८ वैशाख २०८१ शनिबार
समाज

पत्रकार आचारसंहिता पालनामा जोड

काठमाडौं– सञ्चारकर्मीले पेशागत मर्यादा बढाउन पत्रकार आचारसंहिता पालनामा जोड दिएका छन्। चलचित्र पत्रकार संघद्वारा आइतबार आयोजित एक दिने कार्यशाला गोष्ठीमा सहभागीहरुले विश्वसनीयता बढाउन संहितामा जोड दिएका हुन्।

काठमाडौंमा भएको कार्यक्रममा कला क्षेत्रको समाचार सम्प्रेषणमा संलग्न एक सय १० जना सञ्चारकर्मी सहभागी थिए। अनलाइन पत्रकार संघका संस्थापक अध्यक्ष केपी ढुंगानाले सहभागीहरुलाई अनलाइन पत्रकारिता र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए भने फोटो पत्रकार संघका अध्यक्ष विकास कार्कीले फोटो पत्रकारितासम्बन्धी प्रशिक्षण दिएका थिए।
कार्यक्रममा पत्रकार आचारसंहिता, अनलाइन पत्रकारिताको विकास र वर्तमान अवस्था, प्रेस कानुन र विद्युतीय कारोबार ऐन, बढ्दो युट्युबकारिता, त्यसको प्रभाव र चुनौती, फोटो खिच्ने कला र कपिराइट कानुन लगायतका विषयमा छलफल भएको थियो। 

अनलाइन सञ्चारमाध्यम र सञ्चारकर्मीको संख्यामा उल्लेख्य वृद्धि भए पनि समाचार प्रस्तुति र गुणस्तर सोही रुपमा विश्वसनीय हुन नसकेको टिप्पणी गर्दै ढुंगानाले आचार संहिताको पालनामा जोड दिएका थिए। ‘पेशाको मर्यादा राखे मात्र पेशामा संलग्नको पनि मर्यादा रहने हो,’ शुक्रवार साप्ताहिकका सम्पादक समेत रहेका ढुंगानाले भने, ‘अनधिकृतरुपमा समाचार, तस्बिर, भिजुअल कपी गरेर प्रकाशन–प्रशारण गर्ने र विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत गर्ने शैलीबाट सञ्चारकर्मी जोगिनुपर्छ।’

संहिताको बेवास्ता गर्दा विद्युतीय कारोबार ऐन, गाली बेइज्जती ऐन लगायतका कानुनअनुसार सजायको भागिदार बन्नुपर्ने उल्लेख गर्दै उनले ‘कानुनको अज्ञानता क्षमा नहुने’ भएकाले दुर्घटनाबाट जोगिन पनि संहिताको विशेष ख्याल गर्न आग्रह गरेका थिए। 

कार्यक्रमका अर्का प्रशिक्षक विकास कार्कीले फोटो र दृश्य खिच्दा अपनाउनुपर्ने सावधानी नअपनाउँदा पत्रकारिताकै खिल्ली उड्ने गरेको भन्दै कुन अवस्थामा कसरी तस्बिर र दृश्य खिच्नेबारे जानकारी गराएका थिए। ‘कलाकार मदनकृष्ण श्रेष्ठको श्रीमतीको देहान्तपछि तस्बिर र दृश्य खिच्दा केही सञ्चारकर्मीले देखाएको व्यवहारले पूरै पत्रकारिता क्षेत्रकै आलोचना भयो,’ कार्कीले भने, ‘कुन अवस्थामा कसरी तस्बिर खिच्ने भन्ने विषयमा फोटो पत्रकार पहिल्यै सजग हुनुपर्छ।’

उनले सामाजिक सञ्जालमा राखिने तस्बिर सार्वजनिक प्रयोगका लागि अनुमति लिनुनपर्ने भन्दै सञ्चारकर्मीलाई सामाजिक सञ्जालको प्रयोगमा सजग हुन आग्रह गरेका थिए। कार्यक्रममा संघका अध्यक्ष सन्दिप सापकोटाले सञ्चारकर्मी र सञ्चारमाध्यमको विश्वसनीयता बढाउन संघले कार्यशालाको आयोजना गरेको बताउँदै मर्यादित पत्रकारितामा जोड दिएका थिए। कार्यक्रम संयोजक तथा संघका महासचिव अनिल यादवले कला पत्रकारितामा सक्रिय सञ्चारकर्मीको क्षमता बढाउन कार्यक्रमको आयोजना गरिएको बताए। 

पछिल्लो समय विश्वमै धेरै पढिने विधामा मनोरञ्जन समाचार पर्ने उदाहरण दिँदै कान्तिपुर साप्ताहिकमा आबद्ध पत्रकार कृष्ण भट्टराईले आचारसंहिता पालनामा पत्रकार स्वयम् प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका थिए। करिब १ सय १० जना संचारकर्मी सहभागी कार्यशालामा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। 

प्रकाशित: ९ वैशाख २०७५ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App