प्रभावप्रतिको अनभिज्ञता पनि कारक रहेको सुनाए ।
महाशाखाको तथ्यांकअनुसार यस आर्थिक वर्षको असार ५ गतेसम्म सातसय २८ साईबर क्राईमका उजुरी दर्ता भएका छन । जसमध्ये जम्मा २१ वटा घटनामा मात्र मुद्दा अदालतमा दर्ता भएको छ । गत वर्ष महाशाखामा दर्ता भएका ३ सय ११ उजुरीमध्ये सात वटा घटना मात्र अदालत पुगेको थियो ।
महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौं उपत्यकामा भएका साइबर अपराधको अनुसन्धान गर्ने एक मात्र निकाय हो । महाशाखाले एसएमएस, इमेल, फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालबाट हुने अपराधको अनुसन्धान गर्छ । कसैलाई एसएमएस, फेसबुक वा अन्य म्यासेन्जरबाट अश्लील सन्देश लेखेर पठाउने, अश्लील र असामाजिक तस्बिर र भिडियो राख्ने तथा समाजलाई प्रत्यक्ष असर गर्ने वा सामुदायिक, धार्मिक र जातीय हिंसा भड्काउने कुनै पनि सामग्री पोस्ट गरे साइबर अपराध मानिन्छ । कसैको चरित्रहत्या हुने सन्देश, तस्बिर र भिडियो पोस्ट गरे तत्काल प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन सक्छ ।
महाशाखाका अनुसार इन्टरनेटको अत्यधिक प्रयोग गर्ने सन्तानका अभिभावकले उसले के गर्छ भन्ने जानकारी राख्नु साइबर अपराध रोक्ने पहिलो चरण हो । यसका लागि अश्लील साइट इन्टरनेट सेवाप्रदायकको सहयोगमा रोक्न सकिन्छ । यस्तै साथीभाइ बनाउँदासमेत सचेत र सजग रहन आवश्यक छ ।
‘साइबर क्राइमका सम्बन्धमा सर्वसाधारणमा सूचना प्रवाह गर्न अभियान नै चलाउन आवश्यक छ, यसका विषयमा नव युवायुवतीलाई मात्र होइन, अभिभावकसम्मलाई जानकारी हुनुपर्छ,’ एसएसपी खनालले भने ।
लागुऔषध
प्रहरीले वैशाखको अन्तिम साता ललितपुर भैंसेपाटीको एउटा घरमा आफ्नै साथीले लाखौंको धनमाल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ ग¥यो । घटनामा चोरी भएको घरकी छोरीसँग नियमित सम्पर्क र आउजाउ हुने अर्की युवतीको संलग्नता पुष्टि भयो । अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भन्छन्– कलेज पढ्ने ती युवतीको दुव्र्यसन नै चोरी पछाडिको मुख्य कारण रहेछ । महँगो लागुऔषधका लागि रकम जोहो गर्न ती युवतीले आफ्नै साथीको सहयोगमा आफ्नै घरमा चोरीको योजना बनाएकी थिइन् ।
कालिमाटी प्रहरीले केही दिनअघि आइएमआई लुटपाट घटनामा पक्राउ परेका दुई जना कलेज पढ्ने युवा मोजमस्तीका लागि रकम जुटाउन डकैतीजस्तो जघन्य अपराधमा संलग्न रहेको अनुसन्धानमा भेटिएको छ । प्रहरीमा रकमकै लागि आफ्नै अपहरण गरेको नाटक रच्नेदेखि लागुऔषध ओसारपसार र बटुवा लुट्नेसम्म घटनामा नव युवायुवतीको संलग्नता पुष्टि हँुदै आएको छ ।
