७ वैशाख २०८१ शुक्रबार
अर्थ

बजेटमा कृषिलाई प्राथमिकता

बजेटबारे जानकारी दिँदै आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहरा। तस्बिर : नागरिक

धनगढी – प्रदेश ७ सरकारले चालु आर्थिक वर्ष ०७४/७५ का लागि एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट ल्याउने भएको छ। आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर आइतबार प्रदेश सभा बैठकमा बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिए।

चालु आव तीन महिनाका लागि ल्याइने संक्षिप्त बजेट भएपनि यो बजेट समाजवाद उन्मुख र जनताले प्रत्यक्ष महसुस गर्ने रहेको उनको भनाइ छ। ‘आर्थिक समृद्धिका आधार तयार पोर्न गरी यो बजेट र कार्यक्रम ल्याइँदै छ,’ उनले भने। यो बजेटमा कृषिलाई प्राथमिकतामा राखिएको उनले बताए । ‘यो बजेटमा कृषिलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने।

हिमाल, पहाड र तराई भूगोल रहेको यो प्रदेशमा विभिन्न उत्पादनका सम्भावना रहेका छन्। सिँचाइको अभाव, उन्नत बीउको अभाव र परम्परागत खेती प्रणालीका कारण कृषि उत्पादन राम्रो हुन सकेको छैन। माटो परीक्षण गरेर कुन ठाउँमा के उत्पादन हुन्छ सोही बमोजिम वैज्ञानिक कृषि  प्रणाली लागू गर्ने प्रदेश सरकारको नीति रहेको उनले बताए।

जनतलाई प्रत्यक्ष महसुस गराउने गरी प्रदेश सरकारको यो पहिलो बजेट आइरहेको उनको भनाइ छ। बजेटमा कृषि बाहेक स्वास्थ्य, शिक्षा, वन, जडीबुटी, पर्यटन लक्षित कार्यक्रम राखिएका छन्। दूरदराजका सर्वसाधारणले स्वास्थ्योपचारमा सहज पहुँच हुने गरी बजेट ल्याइएको उनले बताए। साथै सबैलाई गुणस्तरीय शिक्षा उपलब्ध थराउने गरी बजेट ल्याइएको उनको भनाइ छ। ‘बजेटमा पर्यटन विकास र जडीबुटीलाई पनि विशेष प्राथमिकतामा राखिएको छ,’ उनले भने, बजेटमा केही नयाँ कुराहरु छन्, १२ बुँदा आश्चर्य दिने कुरा खालका छन्।’

कुल बजेटमा करिब ४० प्रतिशत कर्मचारी खर्च र ६० प्रतिशत विकास निर्माणमा लाग्ने उनले जानकारी दिए। प्रदेश सरकारका कर्मचारी, स्थानीय तह, क्षेत्रीय कार्यालयलाई आवश्यकता बमोजिम परिचालन गरेर बजेट तथा कार्यक्रम कार्यान्वयन गरिने उनले बताए। सांसद, विज्ञ, सरोकारवालासँग छलफल गरेर जनमूखी कार्यक्रम बनाइएको उनको भनाइ छ। यो बजेटपछि आगामी आवमा असार १ गते विस्तृत बजेट ल्याइने उनले बताए। चालु आवको बाँकी अवधिका लागि बजेट प्रस्तुत गर्न वैशाख ६ गते नै प्रदेशसभा सचिवालयमा सूचना दर्ता भइसकेको उनले जानकारी दिए।

संघीय संरचनापछि प्रदेश सरकारले पहिलोपटक बजेट ल्याउन लागेको हो। गरिबी, पछौटेपन र वेरोजगारी बढिरहेका बेला यस प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउन समाजवाद उन्मुख बजेट र कार्यक्रम ल्याइएको उनले बताए। चालु आवमा आर्थिक समृद्धिका लागि कृषि, पर्यटन, जडीबुटी, जलविद्युत्लगायत क्षेत्रमा के कस्ता काम गर्न सकिन्छ भनेर अध्ययन र अनुसन्धान गर्ने विषयलाई पनि कार्यक्रममा प्राथमिकता साथ राखिएको छ। अहिलेको अध्ययनका आधारमा अगामी आवको बजेटमा विस्तृत कार्यक्रमका साथ योजना बनाइ लागू गर्ने प्रदेश सरकारको तयारी रहेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए। कृषि, पर्यटन, जडीबुटी र जलस्रोतबाट यस प्रदेशलाई समृद्ध बनाउन सकिनेमा उनले जोड दिए। ‘कृषिलाई वैज्ञानिक रुपमा गर्न सञ्चालन गरेर यो प्रदेशको मुख्य आयस्रोत बनाइने छ,’ उनले भने, ‘वैदेशिक रोजगारमा नगई बुवा बाजेले कृषि गरिरहेको जमिनमा नै धेरै राम्रो आम्दानी गर्न सकिने अवस्था तयार गरिने छ।’ यो तीन महिनामा कृषि, पर्यटन, जलस्रोत र जडीबुटीमा यस प्रदेशलाई समृद्ध बनाउन के गर्न सकिन्छ भनेर अध्ययन र अनुसन्धानलाई पनि प्रदेश सरकारले प्राथमिकतामा राखेको उनले बताए।

प्रकाशित: ९ वैशाख २०७५ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App