७ वैशाख २०८१ शुक्रबार
खेल

प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना :  मन्त्री विश्वकर्मा

पोखरा – युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले १८औँ एशियाली खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भावना रहेको बताएका छन्। 

इण्डोनेशियाको जकार्तामा भदौ २ देखि १६ गतेसम्म आयोजना हुने एशियाली खेलमा छानिएका प्याराग्लाइडिङ खेलाडीलाई पोखरामा आइतबार बधाई तथा शुभकामना दिँदै मन्त्री विश्वकर्माले खेलाडीेले उच्च मनोबलका साथ खेल खेल्नुपर्नेमा जोड दिए। 

एशियाली खेलमा पहिलो पटक समावेश भएको प्याराग्लाइडिङ खेलले राष्ट्रको प्रतिष्ठामाथि उठाउनेमा आफू ढुक्क रहेको बताउँदै उनले यो ऐतिहासिक अवसरलाई राष्ट्रको गरिमा बढाउने गरी खेलाडीलाई प्रदर्शन गर्न आग्रह गरे। 

अठारौँ एशियाली खेलमा जाने अफिसियललाई कडाइका साथ नियन्त्रण गर्ने बताउँदै मन्त्री विश्वकर्माले अन्तर्राष्ट्रिय खेलमा पदक प्राप्त गरी देशको प्रतिष्ठालाई उच्च राख्ने खेलाडीलाई सम्मान गरिने जानकारी दिए। 

सो प्रतियोगितामा प्याराग्लाइडिङ खेलमा नेपालका तर्फबाट दुई उपविद्यामा १० जना खेलाडीले तीन मेडलका लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो पटक १८औँ एशियाली खेलकूदमा समावेश गरिएको प्याराग्लाइडिङ खेलमा करीब ३० भन्दा बढी राष्ट्रको सहभागिता रहने बताइएको छ। 

ग्रामीण क्षेत्रमा खेलकूद गतिविधि बढाइने 

युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेलकूदका गतिविधि ग्रामीण क्षेत्रमा विस्तार गरिने बताएका छन्। 

कास्कीको पर्यटकीय गाउँ धम्पुसमा लाली गुराँस युवा क्लबद्वारा आयोजित गन्तव्य धम्पुस महोत्सवको शनिबार समापन समारोहमा बोल्दै उनले ग्रामीण क्षेत्रमा रहेका खेलमैदानको स्तरोन्नति मन्त्रालयको प्राथमिकतामा रहेको जानकारी दिए। 

मन्त्री विश्वकर्माले महोत्सवमा आयोजित विभिन्न खेलकूद प्रयोगितामा विजयी टोली तथा खेलाडीलाई नगद पुरस्कार तथा मेडल र प्रमाणपत्र वितरण गरेका थिए। महोत्सवमा आयोजित पुरुष भलिबल प्रतियोगतामा संगम युवा क्लब गल्कोट बाग्लुङले हात पार्दै नगद एक लाख, मेडल भने माछापुच्छ्रे गाउँपालिका–२ भुर्जङखोलाले दोस्रो स्थान हासिल गर्दै नगद ७० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो। 

महिला भलिबल प्रतियोगितातर्फ टप्स उच्च मावि प्रथम, माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङ द्वितीय भई नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए। 

नेकपा एमालेका केन्द्रीय सदस्य तथा धम्पुसका पर्यटन व्यवसायी दलबहादुर गुरुङ, लालीगुराँस युवा क्लबका संस्थापक अध्यक्ष समबहादुर गुरुङ, क्लबका अध्यक्ष आसिम गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: ९ वैशाख २०७५ ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App