‘छोराछोरीको अवस्था, रहनसहन, ब्यवहार र संगत सबैमा पहिलो निगरानी अभिभावक, दोस्रो विद्यालय र कलेज अनि तेस्रोमा सुरक्षा निकायले गर्न जरुरी छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापा भन्छन्, ‘आधुनिकताका नाममा हुने अश्लीलता र विकृति अपराधको पहिलो खुट्किलो देखियो ।’
प्रहरीका अनुसार पक्राउ परेका दुव्र्यसनीका शरीरमा हुने विभिन्न आकारका ट्याटुका पछाडि उसको ब्यवहार, संगत र कारोबार प्रस्ट हुने गर्छ ।
‘धुम्रपानको जथाभाबी सेवन र बिक्रीवितरणउपर प्रहरीको कारबाही पनि नयाँ पुस्ताको बचाउका लागि हो,’ दुव्र्यसनको पहिलो चरण चुरोट र सुर्तीजन्य पदार्थ सेवन र प्रयोग नै हो,’ एसएसपी थापाले थपे । उनका अनुसार हालसम्म प्रहरीले नियन्त्रणमा लिएर जानकारी दिँदै पहिलोपटकलाई छाडेका ५० हजारमध्ये अधिकांश विद्यालय र कलेजका युनिफर्ममै छन् । कारबाहीमा परेर जरिवाना तिर्ने ७० हजारमा समेत स्कुले केटाकेटीको संख्या अधिक छ ।
प्रहरीले यसबारे काठमाडौंका एक सय ५० विद्यालय र कलेजका विद्यार्थीसँग अन्तर्कियासमेत गरेको छ ।
जिज्ञासा र यौन अपराध
एसएलसीपछि बालबालिकाले आफूलाई युवक र युवती भएको पहिलो अनुभव गर्छन् । विद्यालयभन्दा केही बढी पारिवारिक र सामाजिक स्वतन्त्रता, केही धेरै साथीभाइ र सम्पर्क अनि नयाँ स्थान र घुमघामको वातावरण ।
‘विपरीत लिंगीप्रतिको आकर्षण र निकटतासँगै उत्पन्न जिज्ञासाको सही समाधान हुन जरुरी हुन्छ, हामीकहाँ प्लस टु पढ्दापढ्दै प्रेम सम्बन्धपछि शारीरिक सम्बन्ध र भागेर विवाह गरेका घटना आउने गरेका छन्,’ ललितपुर प्रहरीप्रमुख एसएसपी पिताम्बर अधिकारीले भने । उनका अनुसार यौनजिज्ञासामै हुने गरेका यौन अपराधका पीडित र पीडक दुवै नवयुवायुवती रहेका घटना प्रहरीमा आउने क्रम बढेको छ ।
‘सामूहिक रुपमा वनभोजमा गएका साथीभाइबाट बलात्कार भएका देखि आफ्नै अभिभावक र आफन्त तथा शिक्षकबाटै यौनहिंसामा परेका घटनासमेत आउने गरेका छन्,’ एसएसपी अधिकारीले भने । उनका अनुसार महानगरमा भन्दा ग्रामीण क्षेत्रमा यौन हिंसा र यौन अपराधका घटना बढी हुने गरेको तथ्यांकमा देखिएको छ । ‘काठमाडौं उपत्याकामा देशका विभिन्न भागबाट अध्ययन गर्न आउने नव युवायुवतीमा यो समस्या बढी देखियो,’ उनले सुनाए ।
बालसुधार गृह भक्तपुर, कास्की र मोरङमा रहेका कुल २ सय ३४ नावालिग अभियुक्तमध्ये एक सय ५० जना यौनजन्य अपराधमा सुधारका लागि त्यहाँ राखिएका हुन् । भक्तपुरमा एक सय १८, कास्कीमा ६२ र विराटनगरमा ५४ जना नावालिग अभियुक्तलाई सुधारगृहमा राखिएको छ । तथ्यांकअनुसार भक्तपुरमा एक सय १८ मध्ये ८४, कास्कीमा ६२ मध्ये ३२ र विराटनगरमा ५४ मध्ये ३४ जना बालक जबर्जस्ती करणी मुद्दामा सुधारगृहमा छन् । कर्तव्यज्यान मुद्दामा भक्तपुरमा १३ जना, कास्कीमा १८ र विराटनगरमा ८ जना छन् ।

 

प्रकाशित: ८ असार २०७३ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App