coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोशी करिडोरको निर्माण कार्य अघि बढ्यो

पाँचथर – पूर्वी पहाडलाई तराई र काठमाडौँसँग जोड्ने दु्रत सडक मार्गको रुपमा लिइएको ‘कोशी करिडोर’को काम अघि बढेको छ। पुष्पलाल (मध्यपहाडी) लोकमार्ग छोट्याउने गरी अघि सारिएको यो योजनाको सातवटा प्याकेजकै ठेक्का स्वीकृत भएको छ।

सुनसरीको चतरादेखि पाँचथरको गणेश चोकसम्म दुई लेनको सडक बनाउने ‘कोशी करिडोर सडक विस्तार योजना–२’को पाँच प्याकेजको काम शुरु हुन लागेको छ भने दुई प्याकेज ठेक्का सम्झौता हुने चरणमा छन्।

पाँच प्याकेजको ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेको आयोजनाका इञ्जिनियर नारायण पौडेलले बताए। उनका अनुसार दुई प्याकेजको ठेक्का स्वीकृत भइसकेकाले सम्झौता मात्र हुनबाँकी छ। ६ अर्ब १३ करोडको ठेक्का स्वीकृत भएको उनको भनाइ छ।

४ अर्ब ९२ करोडमा ठेक्का लागेको पाँच प्याकेजमा काम शुरु हुन थालेको इञ्जिनियर पौडेलले जानकारी दिए। हालै दुई प्याकेजका लागि १ अर्ब ४४ करोडको ठेक्का स्वीकृत भएको छ। बोलपत्र स्वीकृत गर्ने आशयको सूचना निस्किएकाले केही दिनमै सम्झौता हुनेछ। एकैपटक सातवटा प्याकेजको बोलपत्र आह्वान गरिएको थियो। दुई प्याकेजको ठेकेदार छनोटमा ढिलाइ भएको थियो। शुरुमा ७ अर्बको इस्टिमेट थियो।

सम्झौता भएको ३० महिनाभित्र ठेकेदार कम्पनीले काम सक्नुपर्नेछ। एक सय ४५ किलोमिटर सडकमा ट्र्याक खोल्न र ग्राभेल गर्न ठेक्का लागेको हो। यसअघिको तमोर करिडोरको सडक र नयाँ ट्र्याक खोल्ने काम हुनेछ। ६० प्रतिशत नयाँ र बाँकी ४० प्रतिशत पुरानो ट्यांकीलाई प्रयोग गरिने इञ्जिनियर पौडेलले बताए। पुरानो ट्यांकीको पनि चौडाइ बढाउनुपर्नेछ।

प्रस्तावित तमोर जलाशययुक्त आयोजना बन्ने भयो भने पनि नडुब्ने गरी उचाइमा सडक बनाइने छ। पाँचथरको गणेश चोकमा मध्यपहाडी लोकमार्गलाई यो सडकले भेट्ने छ। यसलाई पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाका विभिन्न गाउँबाट तराई तथा राजधानी जान छिटो बाटोको रुपमा लिइन्छ। यो सडकलाई काठमाडौंँसम्म जोड्ने वैकल्पिक राजमार्गका रुपमा विकास गर्न खोजिएको छ।

मध्यपहाडी लोकमार्गको कार्यालयमार्फत आयोजनाको काम अघि बढाइएको इञ्जिनियर पौड्लले बताए। कोशी तथा तमोरको किनारै किनार सडक विस्तार गर्ने गरी काम अघि बढाइएको हो। चतरादेखि मूलघाट आएपछि तमोर करिडोरको बाटो हुँदै पाँचथरको सुभाङ खोला हुँदै मेची राजमार्ग छोएर गणेशचोक पुग्नेछ। यसअघि बनेको मध्यपहाडी लोकमार्ग घुमाउरो भएकाले छिटो बाटो रोजिएको छ।

ठूलो बजेट भएकाले राम्रो काम हुने जनस्तरमा अपेक्षा रहेको पाइन्छ। यो सडक बनेपछि पूर्वी पहडाका बासिन्दालाई तराई तथा काठमाडौंँसम्म पुग्न सहज हुने उत्तर–दक्षिण लोकमार्गका डिभिजनल इञ्जिनियर कँुवेर नेपाली बताउछन्। पूर्वका जनतालाई तराईका धरान, विराटनगर, इटहरी तथा काठमाडौँं जान छोटो बाटोको रुपमा यसलाई लिइएको उहाँको भनाइ छ।

प्रदेशको राजधानी तथा ठूला अस्पताल जान पनि यो सडक सहज हुने छ। धनकुटाको मूलघाटदेखि सुभाङ खोलासम्म तमोर करिडोरको बाटो कोशी करिडोरमा समायोजन गरिएको छ।

तमोर नदीको किनारै–किनार यो सडक मूलघाटदेखि चीनको सीमा क्षेत्रमा ओलाङ्चुङगोलातर्फ अघि बढाइएको थियो। कोशी करिडोरमार्फत निक्कै ठूलो बजेटका साथ अघि बढेकाले राम्रो सडक बन्ने नेपाली बताउँछन्।

चतरादेखि मूलघाटसम्म ३५ र बाँकी मूलघाटदेखि गणेशचोकसम्म रहेको छ। यो ठेक्का अुनसारको काम सकिँदा सडक कालोपत्रे हुने चरणमा पुग्नेछ। चौडाइ विस्तार, घुम्ती, नाला निर्माण तथा ग्राभेलको काम हुनेछ। यो सडकलाई आधार बनाएर विभिन्न शाखा सडकमार्फत विभिन्न बस्तीका बासिन्दाले राहत पाउने देखिन्छ।

मोटोको बजेट भएकाले यो सडक चाँडो बन्नेमा स्थानीयवासी उत्साहित छन्। यो सडकबाट काठमाडौंँ जान चार सय ४० किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ। ‘पूर्वी पहाडलाई तराई तथा राजधानी जोड्ने यो छोटो बाटो हो।  (जितबहादुर भण्डारी/रासस)

प्रकाशित: ८ वैशाख २०७५ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App