coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गाउँकार्यपालिकाको बैठक स्थानीयले बिथोले

खोटाङ – गाउँपालिकाको कार्यालय सार्न लागिएको भन्दै खोटाङको बराहपोखरी गाउँपालिकाका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिमाथि हातपात भएको छ।

हालसम्म अस्थायीरुपमा बराहपोखरी गाउँपालिका–३ साउनेचौंरबाट सञ्चालन हुँदै आएको गाउँपालिकाको कार्यालयलाई यथास्थानमा राख्नुपर्ने पक्षमा दवाव सिर्जना गर्नका लागि साउनेचौंरका स्थानीयले गाउँ कार्यपालिकाको बैठक चलिरहेकै समयमा गाउँपालिका प्रमुख शालिकराम बञ्जरा, उपप्रमुख गोमा मगर, वडाध्यक्ष एवं कार्यपालिका सदस्यमाथि हातपात गरेका हुन्।

स्थायी केन्द्र तोकिएको बराहपोखरी गाउँपालिका–४ फाक्टाङस्थित बाघखोर भञ्ज्याङमा गाउँपालिकाको भवन निर्माणका लागि प्राप्त भएको जग्गा पास गर्नका लागि सिफारिस दिने लगायतका निर्णयका लागि शनिबार बसेको कार्यपालिकाको सदनमै आक्रमण प्रयास भएको उपप्रमुख गोमा मगरले बताईन्। स्थानीयले जनप्रतिनिधिमाथि हातपात गर्न थालेपछि कार्यपालिका बैठक बिथोलिएको छ।

समस्या समाधानका विषयमा आइतबार छलफल राखिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए। ‘असन्तुष्ट पक्षले बैठक कक्ष प्रवेश गरेर कुर्सी फालिदिए, हातपात गरे,’ गाउँपालिका प्रमुख बञ्जराले भने, ‘बाघखोरमा प्राप्त भएको जग्गा पास गर्नका लागि सिफारिस दिनबाट रोक्नका लागि हामीमाथि आक्रमण गरेको बुझिएको छ।’

गाउँसभाको सिफारिस अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बराहपोखरी गाउँपालिकाको केन्द्र बाघखोर तोकेको थियो। गाउँपालिकाको केन्द्र यथास्थानमा राख्नुपर्ने पक्षमा साउनेचौंरका वडाध्यक्ष शम्भु निरौला समेत उभिएको बताइएको छ। जनप्रतिनिधिको सुरक्षा चिन्ता बढेपछि प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए।

प्रकाशित: ९ वैशाख २०७५ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App