८ वैशाख २०८१ शनिबार
समाज

क्यान्सरपीडित बालकलाई उपचार खर्च अभाव

क्यान्सर भएर अस्पतालमा उपचार गराइरहेका इलाम नगरपालिका–४ का १४ वर्षे बालक ऋतिक घिमिरे । तस्बिर : नागरिक

इलाम – इलाम नगरपालिका–४, बरबोटेका १४ वर्षीय बालक ऋतिक घिमिरे रगतको क्यान्सरबाट पीडित भएर अस्पतालमा थलिएका छन् । भरतपुर अस्पतालमा रहेका ऋतिकको उपचारमा ३० लाख रुपैयाँ लाग्ने भएपछि अत्यन्त निम्न आर्थिक अवस्थाको उनको परिवारमा ‘बज्रपात’ आइलागेको छ। 

गत चैत ८ देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)कै बेला अचानक बिरामी भएका ऋतिकले अस्पताल बस्नुपर्दा २ विषयको परीक्षासमेत दिन पाएनन् । सदरमुकामको ज्योति विद्या मन्दिरमा अध्ययनरत बालक ऋतिकलाई परीक्षा दिँदादिँदै ज्वरो आएर इलाम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल रेफर ग¥यो । बिर्तासिटीले क्यान्सर आशंका गरी भरतपुर अस्पताल रेफर गरेको थियो। 

भरतपुर अस्पतालका चिकित्कसले गरेको जाँचमा ऋतिकको रगतमा क्यान्सर देखिएको उनका परिवारजनले जनाएका छन्। ‘बालकको रगतमा ‘एएमएलएम–३’ प्रकारको क्यान्सरको लक्षण ५८ प्रतिशत देखिएको डाक्टरले सुनाएपछि छाँगाबाट खसेका छौं,’ ऋतिककी फुपूदिदी फाल्गुणा घिमिरेले भनिन्, ‘उपचारमा ३० लाख रुपैयाँ लाग्छ भनेका छन्, कहाँबाट ल्याउनु त्यत्रो रकम ?’ ऋतिकलाई शरीरमा रगत उत्पादन नहुने समस्या पनि देखिएको उनले सुनाइन्। 

ऋतिकको परिवारको आर्थिक अवस्था ज्यादै कमजोर छ। उनका बुबा पूर्णबहादुर र आमा बिनाको जग्गा–जमिन ८–१० रोपनी मात्रै छ। त्यही जमिनमा खेतीपाती गरेर जसोतसो गुजारा चलाइरहेका ऋतिकलाई बचाउन परिवारजनले सहयोग अपिल गरेका छन्। परिवारले हातमुख जोर्ने खर्च उबारेर सदरमुकामको स्कुलमा ऋतिकलाई पढाइरहेपनि उनले एसइईमा गणित र इच्छाधीन गणित विषयको परीक्षा दिनै पाएनन्। 

‘अब परिवारले कम्तीमा ३० लाख रुपैयाँ खर्च जुटाउनुपर्ने भएको छ, जुन रकम हाम्रो कल्पनाभन्दा बाहिरको हो,’ ऋतिकका काका नारायणले भने, ‘रकम जुटाउने बाटो नै पत्ता लगाउन सकेका छैनौं ।’ उपचार खर्च संकलनका लागि स्थानीयले नारायणकै संयोजकत्वमा ‘ऋतिक घिमिरे बचाउ समिति’समेत गठन गरेका छन् । प्रभु बैंकमा रहेको खातामा अहिलेसम्म करिब १ लाख रुपैयाँ जम्मा भएको नारायणले सुनाए । ऋतिकका बुबा पूर्णबहादुर छोराको जीवन बचाइदिन सबैसँग हारगुहार गरिरहेका छन्।

एसइईजस्तो महत्त्वपूर्ण परीक्षा दिन नपाएका ऋतिकको अहिलेसम्मको सबै शुल्कसमेत मिनाहा गरिदिएको विद्यालयका प्रिन्सिपल गणेश खतिवडाले बताए । ‘बाल्यकालमा निकै जटिल रोग लागेका ऋतिकलाई बचाउनु हामी सबैको कर्तव्य हो,’ खतिवडाले भने, ‘स्कुलको शुल्क मिनाहा गरिदिने मात्र होइन, उनको उपचारका लागि सहयोग रकम जुटाउन हामी सबै लागिपर्छौं, उनको उपचारमा सहयोग गर्न सबैलाई आग्रह पनि गर्छाैं ।’ 

बालक ऋतिकलाई पहिलादेखि कुनै रोग थिएन । अचानक उनी रोगले थलिएपछि अस्पताल पु¥याएको उनका काका नारायणले बताए। ‘भरतपुरका डाक्टरले ऋतिकको उपचार सम्भव छ, उपचार सफल हुन्छ भनेकाले उनलाई बचाउन लािगपरेका छौं,’ उनले भने, ‘सबैले सकेसम्म सहयोग गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वास छ, हामी सबैको सहयोगले नै भतिज ऋतिकले पुनर्जीवन पाउने छन्।’ 

ऋतिक यतिबेला भरतपुर अस्पतालमै छन् । ‘हिजोमात्र एमआरआई गरिएको छ । त्यसको रिपोर्ट आएको छैन तर आजदेखि उनको देब्रे खुट्टा चल्न छाडेको छ,’ फाल्गुणाले शनिबार भनिन्, ‘एमआरआईको रिपोर्ट हेरेपछि किमो दिने डाक्टरको सुझाव छ ।’ उपचार सफल हुने तर सफल भएपछि पनि ६ महिनासम्म ऋतिकलाई अस्पतालमै राख्नुपर्ने, ३ वर्षसम्म निरन्तर डाक्टरको रेखदेख हुनुपर्ने अस्पतालले जनाएको नारायणले सुनाए। 

सरकारले कडारोगीको उपचारका लागि बढीमा १ लाख रुपैयाँसम्मको उपचार निःशुल्क गर्ने भएपनि ठूलो रकम चाहिने भएपछि परिवारजन अताल्लिएका हुन् । कुनै सामाजिक संघ–संस्था वा अस्पतालहरूले उनको उपचारमा सहयोग गरिदिए आफूहरूप्रति ठूलो गुन हुने परिवारजनको भनाइ छ।

प्रकाशित: ९ वैशाख २०७५ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App