coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आइपीएलमा पञ्जाबसँग हार्यो कोलकाता, क्रिश गेल र राहुलको अर्धशतक

कोलकाता– भारतमा जारी ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा किंग्स ११ पञ्जाब विजयी भएको छ। क्रिश गेल र केएल राहुलको अर्धशतकमा पञ्जाबले कोलकातालाई ९ विकेटले पराजित गरेको हो। 

घरेलु मैदान इडेन गार्डेनमा टस हारेर व्याटिङ्गको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रनको योगफल तयार पार्यो। १९२ रनसहित पञ्जाबले जवाफी व्याटिङ्ग गर्ने क्रममा ८.२ ओभरमा ९६ रन बनाएको अवस्थामा वर्षा भएपछि बीचमै खेल रोकियो। वर्षाका कारण ढिलार्इ भएकाे खेललार्इ डीएल मेथड (विधि)का आधारमा १३ ओभरमा छोट्याइयो र कोलकाताविरुद्ध पञ्जाबले १२५ रनको लक्ष्य पायो। 

वर्षा रोकिएपछि १२५ रनको लक्ष्यसहित पुनः मैदानमा उत्रिएको पञ्जाबले ११.१ ओभरमै अर्थात ११ बल बाँकी छँदै १ विकेट गुमाएर कोलकातामाथि ९ विकेटको जित हात पार्यो। 

पञ्जाबका लागि क्रिश गेलले नटआउट ६२ रन बनाए। ३८ बल खेलेका उनले ५ चौका र ६ छक्का प्रहार गरे। केएल राहुलले २७ बलमा ९ चौका र २ छक्कासहित ६० रन जोडे। गेल र राहुलले सुरुदेखि नै उत्कृष्ट साझेदारी गरेका थिए। 

अन्तिम समयमा राहुल आउट भएपछि २ बल खेल्ने मौका पाएका मायन्क अग्रवाल २ रनमा अविजित रहे। 

बलिङतर्फ सुनील नरिनले एक विकेट लिए। कोलकातामाथि जितसँगै पञ्जाब आइपीएल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ५ खेल खेलेको पञ्जाबले ४ जित र १ हार व्यहोरेको छ। 

यसअघि घरेलु मैदानमा टस हारेर पहिले व्याटिङ्ग गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रनको योगफल तयार पार्यो। अन्तिम समयमा लगातार विकेट गुमाएको कोलकाताका लागि क्रिश लिनले सर्वाधिक ७४ रन बनाए। ४१ बल खेलेका उनले  ६ चौका र ४ छक्का प्रहार गरे। 

कप्तान दिनेश कार्तिकले २८ बलमा ४३ रन जोडे। उनले ६ चौका प्रहार गरेपनि छक्का प्रहार गर्न सकेनन्। रोबिन उथप्पाले २३ बलमा ५ चौका १ छक्कासहित ३४ रन बनाए। आन्द्रे रुसेल १० रनमा आउट हुँदा सुभम गिल १४ रनमा अविजित रहे। 

बलिङ्गतर्फ बरिण्डर श्रान, इन्ड्रयु टायले २–२ विकेट लिए भने मुजीब अर रहमान, रवीचन्द्रन अश्विनले १–१ विकेट लिए।

प्रकाशित: ८ वैशाख २०७५ १४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App