८ वैशाख २०८१ शनिबार
समाज

‘बाबालाई अब अक्टुबर आउँदैन’

काबुलमा मारिएका जितेन्द्र थापाका छाेरा र श्रीमती बुटवल देवीनगरस्थित घरमा भावविह्वल अवस्थामा ।

बुटवल–अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान आत्मघाती आक्रमणबाट मारिएका जितेन्द्रसिंह थापाको घरमा सन्नाटा छ । मंगलबार दिउँसो बुटवल—१३, देवीनगरस्थित थापाको घर पुग्दा छिमेकी र नातेदार श्रीमती गौमती र छोरा विमललाई सम्झाइबुझाइ गर्दै थिए । ‘जे भयो भइसक्यो, अब समालिनुपर्छ,’ छिमेकी महिलाले यसो भन्दै गर्दा गौमती आफूलाई समाल्ने प्रयास गर्दै थिइन् । दुई छोराका साथ गौमती देवीनगर बस्छिन् ।
१७ वर्ष भारतीय सेनामा काम गरेपछि आठ वर्षअघि पेन्सन निस्केका थिए थापा । पेन्सन निस्केको केही वर्षपछि उनी अफगानिस्तान काम गर्न गएका थिए । पछिल्लोपटक बिदा मनाउन आएका उनी फागुनमा काबुल फर्केको छोरा विमलले बताए । दुई छोरामध्ये जेठा  मनीषले कक्षा १२ मा र कान्छा विमलले कक्षा ११ मा पढ्छन् ।

विमलसँंग आइतबार साँझ जितेन्द्रले कुरा गरेका थिए । हरेक दिनजसो जितेन्द्रले परिवारजनसँग फोनबाट कुराकानी गर्दै आएका थिए । बेलायती सेनामा भर्तीको तयारीमा लागेका विमललाई जितेन्द्रले त्यसबारेमो सोधेका थिए । ‘भर्तीको तयारीबारे सोध्नुभयो, मम्मी र दाइको सञ्चोबिसञ्चोबारे पनि बुबाले सोध्नुभयो,’ विमलले भने, ‘अक्टुबरमा घर आउने कुरा गर्नुभएको थियो तर अब नआउने हुनुभयो ।’
घटना सोमबार बिहान भए पनि थापा परिवारले साँझ मात्रै थाहा पाएका हुन् । ‘पहिले टिभीमा समाचारले भन्यो,’ आफन्तजनले भने, ‘पत्यार लागेन, अनलाइन खोलेर हेरें, सबैतिर यही समाचार थियो, फेसबुक पनि अघिल्लो दिनदेखि एक्टिभ थिएन,’ विमलले भने, ‘विश्वास नगरी सुखै भएन ।’

परिवारजनले जितेन्द्रको शव घरमै ल्याइदिन सरकारसँग आग्रह गरेका छन् । ‘नहुनु भयो, हामी यहीं शवको दाहसंस्कार गर्न चाहन्छौं,’ श्रीमती गौमतीले भनिन् ।

 

प्रकाशित: ८ असार २०७३ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App