६ वैशाख २०८१ बिहीबार
राजनीति

‘ओलीजी देशको विकास होइन शक्ति सञ्चयकाे खेलमा लागे’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति सम्शेर राणाले वर्तमान सरकार शक्ति सञ्चयको खेलमा लागेको आरोप लगाएका छन्। 

प्रधानमन्त्रीले आफूलाई शक्तिशाली बनाउन सुरक्षा लगायत शक्तिशाली निकायलाई आफ्नो मातहतमा ल्याउने काम गरेको भन्दै अध्यक्ष राणाले यसबाट उनी देशको विकासभन्दा पनि शक्ति सञ्चयतर्फ केन्द्रित हुन लागेको देखिन्छ’, उनले भने– ‘शक्ति सञ्चयभन्दा मुलुकको अनुहार फेर्ने काममा एकलव्य भएर समर्पित हुनुभयो भने प्रधानमन्त्रीलाई सबै दलहरुको सहयोग र समर्थन रहने छ। हाम्रो पनि सहयोग र समर्थन रहने छ।’ 

विकास निर्माणका क्षेत्रमा वर्तमान सरकारको रबैया खास दीर्घकालिन योजनासहितको नदेखिएको राणाको भनाई थियो।
मुलुकले लामो संक्रमणकाल पार गरी राजनीतिक स्थिरता प्राप्त गरेको उल्लेख गर्दै उनले तर, सरकार निर्माणको बेला देखा परेको जनउत्साहले निरन्तरता पाउनेमा संशय छाएको टिप्पणी समेत गरे। 

अहिले नेपालीहरु रेलको लहरमा लागेको भन्दै केरुङबाट चीनको रेल काठमाडौं हुँदै लुम्बिनीसम्म आउनुपर्ने र रक्सौलबाट भारतीय रेल काठमाडौं आउनुपर्नेमा उनको जोड थियो। ‘तर, निजगढ विभानस्थल के हुने? पञ्चेश्वर परियोजना के हुने? सरकारले स्पष्ट पार्न आवश्यक छ। हामीलाई रेलसँगै विमानस्थल, विद्युत लगायत यसअघिका सबै योजना सम्पन्न गर्नुपर्ने चुनौती छ। यो चुनौतीको सामना कसरी गर्ने? यसमा सरकारको ध्यान गएको छ कि छैन्? म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने। 

राप्रपाका सबै धारलाई एउटा सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको अभियानमा सहभागी हुन आह्वान गर्दै अध्यक्ष राणाले सनातम धर्म तथा संस्कृतिमाथि भइरहेको आक्रमण सैह्य नभएको बताए। ‘सनातन संस्कृति संरक्षण भएन भने अगाडि बढ्न सकिँदैन्। यो मुलुकको पहिचान, संस्कृति र परम्परा संरक्षित हुनुपर्छ भन्ने मान्यता हामी राख्छौं। यी कुरा मेटिएको हामी सहन सक्दैनौं। यसका विरुद्ध दरो लड्छौं’, उनले भने।

नयाँ बर्ष २०७५ को अवसरमा राजधानीमा आयोजित शुभकामना आदानप्रदान समारोहमा अध्यक्ष राणाले राप्रपाबाट फुटेका शक्तिहरुबीच एकताको विकल्प नभएको दाबी गरे। ‘हामीबीचको विभाजनले जनतामा सकारात्मक सन्देश गएको छैन्। तसर्थ, प्रजातान्त्रिक शक्ति पछि धकेलियौं। अब गाउँ, वार्ड तहसम्म संगठन विस्तार गर्छाैं। पुन शक्तिशाली भएर आउँछौं’, उनले सुनाए।

प्रकाशित: १० वैशाख २०७५ १०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App