८ वैशाख २०८१ शनिबार
कला

राजेश हमाल बने राज थारुका अभिभावक

कपिलवस्तु- नेपाली चलचित्रका  नायक राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गरेका छन्। हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा पाँच वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गर्दै अभिभावक बनेका हुन्।

“मेरो पहिल्यैदेखि चाहना थियो । यस पटक नेपाल सरकारको नीतिले आफूलाई ठूलो अवसर जुटायो”, हमालले भने, “राजप्रति मेरो धेरै चासो हुनेछ, म उसलाई पटक पटक विशेष महत्वका साथ हेरविचार गर्नेछु, म उसलाई असल अभिभावकत्व प्रदान गर्नेछु।”

विद्यालयको भर्ना कापीमा अभिभावकका रुपमा हस्ताक्षर गर्दै उनले राजलाई झोला, पाठ्यपुस्तक र पाठ्य सामग्री दिए। बालकको लालनपोषणका लागि केही रकमसमेत उनले सहयोग गरेको राजकी आमा लक्ष्मीले बताइन्।

कार्यक्रममा बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठ र उपप्रमुख मीरा चौधरी, समन्वय एकाइ प्रमुख सुरेन्द्र पराजुली, गौतमबुद्ध माविका प्रअ रामप्रसाद अर्याल, स्रोत व्यक्ति खेमराज पौडेललगायतले हमालको कामले सबैमा उत्सुकता आएको बताए।

राज बुद्धभूमि–२ पुरेनाको सामान्य परिवारमा जन्मिएका बालक हुन् । बुबा काशीराम र आमा लक्ष्मीका उनी कान्छो सन्तान हुन् । उनका बुबाको गत वर्ष कात्तिक १९ गते भारतमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । मृत्यु भएको एक वर्ष पुगे पनि राजको परिवारले हालसम्म राहत रकम पाएको छैन । रासस

 

प्रकाशित: ८ वैशाख २०७५ ०८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App