६ वैशाख २०८१ बिहीबार
राजनीति

‘एमाले–माओवादीबीच एकता हुन नदिन दक्षिणकालीमा कालो बोका भाकल’

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य केशब बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाएका छन्। 

शनिबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेता बडालले एकता प्रक्रियामा केही विलम्ब हुँदा केही मानिसहरुको मन र भावना कुँडिएको बताउँदै भने, ‘केही त एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोका भाकल गर्ने काम समेत गरेका छन्, तर अब एकता हुँदैन कि भनेर आशंका नगर्न म यही मञ्चबाट आग्रह गर्दछु।’

एकता भनेको कुरा केटाकेटीको खेलजस्तो नभएको स्पष्ट पार्दै उनले भने, ‘पार्टीहरुबीच एकता हुनु र मोर्चा हुनु फरक कुरा हो।’ स्थानीय तहदेखि केन्द्रसम्म एमाले र माओवादी केन्द्र हार्दिकताका साथ अघि बढेको उल्लेख गर्दै नेता बडालले दुई पार्टीबीचको एकता छिट्टै हुने विश्वास दिलाए। 

बैशाख ९ गतेको लागि एकता घोषणा गर्ने भनिएपनि त्यो सम्भावना नहरेको उनको भनाई थियो। यद्यपी उनले भोलि दुवै पार्टीले संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने जानकारी दिए। 

एमाले र माओवादी केन्द्रबीच एकताको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त ५०/५० को कुरा गर्नुभएको छ नि ? तपाईहरु के गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा नेता बडालले भने, ‘पार्टी एकता र मोर्चा एउटै कुरा होइन, एकता भनेको त पानी मिसाएजस्तो हुनुपर्छ।’ 

उनले महाधिवेशन अघि नै यो व्यक्ति अध्यक्ष भनेर ग्यारेण्टी गर्न नहुने धारण राखे। ‘महाधिवेशनपछि लोकतान्त्रिक प्रक्रिया अनुसार जो पनि अध्यक्ष बन्न सक्छन्, प्रचण्ड योग्य र सक्षम हुनुहुन्छ, अहिले नै यो व्यक्तिलाई अध्यक्ष भनेर भन्नुहुँदैन।’ ओली र प्रचण्ड दुवै नेताले ‘-यांक एण्ड फाइल’ सबै कार्यकर्ता मेरा हुन भनेर अघि बढ्नुपर्नेमा उनको जोड थियो। उनल एमाले र माओवादी केन्द्रबीच एकता ढिलाई हुँदा चिन्ता र खुशी मनाउने दुवै थरि मानिसहरु रहेको जनाए। 

‘सरकार केही गर्न नसक्ने मनोविज्ञानका साथ अघि बढेको छ’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता रमेश लेखकले वर्तमान सरकारको बारेमा टिकाटिप्पणी गर्नु हतारो हुने भएपनि सरकारले हतार गरेर अघि बढेको आरोप लगाए। लेखकले भने, ‘वर्तमान सरकार केही गर्न नसक्ने मनोविज्ञानका साथ पूर्व तयारी गरिरहेको छ। सरकार अहिले जुन हतार गरेर अघि बढेको छ, यो राम्रो भएन्, सरकारले हतार गरेर राष्ट्रपतिलाई ठीक÷बेठीक प्रक्रियामा सलंग्न गराएको थियो, अब अर्थमन्त्रीले जारी गरेको स्वेतपत्रकै कुरा गर्नुहुन्छ भने उहाँले राज्यको ढुकुटी रित्तियो भन्नुभयो, तर अहिलेपनि पुँजीगत खर्च डेढ खर्ब छ, यो तीन महिनाभित्र प्रति दिन १३ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ भनेर तथ्यसहित समाचार प्रकाशन भएका छन्। पत्रपत्रत्रिकाको समाचार सत्य हो कि अर्थमन्त्रीको स्वतेपत्र ?, हो, यही हो सरकारको हतारो।’

प्रकाशित: ८ वैशाख २०७५ ११:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App