६ वैशाख २०८१ बिहीबार
समाज

गुम्यो थापा परिवारको भरोसा

अफगानिस्ताको राजधानी काबुलमा भएको विस्फोटमा ज्यान गुमाएका लम्जुङका अमृतबहादुर थापा । तस्बिर:अमृतबहादुर थापाको फेसबुकबाट

पोखरा–‘छोरालाई डाक्टर बनाउने धोको थियो, बीचमै ठक्कर लाग्यो,’ अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती विष्फोटमा ज्यान गुमाएका लम्जुङ अर्चलबोट–९, साँखरका अमृतबहादुर थापाका ज्वाइँ रामकृष्ण थापाले भने, ‘भर्खर एमबिबिएस पढ्न थालेका छोरालाई दक्ष चिकित्सक बनाउने उहाँ (ससुरा) को चाहना थियो, तर त्यो चाहना पूरा नहुँदै जानुभयो ।’
रामकृष्णका अनुसार अमृत छोरा मिरोजलाई डाक्टर बनाउने चाहना पूरा गर्न अफगानिस्तान गएका थिए । छोरा मिरोज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पहिलो सेमेस्टर पढ्दैछन् । परीक्षा तयारीमा रहेका मिरोज कमाउन अफगानिस्तान पुगेका बुबाको विस्फोटमा मृत्यु भएपछि मंगलबार बिहान घर आएका छन् ।

महिना दिन बिदामा घर आएका अमृत जेठ १७ गते अफगानिस्तान फर्केका थिए । घर आएका बेला उनले कार्यरत संस्थामा कुनै खतरा नरहे पनि बस्ने ठाउँमा आउजाउ गर्दा केही जोखिम रहेको सुनाएका थिए । कार्यालय जाने क्रममा सोमबार बिहान आतंकवादीले गराएको आत्मघाती विस्फोटमा अमृतसहित १२ नेपालीले ज्यान गुमाएका थिए । ‘ड्युटिमा कुनै असुरक्षा हुँदैन । बरु कार्यालयबाट बस्ने ठाउँमा आउजाउ गर्दा रिस्क हुन्छ,’ ससुरा अमृतलाई उद्धृत गर्दै रामकृष्णले भने, ‘उहाँले भने झै आवासगृहबाट निस्केर ड्युटीमा जाने क्रममा विस्फोटमा पर्नुभयो ।’
नेपाल प्रहरीको सईबाट निवृत्त अमृत केही कमाएर छोराछोरीलाई राम्रो विषय पढाउने भन्दै चार वर्षअघि अफगानिस्तान हानिएका थिए । अमृतको निधनपछि घरको सबै जिम्मेवारी उनकी श्रीमती दुर्गाको काँधमा आएको छ । दुई छोरीमध्ये जेठीको विवाह भइसकेको छ । कान्छी काठमाडैंमा डिग्री पढ्दै छन्, छोरा एमबीबीएस । ‘बिहान–बेलुकी दालभात खान नपुगेर उहाँ अफगानिस्तान जानु भएको होइन । छोराछोरीको पढाइका लागि जानुभएको थियो, ज्यानै गुम्यो,’ रामकृष्णले भने, ‘परिवारकै आडभरोसा नै गुमेको छ । छोराछोरीको पढाइ बुबाको आम्दानीमा निर्भर थियो । त्यही भरोसा नै टुटेको छ ।’

रामकृष्णका अनुसार ५२ वर्षीय अमृत अझै २ वर्ष अफगानिस्तानमा काम गर्न चाहन्थे । उनले मासिक एक लाख रुपैयाँ जति कमाउँथे । त्यही कमाइले छोरालाई चिकित्सक बनाउने धोको राखेका थिए । ‘अनलाइनमा दिनहुँजसो कुरा भइरहन्थ्यो । हामीले सुरक्षाबारे सोध्दा उहाँले खासै डराउनु नपर्ने भन्दै विश्वस्त बनाउनुहुन्थ्यो तर नहुनु भयो,’ उनले भने, ‘परिवारमा ठूलो धक्का लागेको छ ।’

स्थानीय लक्ष्मीनारायण माविका प्रधानाध्यापक तथा अमृतका छिमेकी भरत पौडेलका अनुसार अफगानिस्तान घटनाबारे परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो परिवारलाई फोनमार्फत जानकारी दिएको थियो । थापा घाइते रहेको र अस्पतालमा उपचार भइरहेको भन्दै मन्त्रालयले परिवारलाई जनाउ दिएको थियो । तर, पछि सञ्चार माध्यमबाट मृत्युको खबर पुष्टि भएको पौडेलले बताए । विस्फोटमा नेपाली परेको खबर सुनेपछि परिवारले अमृतलाई फोन गरेका थिए । तर, फोन नलागेपछि परिवारमा केही आशंका उब्जिएको थियो ।
सोही विस्फोटमा ज्यान गुमाएका स्याङजा, कोल्माका ४४ वर्षका सुकबहादुर गुरुङको परिवार शोकमा छ । बहिनी मिनाका अनुुसार सुकबहादुर अफगानिस्तान गएपछि उनको परिवार काठमाडौंमा बस्दै आएको छ । श्रीमती, एक छोरा र एक छोरी काठमाडौंमा डेरामा बस्छन् । ‘मसँग पनि लामो समय भयो दाइको कुरा भएको थिएन । हिजो (सोमबार) एकैपटक दाइको निधनको खबर सुन्नुप¥यो,’ उनले भनिन्, ‘सुरुमा त होइन जस्तो लाग्यो, तर रहेछ ।’

ज्वाइँ राजु गुरुङका अनुुसार सुकबहादुर फुटबलका खेलाडी थिए । उनी त्रिभुवन आर्मी क्लवबाट फुटबल खेल्थे । नेपालको कमाइले घरपरिवारको खर्च चलाउन समस्या भएपछि उनी आर्मीको जागिर छाडेर अफगानिस्तान गएको राजुले बताए । ‘आर्मीको जागिर छाडेर दाइ अफगानिस्तान जानु भएको हो । तर, आज मृत्युको खबर सुन्नुप¥यो,’ उनले भने । सुकबहादुरले अफगानिस्तानबाहेक इराकमा पनि काम गरिसकेका थिए । ‘आर्मीको जागिर खाएको भएर होला, उहाँमा डरत्रास कम थियो । आत्मबल बलियो बनाएर काम गर्नुपर्छ भन्नुहुन्थ्यो,’ राजुले भने, ‘तर, जतिसुकै आत्मबल भए पनि दैवका अघिल्तिर केही लाग्दो रहेनछ ।’

 

प्रकाशित: ८ असार २०७३ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App