६ वैशाख २०८१ बिहीबार
अर्थ

विदेश जाने आधा व्यक्तिगत श्रम स्वीकृतिमा

काठमाडौं – वैदेशिक रोजगारीमा जानेमध्ये करिब आधा व्यक्तिगत श्रम स्वीकृतिमा जाने गरेको पाइएको छ। वैदेशिक रोजगार ऐनले व्यक्तिगत श्रम स्वीकृति लिएर  गएका व्यक्ति गन्तव्य मुलुकमा समस्यामा परे त्यसको दायित्व कसैले पनि लिन नसक्ने व्यवस्था गरेको छ।

वैदेशिक रोजगार विभागले पछिल्लोपटक प्रकाशित गरेको विवरण अनुसार श्रम स्वीकृति लिएर मेनपावर र व्यक्तिगत तवरले विदेश जानेको संख्या बराबर छ। गत फागुनमा ५२ हजार नौ सय ५८ जना रोजगारीका लागि बिदेसिँदा व्यक्तिगत तवरले श्रम स्वीकृति लिनेको संख्या २३ हजार नौ सय २० छ। एक हजारभन्दा बढी मेनपावरले २६ हजार चार सय एकजनालाई रोजगारीका लागि विदेश पठाएका छन्।

संस्थागत (मेनपावर) रूपमा वैदेशिक रोजगारीमा नगएका व्यक्ति समस्यामा परे उद्धार र अन्य सहयोग गर्ने दायित्व कसैको हुँदैन

मेनपावरमार्फत पठाउँदा अनेक समस्या सिर्जना हुन थालेपछि व्यक्तिगत श्रम स्वीकृतिमा पठाउने गिरोह सक्रिय भएको अनुमान गरिएको छ। मेनपावरमार्फत विदेश पठाउँदा विभिन्न सरकारी प्रक्रिया पूरा गर्नुपर्ने र कामदारसँग तोकिएकोभन्दा बढी रकम असुल गर्दा समस्यामा पर्न सक्ने सम्भावना भएकाले गिरोहले व्यक्तिगतमा जोड दिएको बताइन्छ।

सरकारले निःशुल्क भिसा र टिकटको निर्णय गरेपछि कानुनतः प्रतिव्यक्ति १० हजार रुपैयाँभन्दा बढी रकम लिन पाइँदैन। व्यक्तिगत रुपमा पठाउँदा कामदारसँग मनपरी असुल्न पाइने, प्रमाण नहुने र त्यस्ता व्यक्ति समस्यामा परे दायित्व कसैले लिनु नपर्ने भएकाले व्यक्तिगत तवरबाट श्रम स्वीकृति लिने क्रम बढेको विभागका कर्मचारी बताउँछन्।

कानुनले संस्थागत (मेनपावर) रुपमा गएका कामदार गन्तव्य मुलुकमा समस्यमा परेको खण्डमा उद्धार र अन्य सहयोग पु-याउन सहज हुने भन्दै मेनपावरमार्फत जानुपर्ने व्यवस्था गरेको छ। गन्तव्य मुलुकमा कामदार समस्यामा पर्ने क्रम नरोकिएको बेला श्रमिकलाई मेनपावरको साटो व्यक्तिगत तवरले विदेश पठाउने गिरोह सक्रिय भएपछि झनै जोखिम बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

श्रमिकलाई व्यक्तिगत तवरले वैदेशक रोजगारीमा पठाउने गिरोहमा को संलग्न छ भन्ने यकिन नभए पनि जानकारहरू यसमा स्वदेश र विदेशमा बस्दै आएको समूहको संलग्नता रहेको दाबी गर्छन्। कामदारलाई व्यक्तिगत तवरले वैदेशिक रोजगारीमा पठाउन मेनपावर सञ्चालक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कै संलग्नता हुन सक्ने कतिपय सरकारी अधिकारीहरू अनुमान गर्छन्।

विभागका महानिर्देशक भुवनप्रसाद आचार्य पछिल्लो समयमा व्यक्तितगत तवरले वैदेशिक रोजगारीमा जानेको संख्या बढे पनि के कारणले यसो भइरहेको छ भनेर पत्ता लगाउन गम्भीर अनुसन्धान आवश्यक रहेको बताउँछन्। ‘पक्कै पनि विदेश जानेहरु सचेत भएका कारण व्यक्तिगत तवरले वैदेशिक रोजगारीमा जानेको संख्या बढेको होइन होला,’ उनले भने, ‘केही न केही समस्या छ। यकिन गर्न सुक्ष्म अध्ययन हुनैपर्छ।’

आचार्यले व्यक्तिगत तवरबाट वैदेशिक रोजगारीमा जाँदा राज्यले कर गुमाउने र त्यस्ता श्रमिकको दायित्व कसैले बहन नगर्ने बताउँछन्। व्यक्तिगत तवरले रोजगारीमा जाने मुलुकमा कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) अग्रपंक्तिमा छन्। फागुनमा व्यक्तिगत तवरले श्रम स्वीकृति लिएर कतार सात हजार ९६, साउदी अरेबिया ६ हजार पाँच सय ५४ र युएई चार हजार आठ सय ९८ गएको विभागले जनाएको छ। साउदी र युएईमा मेनपावरभन्दा व्यक्तिगत तवरले बढी गएका छन् । फागुनमा मेनपावरले साउदीमा दुई हजार ६ सय २८ र युएईमा दुई हजार नौ सय २३ लाई पठाए। उक्त महिनामा मेनपावरमार्फत सबभन्दा बढी मलेसियामा नौ हजार तीन सय दुईजना गएका छन्।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलाल पछिल्लो समय संस्थागत माध्यमबाट बिदेसिनेको संख्या घट्नुमा मलेसियाको रोजगारी बंगलादेशतर्फ डाइभर्ट हुनुलाई ठान्छन्। त्यस्तै गेलालले युएईमा भिजिट भिसामा लैजाने गिरोह सक्रिय भएका कारण व्यक्तिगततर्फको संख्या बढेको बताए। सरकारले भिजिट भिसालाई नियन्त्रण गर्न नसकेकाले व्यक्तिगत रुपमा विदेश जाने क्रम बढेको उनको भनाइ छ। दलालले छिटो विदश पु-याउने भन्दै झुक्याउने गरेको पाइन्छ।

मेनपावरमार्फत विदेश जाँदाको फाइदा
–विदेशमा समस्यामा पर्दा उद्धारको व्यवस्था
–सम्झौताभन्दा फरक काम र पारिश्रमिक भए त्यसको जिम्मेवारी मेनपावरको हुने । मेनपावरबाट क्षतिपूर्ति असुली हुन सक्छ
–मेनपावरले गर्ने आम्दानीबाट राज्यले कर पाउने
–मेनपावरलाई १० हजार रुपैयाँभन्दा बढी बुझाउन नहुने
व्यक्तिगत श्रम स्वीकृतिबाट जाँदाका बेफाइदा
–दलालले मनलाग्दी रकम असुल गर्न सक्ने
–रोजगारीको क्रममा समस्यामा पर्दा मेनपावर र सरकारी निकायको दायित्व नहुने
–भिजिट भिसा प्रयोग गर्दा तीन महिनापछि नेपाल सरकारको रेकर्डमा अवैध हुने
–दलालले छिटो विदेश पु-याउने प्रलोभन दिएर ठूलो रकम असुल गरे पनि राज्यले राजस्व नपाउने

प्रकाशित: ९ वैशाख २०७५ ०५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App