७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

सरकारविरोधी प्रदर्शनको रिपोर्टिङ गरिरहेका पत्रकार मारिए

तस्बिर : एजेन्सी

निकारागुवा –  निकारागुवामा भइरहेको सरकार विरोधी प्रदर्शनको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिरहेका एक पत्रकारको गोली लागेर मृत्यु भएको छ।

एन्जल गाहोना नामक ती पत्रकारले क्यारेबियन टापु सहर ब्लूफिल्ड्समा प्रदर्शनका कारण एउटा बैंकमा भएको क्षतिका बारे शुक्रबार फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरिरहेकै बेला उनलाई गोली लागेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

मिडियो फुटेजमा गोली लागेका उनी भुइँमा लडेको र रगत बगिरहेको देखिएको छ। निकारागुवाका राष्ट्रपति ड्यानियल अर्टेगा नेतृत्वको सरकारले बुधबार पेन्सनसम्बन्धी व्यवस्थामा गरिएको परिवर्तन स्वीकृत गरेपछि सुरु भएको सरकार विरोधी प्रदर्शनका कारण एक पत्रकारसहित दुई दर्जन मानिसको मृत्यु भइसकेको छ। सरकारले मजदुर र कामदारबाट पेन्स कोषमा योगदानको वृद्धि गर्दै समग्र फाइदामा ५ प्रतिशत घटाएको छ।

\प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई राष्ट्रपति अर्टेगाले वार्तामा आउन आह्वान गरे पनि प्रदर्शनकारीको नेतृत्व गरिरहेका नेताहरुले भने पहिले प्रहरीको हिंसा रोकिनु पर्ने माग गर्दै वार्तामा बस्न अस्वीकार गरिरहेका छन्। प्रदर्शनकारीले सरकारी भवनमा क्षति पुर्याउने र आगजनी गर्ने थालेपछि सरकारले देशका विभिन्न सहरमा सरकारी फौज तैनाथ गरेको छ। शनिबार भएको प्रदर्शनमा मानागुवास्थित पोलिटेक्निकल विश्वविद्यालयका विद्यार्थीले क्याम्पस प्रवेशद्वारमा बार लगाएपछि सरकारी फौजले बल प्रयोग गर्दा कम्तीमा सय विद्यार्थी घाइते भएका थिए।

यसैबीच निकारागुवामा भइरहेको प्रदर्शन रोक्न धर्म गुरु पोप फ्रान्सिस्ले आग्रह गरेका छन्। उनले देशमा जारी हिंसा तत्काल अन्त्य गरी विविधताको समाधान शान्तिपूर्ण तरिकाले गर्नसक्ने आग्रह गरेका छन्। निकारागुवाको सरकार विरोधी प्रदर्शनका कारण हालसम्म २५ भन्दा बढीको मृत्यु भइसकेको एउटा मानवअधिकारवादी समूहले जनाएको छ।

ब्लूफिल्ड्समा शुक्रबार भएको घटनाको सार्वजनिक भएको भिडियोमा पत्रकार गाहोनाले फेसबुकमा प्रत्यक्ष प्रसारणमा बैंकको क्यास मेसिनमा भएको क्षतिका बारेमा बोलिरहेकै बेला एक्कासी उनीमाथि गोली प्रहार भएको देखिएको छ। गोली लागेपछि उनी भुइँमा लडेर छट्पटाइरहेको र उनको नाम लिँदै मानिसहरु आत्तिएर सहयोग गर्ने प्रयास गरिरहेको देखिएको छ। पत्रकार गाहोनालाई किन र कसले गोली प्रहार गर्यो भन्ने विषय भने अझै प्रस्ट नभएको बिबिसीले उल्लेख गरेको छ।

निकारागुवाको राष्ट्रपतिका रुपमा सन् २००७ मा पदभार सम्हालेदेखि राष्ट्रपति अर्टेगा प्रशासनका लागि पछिल्लो प्रदर्शन पहिलो ठूलो चुनौती भएको बताइएको छ।

प्रकाशित: १० वैशाख २०७५ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App