४ वैशाख २०८१ मंगलबार
खेल

माइभ्याली गोल्डकपमा विदेशी टिमको पहिलो सफलता, सिक्किम विजयी

इलाम– माइभ्याली गोल्डकप चौथो संस्करणसम्म आइपुग्दा विदेशी टिमले पहिलो सफलता हात पारेको छ। भारत सिक्किमको युनाइटेड सिक्किम क्लब काठमाडौंको संकटा क्लबलाई १–० गोलले पाखा लगाउँदै माइभ्यालीमा सफल हुने पहिलो विदेशी टिम बन्यो।  

शनिबार ठूलो टुँडिखेलमा भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको प्रि–क्वार्टरमा सिक्किमका सञ्जय क्षेत्रीले निर्णायक गोल गरे। उनको गोलले संकटालाई हराएन मात्र, माइभ्यालीका चौथो संस्करणसम्ममा खेलमा माथिल्लो चरण उक्लिने पहिलो विदेशी टिमको इतिहास रच्न पर्याप्त भयो। खेलको ३१औं मिनेटमा आएको पासलाई सदुपयोग गर्दै सञ्जयले विपक्षीको गोल पोस्टमा जाली चुमाए। 

सिक्किमका खेलाडीलाई संकटाका सौजन राईले फाउल गरेपछि पाएको फ्रिकिक सिक्किमका इन्द्रजित क्षेत्रीले प्रहार गर्दा संकटाका रक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरे।

संकटाका दीपेश आलेमगरले विपक्षीको डि–बक्समा पाएको सुन्दर अवसर सदुपयोग गर्न सकेनन्। विपक्षीले आफ्नो गोल पोस्टमा गरेको प्रहार संकटाकै सौजन राईले हेडमार्फत् सुन्दर बचाउ गरे। संकटाबाट खेलेका क्यामरुनका खेलाडी म्याक्सवेल इलोनले दिएको सुन्दर पासमा संकटाकै खेलाडीले गरेको शक्तिशाली प्रहार सिक्किमका बल रक्षक उर्गेन शेर्पाले कलात्मक बचाउ गर्दा दर्शकको हुटिङले इलामको ठूलो टुँडिखेल उचाल्यो। इलामे दर्शकको असिम माया पाएको सिक्किम क्वार्टरफाइनल प्रवेश ग-यो।

संकटाका प्रशिक्षक सुगम तन्डुकारले शनिबारको खेल निकै प्रतिस्पर्धात्मक भएपनि दुर्भाग्यले पराजित हुनुपरेको प्रतिक्रिया दिए। ‘निकै राम्रा अवसर चुकाउँदा विजय हात लाग्न सकेन,’ उनले भने, ‘निकै प्रयास गर्दा पनि विपक्षीको डि–बक्समा बल निकाल्न निकै हम्मे प-यो।’  युनाइटेड सिक्किममा बल रक्षक उर्गेनले शनिबारको खेलको म्यान अफ् दि म्याच भएर १० हजार नगद हात पारे ।

अन्डर–१९ का प्रकाश बुढाथोकी, क्यामरुनका इर्नेस्ट टेम्पो, म्याक्सवेल इलोन र मालीका जिब्रेल टुरसहित रवि सिलवालको कप्तानीमा संकटा मैदानमा उत्रेको थियो। गत सिजनमा नवलपुरको राइनो गोल्डकपमा सशस्त्र प्रहरीको एपिएफलाई हराउँदै उपाधि उचालेको संकटा विराट गोल्डकपको सेमिफाइनलमा थ्रिस्टारसँग पराजित थियो। माइभ्यालीको अघिल्लो संस्करणमा संकटालाई एपिएफले पहिलो चरणबाट पाखा लगाएको थियो।

सिक्किमका प्रशिक्षक मायलडुक लेप्चाले पूर्वार्धमा आफूहरूले विपक्षीलाई दबाबमा राखेपनि उत्तरार्धमा विपक्षीको दबाब रक्षा गर्न सफल भएको बताए। ‘नयाँ मैदानमा नयाँ अनुभव गर्दा हामीलाई समस्या त थियो नै तर सफल हुँदा आत्मबल बढेको छ,’ उनले भने, ‘हाम्रो डिफेन्डर राम्रो भएकाले बल रक्षा गर्न सजिलो भयो।’ गत सिजनमा नेपाली भूमिको भापा गोल्डकपमा मात्रै सहभागिता जनाएको सिक्किमको संकटासँगको भेट यो पहिलो हो। 

झापा गोल्डकपमा सिक्किम युनाइटेड पहिलो चरणबाटै झापा–११ सँग बाहिरिएको थियो। सिक्किमले भारतका प्रतिष्ठित फेडेरेसन, सिक्किम लिग, सुपरकप र इन्डिपेन्डेन्ट कपको उपाधि उचालिसकेको छ। भारतीय प्रतिष्ठित आई लिगका पासाङ लामाको कप्तानीमा शनिबार इलामे मैदानमा उत्रेको सिक्किमको टिममा आई लिगका इङ्फोहाङ सुब्बा पनि सहभागी थिए। 

माइभ्याली गोल्डकपका अघिल्ला संस्करणमा पनि भारत कोलकातको दुर्गापुर स्टिल, सिलिगुडीको केएफसी, भुटानको सुनाल्चु, बंगलादेशको कामारुजमान र चौथो संस्करणमा बंगलादेशको कावरान प्रगति संघले प्रतिस्पर्धा गरेका थिए। कावरान शुक्रबारको खेलमा एपिएफसँग पराजित भएको थियो भने अघिल्ला संस्करणका सबै विदेशी टिम पहिलो चरणबाटै घर फर्किन बाध्य थिए। आइतबारको अन्तिम प्रि–क्वार्टरमा भारतकै दुर्गापुर स्टिल र नेपाल प्रहरी आमने–सामने हुँदैछन्। 

प्रकाशित: ८ वैशाख २०७५ १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App