८ वैशाख २०८१ शनिबार
समाज

बरामद् गोलियाको जरा खोज्दै वन कर्मचारी

बुधबार राती सर्लाहीको जानकीनगरबाट बरामद् सालका गोलियाहरु। तस्बिर : टंक/नागरिक

सर्लाही – इलाका वन कार्यालय जानकीनगरका कर्मचारी केही दिनअगाडी बरामद् सालका गोलियाको जरा खोज्न व्यस्त बनेका छन्।

हरिपुर–१ जानकीनगरबाट गत बुधबार राती बरामद् ११८.७४ क्यूविक फिट सालका टुनाको जरा खोज्न वनका कर्मचारी परिचालित भएका हुन्। तस्करी हुँदै गरेको अवस्थामा बरामद् गोलियाको जरा स्थानीय जानकीनगर साझेदार वन क्षेत्रमा खोज्ने काम भईरहेको ईलाका वन कार्यालय जानकीनगरका सहायक वन अधिकृत कृष्णदेव यादवले जानकारी दिए। ‘साझेदार वनको क्षेत्रफल १२ सय हेक्टर भन्दा बढी भएकाले पत्ता लगाउन समस्या भईरहेको छ’, उनले भने, ‘दिनरात कर्मचारी जरा खोज्न तथा अन्य कटान भएको हुन सक्ने अनुमानका साथ गस्ती बढाईएको छ।’

बरामद् गोलिया काटिएको एउटा जरा फेला परेको र अझै खोजी कार्य जारी रहेको सहायक वन अधिकृत यादवले जानकारी दिए। वनका कर्मचारीले २ देखि ३ वटा ठूला रुख काटिएको अनुमान गरेका छन्।

पूर्व–पश्चिम राजमार्गबाट ७ किलोमिटर दक्षिण जानकीनगर साझेदारी वन क्षेत्रबाट गाउँतर्फ टायरगाढामा लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी र वन कर्मचारीको संयुक्त गस्ती टोलीले बुधबार राती साँढे २ बजे १२ थान गोलिया बरामद् गरेको थियो। काठ ओसार्दै गरेको अवस्थामा हरिपुर–१, जानकीनगरका वैद्यनाथ राम र हरिपुर–२, पिडारी निवासी जीतु रायलाई नियन्त्रणमा लिई कारबाही प्रकृया अगाडी बढाईएको सहायक वन अधिकृत यादवले जानकारी दिए।

७ वटा टुना ओसारिरहेको टायरगाढा सहित पक्राउ परेका दुईजनाको बयानका आधारमा गाउँ नजिकै खेतमा थुपारेर राखेका थप ५ वटा टुना समेत गस्ती टोलीले बरामद् गरेको छ। उक्त ५ वटा टुना समेत ओसार्नका लागि ठिक्क पारेर राखिएको एक टायरगाढा, २ वटा गोरु समेत बरामद् भएको वन कार्यालयले जनायो।

प्रकाशित: १० वैशाख २०७५ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App